बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गुणस्तर सुधार्न विद्यालय मर्ज र मिलान

गुणस्तर सुधार्न विद्यालय मर्ज र मिलान


  • ढोरपाटन संवाददाता
  • माघ २५ २०८०, बिहिबार

बागलुङ/ गलकोट नगरपालिकाले विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्न विद्यालय मर्ज गरेको छ । चालु वर्षसम्म गलकोटका दर्जन विद्यालय मर्ज र तहमिलान भएका छन् ।
तीमध्ये वडा नं. ७ को झिर्कामा रहेको आधारभूत विद्यालय अहिले कक्षा ३ सम्म चलेको छ । यहाँका विद्यार्थीलाई कक्षा ४ देखि जनहित मावि मल्ममा आउनुपर्छ । नगरपालिकाले गाडीको व्यवस्थापन गरेर आउने जाने गराएको छ ।

वडा नं. १० को ढुंगेल प्रावि बन्द भयो । पाण्डवखानी माविमा पढ्न आउनु पर्छ । विद्यार्थीहरु शून्य नजिक पुगेकोले विद्यालय मर्ज गर्नुपरेको नगर शिक्षा अधिकारी रुद्रनारायण सापकोटाले बताए । वडा नं. ७ कै देउराली प्रावि बन्द गरियो । त्यहाँ पढ्ने १५ विद्यार्थी पनि जनहित मावि मल्म गए । वडा नं. २ को चौराहा आधारभूत विद्यालय बन्द गरेर चौराहा माविमा पठाइयो । सापकोटाका अनुसार गत बैसाखदेखि ५ विद्यालय मर्ज गरिएको हो भने ७ विद्यालयको तह मिलान गरियो ।

केही हिंड्नुपर्ने बाध्यता भएका बालालिकालाई नगरपालिकाले खाजा खर्च दिन थालेको छ । विद्यालय बन्द हुँदा शिक्षकहरु जगेडा भए । त्यसपछि नगरपालिकाले ती शिक्षकलाई आवस्यकताको आधारमा स्थानान्तरण गराएको छ । ‘दरबन्दी नभएर नीजि श्रोतमा राखेका विद्यालयले शिक्षक पाएका छन्,’ सापकोटाले भने, ‘अभिभावकको अनावस्यक खर्च जोगियो ।’ निजी श्रोतको शिक्षक राखेका जनहित, चौराहा र पाण्डवखानी मावि विद्यालयलाई सहज भएको अभिभावकले बताए ।

विद्यालय मर्ज गर्दा गुणस्तर सुधारमा समेत सहज भएको सापकोटाको भनाइ छ । ‘आवस्यक शिक्षक कोटा पुगेपछि हामीले गुणस्तर सुधारका कार्यक्रम ल्याउन पाएका छौं’ उनले भने, ‘शिक्षकका लागि मासिक रकम बुझाउने अभिभावकले गुणस्तर सुधारका लागि खुसीले साथ दिन पाएका छन् ।’ विद्यालयको तह मिलान गर्दा पनि आर्थिक भार कम भएको जनहित माविका अभिभावक ज्ञानबहादुर थापाले बताए ।

अब गलकोटमा १३ माविसहित ६२ सामुदायिक विद्यालय छन् । विद्यालय समायोजन कार्यविधिमा कक्षा १–३ भएमा १५ जना, १–५ भए २५, ६–८ भए २१, ९–१० भए २५ र ११–१२ मा पनि २५ जना विद्यार्थी न्युनतम चाहिने मापदण्ड छ ।

बागलुङ नगरपालिकाले पनि ‘बिग स्कुल’को मापदण्ड बनाएको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए । आगामी शैक्षिक शत्रमा मापदण्डभन्दा कम विद्यार्थी भएका विद्यालय मर्ज गर्ने तयारी भएको हो । बागलुङ नगरपालिकाभित्र १ सय ४ विद्यालय छन् । यो संख्या नेपालका सबै पालिकाको भन्दा धेरै हो । कतिपय विद्यालयमा विद्यार्थी न्युन भएकोले मर्जको अवस्था ल्याउनै पर्ने आवश्यकता भएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए । ‘बरु एउटा राम्रो र आवासिय विद्यालय बनाऔं भन्ने छ,’ श्रेष्ठले भने, ‘वैशाख सम्ममा एउटा टुंगोमा पुग्छौं ।’

गाउँ छाडेर बजार र तराइ झर्ने क्रमले गाउँघरका विद्यालयमा विद्यार्थी न्यून भएका हुन् । ‘पछिल्लो ५ वर्षमा न्वारन गरेर शंख फुकेको समेत थाहा पाइएको छैन,’ बानपा १२ का बिष्णु अधिकारीले भने, ‘बालबालिका नभएपछि विद्यालय कसरी चल्छन् ?’ जन्मेका बालबालिका पनि अभिभावकले बजारमै राख्ने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->