बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

वैशाखपछि कहाँ जाने, केही थाहा छैन !

वैशाखपछि कहाँ जाने, केही थाहा छैन !


  • ढोरपाटन संवाददाता
  • माघ २६ २०८०, शुक्रबार

बागलुङ/ उनी भर्खर १४ बर्षकी भइन् । कक्षा ६ की प्रथम विद्यार्थी हुन् । पढाइमात्र हैन उनको अतिरिक्त क्रियाकलाप पनि उस्तै उत्कृष्ठ छ । गीत गाउने, कविता र अन्य लेखरचनामा अब्बल छिन् । तर, उनको शरीरमा जटिल समस्या छ ।

बिहान उठ्ने बित्तिकै उनको दैनिकी भने सहयोगीको भरमा चल्छ । व्हिलचियरमा राखिदिएपछि मात्रै उनी शौचालय जान सक्छिन् । उनको कम्मरदेखि तल्लो भाग चल्दैन । त्यसैले समय मिलाएर उनले शौच लागेको पत्ता पाउनुपर्छ ।

शौचको पीरले उनले मन लागेजति खानासमेत खान्नन् । बिहानदेखि बेलुकीसम्म उनलाई सहयोगी चाहिन्छ । खाने, बस्ने, पढ्न जाने सबै काममा साथी नभइ संभव छैन । जन्मदै उनका दुवै खुट्टा चलेनन् । दुवै हातमा पनि समस्या छ । पढाइमा तेजी १४ वर्षिय सुस्मा रुचालको कलम समात्ने हातका आंैलासमेत छैनन् । दाहिने हातको समस्याले देब्रो हातका औंलाले उनले लेख्छिन् । लेखाइ ढीला भएकोले सामान्य विद्यार्थी सरह समयले उनलाई पुग्दैन ।

जन्मदै शारीरिक रुपमा अशक्त र अपांग उनले परिवारका सदस्यको माया पाइनन् । पढ्ने लेख्ने त उनको संभावना नै थिएन । पोखरा महानगरपालिका–१७ की रुचाललाई बुबाआमाले आसै मारेका थिए । बाबु गणेश र आमा विनिताले त आसै मारेका थिए । हजुरआमा पद्माले नातिनीको पढाइबारे बढी चिन्ता गरिन् । उनले जसरी पनि नातिनी पढाउने निधो गरेर पढ्ने ठाउँको खोजी गर्दा बागलुङको रामरेखामा अपांग बालबालिका राखेर पढाउने विद्यालय खुलेको थाहा पाइन् । त्यसपछि ७ वर्षकी नातिनी बोकेर उनी बागलुङ नगरपालिका–१ मा बनेको रामरेखा आधारभूत बिद्यालयमा आइपुगिन् ।

विद्यालयका प्रअ कविराज जिसी र अर्का शिक्षक रेशम गोतामेले पद्माको इच्छा पूरा गर्ने चाहना राखे । शारिरीक अपांग भएका बालबालिका पढाउन यहाँ भर्खर छात्रावास बनाइएको थियो । प्लान इन्टरनेशनलले ५० लाख खर्चेर बनाइदिएको घरमा बागलुङ नगरपालिकाले दुइ जना आया (सहयोगी) र बालबालिकाको खर्चको व्यवस्थापन गरेको छ । प्रतिविद्यार्थी १० महिनाका लागि ४ हजारका दरले ४० हजार र दुइ जना सहयोगीको १३ महिनाका लागि १२ हजारका दरले रकम उपलब्ध गराएको छ । धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्रले छात्रावासदेखि विद्यालय र कक्षा कोठामा पुग्ने ¥याम्प बनाइदिएको छ । अन्याथा रुचाललाई कक्षाकोठामा लैजान सकिंदैन ।

रुचाल जस्तै यहाँ १३ जना शारिरीक अपांग भएका बालबालिका पढ्छन् । अन्य १ सय १७ जना विद्यार्थी छन् । उनीहरु पनि कालीगण्डकी नदीमा ढुंगा बालुवा चाल्ने मजदुरका बालबालिका हुन् । अहिले रुचाल कक्षा ६ मा छिन् । उनी कक्षा १ देखिनै निरन्तर प्रथम भैरहेकी छन् । कक्षा ८ पछि भने उनको पढाई रोकिनेवाला छ । यो विद्यालयमा कक्षा ८ भन्दा माथि पढाइ छैन । कक्षा ८ उत्तीर्णपछि यो विद्यालयले छात्रावासको सेवा दिन नपाउने व्यवस्था छ ।

