बागलुङ/ पञ्चधातुको ५ हजार ५ सय ५५ केजीको ‘महाघण्टी’ पञ्चकोटमा ल्याइएको छ । बागलुङ नगरपालिका–६ को पञ्चकोटमा निर्माण गर्न लागिएको १ सय ८ फिट अग्लो कलससँगै यो महाघण्टी राखिने छ ।
आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म संचालन हुने ‘ब्रम्हाण्डीय महायज्ञका लागि यो घण्टी स्थापना गरिन लागिएको हो । साथै ३१ फिट अग्लो काठको मौलो र नमूना कलस माघ ७ गतेदेखि देशभर घुमाइएर ल्याईएको छ ।
महाघण्टीको आवाज समेत यहाँका पर्वत, म्याग्दी र बागलङ जिल्लाका विभिन्न स्थानमा सुनिने गरी निर्माण गरिएको छ । ‘यो घण्टा बनाउन एक सयबढी कामदारले साँढे २ महिना लगाएका छन्’ पञ्चकोट विकास परिषद्का अध्यक्ष दामोर दाहालले भने, ‘अहिलेसम्म कतै नभएका महायज्ञ, महाघण्टी र कलस निर्माण हुँदैछ ।’
ललितपुरका लोकराज ढकालको संयोजन र जितेन्द्र बारबु नेतृत्वमा यो घण्टा बनाइएको हो । यस्तो घण्टा बनाउने क्रममा तामा पगालेर निरन्तर धारा दिनुपर्ने प्राविधिक जानकारी दाहालले दिए । यो घण्टीलाई पञ्चकोटको निर्माणाधीन कलसदेखि उत्तरतर्फको हनुमान मुर्तिनजिकै राखिएको छ । महाघण्टी निर्माण गरेर धार्मिक बिधिअनुसार स्थापना गर्न १ करोड खर्च भएको दाहालले बताए । यो घण्टीलाई ‘मुक्तिनाथ ध्वानात्मक महाघण्टी’ नामाकरण गरिएको हो ।
यहाँ ५ वटा कोटलाई पर्यटकीय र धार्मिक गन्तव्य बनाउने लक्ष्यले पञ्चकोटमा संसारकै अग्लो कलस बनाउन लागिएको छ । यो अभियान पुरा गर्न असम्भव जस्तै लाग्ने अन्य सामग्री संंकलन गरिएको छ । बागलुङ नगरपालिका–६ को भान्सामा जन्मेर भारतको विभिन्न स्थानमा ख्याती कमाएका कमलनयनाचार्यको अगुवाईमा यहाँ ब्रम्हाण्डीय महायज्ञ गर्न लागिएको हो ।
त्यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले महाघण्टी र मौलोको अनावरण गर्ने कार्यक्रम रहेको छ ।२०७१ फागुन ७ गतेदेखि पञ्चकोटमा १ सय ८ फिट अग्लो कलससहित धार्मिक पर्यटनको गन्तव्य बनाउने अभियान थालिएको थियो ।
कलस बनाउने परिसरमा गण्डकी माताको मन्दिर, गरुण शिला, हनुमान मुर्ति, सिस महल, सभाहल, भोजनालय तथा हवन कुण्ड लगायतका संरचना बनिसकेका छन् । ‘ब्रम्हाण्डीय महायज्ञ’ले कलस बनाउने महाअभियानलाई सघाउ पु¥याउने अभियानका अगुवा कमलनयनाचार्यको भनाइ छ । महायज्ञ र दानमुठीबाट संकलित रकमबाट झण्डै २ सय रोपनी जमिनमा करोडौंका संरचना बनिसकेका छन् ।





