बागलुङ/ साउदी अरबमा काम गर्न गएका पर्वतका एक पुरुष आफूसँगै बस्ने साथीहरुबाट अप्राकृतिक बलात्कारमा परेपछि भागेर नेपाल आएका छन् । आप्रवासी श्रोत केन्द्र बागलुङको पहलमा उनी नेपाल आउन सफल भएका हुन् ।
बागलुङको काठेखोला गाउँपालिका–८ की कौशिला बिकले ती युवालाई उद्धारमा सहयोग गरेकी हुन् । कौशिला स्वयं पनि यातनाकै कारण तीन महिनाअघि कुवेतबाट भागेर नेपाल आएकी थिइन् । पीडित युवा एक वर्षअघि साउदी गएर काम गर्न थालेका थिए । सँगै बसेका ४ मध्ये तीन जनाबाट अप्राकृतिक र सामूहिक बलात्कार भएपछि उनी भाग्ने योजनामा थिए ।कौशिलाले सामाजिक संजालमार्फत् कौशिलाले राजदूतावास, जिल्ला प्रशासन र आप्रवासी श्रोत केन्द्रलाई विषयबस्तुको जानकारी गराइएकी थिइन् । आप्रवासी केन्द्रले रोजगार बोर्डमार्फत् ती युवालाई नेपाल झिकाएको हो । पीडितले कानूनी उपचार भर्खर सुरु गरेकोले उनले पहिचान भने खुलाइएको छैन ।
भाग्ने योजना थाहा पाएपछि बलात्कारीहरुले उनीमाथि निगरानी र यातना बढाएका थिए । खबर बाहिर लगेमा बिष खुवाएर मार्ने, झुण्ड्याएर मारिदिने वा बेहोस बनाएर फाल्ने योजना बनाएको थाहा पाएपछि शौचालयमा लुकेर उनले नेपालमा खबर गरेका थिए । तर, समयमै दूतावासको सहयोगमा उद्धार भएकाले ती युवा नेपाल फर्कन सकेका हुन् । आप्रवासी श्रोत केन्द्र बागलुङले पीडितलाई राहत तथा क्षतिपूर्तिका लागि पहल गरिरहेको छ ।
वैदेशिक रोजगारीमा जाँदा युवायुवती असुरक्षित हुन नपरोस् भनेर केन्द्रले जिल्ला प्रशासन, स्थानीय तह, राजदूतावास र वैदेशिक रोजगार बोर्डमा सहकार्य गरेर काम गर्दै आएको छ । यसरी सहकार्य गर्दा मृत्यु भएकाको शव ल्याउन, पीडितलाई उद्दार गर्न र राहत उपलब्ध गराउन सहज भएको केन्द्रका प्रमुख मीनप्रसाद उपाध्यायले बताए ।