रुचाललाई कुनै दाताको सहयोग नपाएमा त्यसपछि पढाइ बिट लाग्ने छ । ‘कक्षाको प्रथम हुने विद्यार्थीलाई हामीले छुटाउनुपर्ने भएको छ,’ प्रअ जिसीले भने, ‘राज्यले यस्ता बालबालिकाको शिक्षा र जीवनशैलीबारे समयमा सोच्न जरुरी छ ।’

रुचाल पनि त्यसपछि घर फर्कनुपर्ने हो कि भनेर चिन्तामा परिसकेकी छिन् । ‘घरमा गए पनि यस्तो सहयोगी पाउन सक्दिन होला,’ उनले भनिन्, ‘यहाँ त बिहान बेलुकी सहयोगीको साथ पाएकोले पढ्ने र जीउने अवसर पाएकी छु ।’ घर फर्केपछि कोठामा अलपत्र बस्नेबाहेक अन्य काम नहुने उनले गुनासो गरिन् ।

उनीहरुजस्तै समस्या भएका बालबालिका देखेरै संस्थाले ¥याम्प बनाइदिएको डिआइआरडिसीका कार्यक्रम व्यवस्थापक शालिकराम शर्माले बताए । अपांगता भएका बालबालिकाको क्षेत्रमा अझै थप सहयोग गर्ने योजना उनले सुनाए ।

यो विद्यालयमै पढ्ने जीवनबहादुर क्षेत्री त झनै चिन्तित छन् । कक्षा ८ मा पढ्ने क्षेत्रीको देव्र्रे खुट्टा छैन । चार वर्षअघि क्यान्सरले उनको खुट्टा काटिएको थियो । बाबु थम्मन र आमा तपकुमारीले ज्यालामजदुरी गरेर छोराछोरी हुर्काएका छन् । जीवनका दाइ रामु छुट्टिएर बसेका छन् । दिदी देवी, भाइ रमित र बैनी मनिषा पढाउनुपर्दा परिवारमा आर्थिक संकट चुलिएको छ । ऋण खोजेर उपचारपछि भरतपुर क्यान्सर अस्पतालबाट उनी
बाँचेर त फर्के तर घरमा बसेर पढ्ने अवसर गुमाए ।

उनको घर भएको बडिगाड गाउँपालिका–९ को दर्लिङ गाउँमा सडक छैन । व्हिलचियरमा हिंड्न मिल्दैन । घरबाट विद्यालयसम्म कृतिम खुट्टाले पनि जान सक्दैनन् । यहाँ बस्दा भने उनले कृतिम खुट्टा प्रयोग गरेका छन् । ‘कृतिम खुट्टाले उकालो ओरालो हिंड्न मिल्दैन,’ उनले भने, ‘व्हिलचियरमा हिंड्न र सामान्य चउरमा हिंड्न मात्रै मिल्छ ।’ त्यसैले उनी पनि विद्यालयको छात्रावासमा बसेर पढ्दैछन् ।
कक्षा ८ पासपछि वैशाखबाट उनी कता जाने अन्यौलमा छन् । उनको परिवार पनि आर्थिक रुपमा बिपन्न छ । बाबुआमाले पढाउन नसक्ने अवस्था भएकोले सहयोगी पाए मात्र पढ्न सक्ने बताए । उनी कक्षा ८ मा प्रथम हुन् । ‘राम्रा विद्यार्थीलाई बीचैमा पढाइ छाडेर पठाउनु पर्दा हामीलाई दुःख लागेको छ,’ अर्का शिक्षक रेकम गोतामेले भने, ‘उनीहरुको लागि नगरपालिका वा राज्यका अन्य संस्थाले साथ दिए हुन्थ्यो ।’ विद्यालयमै कक्षा १० को अनुमति पाएमा पनि सहज हुने उनले बताए ।

बागलुङ नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले उनीहरुको अवस्था देखेर नीतिगत व्यवस्था नभएपनि व्यवहारिक सहयोगका लागि केही गर्ने लक्ष राखेको बताए । ‘सके छात्राबास भएको विद्यालयमा पढाउने, नसके त्यहीं बसालेर खर्चको जोहो गर्ने योजना छ’ उनले भने, ‘नीतिगत रुपमा सम्बोधन गर्न सकिएन भने दाता खोजेर पनि पढाउने भनेका छौं ।’ उनले असक्त क्षेत्रमा दिने सहयोग भएपनि उनीहरुको शिक्षामा खर्चने गरी नगरपालिकाले तयारी गरेको बताए । नीतिगत व्यवस्था भएमा मात्रै उनीहरुले दीगोरुपमा सेवा पाउने पोखरेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->