बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कास्की, तनहुँ र लमजुङसहित ५ जिल्लामा देखियो ‘अफ्रिकन स्वाइन फिभर’

कास्की, तनहुँ र लमजुङसहित ५ जिल्लामा देखियो ‘अफ्रिकन स्वाइन फिभर’


  • ढोरपाटन संवाददाता
  • माघ २५ २०८०, बिहिबार
फाईल तस्वीर ।

पोखरा / मुलुकका विभिन्न जिल्लामा सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिलाई लाग्ने रोग ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको छ । नेपालमा यो रोग पहिलो पटक २०७९ जेठ २ मा पुष्टि भएपछि दुई वर्ष अवधिमा देशका २८ जिल्लाका विभिन्न स्थानमा संक्रमण देखापरेको थियो । यो संक्रमणबाट ७० हजार बङ्‍गुर र सुँगुर मरेको विभागले जनाएको छ ।

पशु सेवा विभागले रोग ‘सर्भिलेन्स’ गर्दा कास्की, तनहुँ, लमजुङ, काठमाडौं र ललितपुरमा पुष्टि भएको जनाएको छ । संक्रमण देखा परेका जिल्लामध्ये तनहुँमा किसानले पालेका बङ्‍गुर र सुँगुर मरेको पाइएको विभागले जनाएको छ ।

‘जैविक सुरक्षाको विधि अवलम्बन, सीमा तथा आन्तरिक क्वारेन्टाइनबाट ओसारपसारमा निगरानी, सर्भिलेन्स, सचेतनाका कार्यक्रमहरू सञ्चालन भइरहेको थियो,’ विभागले भनेको छ, ‘सोहि क्रममा रोग पुष्टि भएको हो ।’

विभागले अहिले गण्डकी प्रदेशका जिल्लामा देखिएको जनाए पनि बागमती प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार ललितपुर गोदावरी नगरपालिका, काठमाडौं कीर्तिपुर नगरपालिकामा समेत महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर देखापरेको पुष्टि भएको बताएको हो । निर्देशनालयले स्थानीय तहलाई पत्र लेख्दै सचेतनाको काम गर्नसमेत भनेको छ ।

सोहीअनुसार ललितपुर महानगरपालिकाले अफ्रिकन स्वाइन फिभर देखिएको भन्दै महानगरभरिका किसानलाई सचेत गराउन सुरु गरिसकेको छ । पशु सेवा विभाग सूचना अधिकारी डा. चन्द्र ढकालले पशुमा छिटो सर्ने रोग भएको बताए ।

‘एकदम नै छिटो पशुमा सर्ने रोग हो । यसले किसानलाई ठूलो आर्थिक क्षति गर्छ, तर बेलैमा सचेत हुन सके पशुलाई बचाउन पनि सकिन्छ,’ ढकालले भने ।

उनले सर्भिलेन्स क्रममा रोग देखिने बित्तिकै सचेतनाका लागि विभाग मार्फत सबै प्रदेश र स्थानीय तहलाई जानकारी दिन सूचना प्रकाशित गरेको बताए ।

‘हामीले सर्भिलेन्स क्रममा देखिएको जति मात्रै पुष्टि गरेका हौं । सबै स्थानको तथ्यांक लिन सकिएको छैन,’ उनले भने, ‘प्रदेश र स्थानीय तहले सूचनालाई आधार मानेर रोकथामका लागि तत्काल काम गर्नुपर्ने हुन्छ ।’ ढकालले सचेत भए पशुहरूमा ठूलो क्षति नहुने भन्दै किसानलाई नआत्तिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->