शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

गुरिल्ला ट्रेल दशकदेखि हल्ला मात्रै पूर्वाधार सुन्य

गुरिल्ला ट्रेल दशकदेखि हल्ला मात्रै पूर्वाधार सुन्य


  • हरिकृष्ण गौतम
  • माघ २९ २०८०, सोमबार

म्याग्दी/ गुरिल्ला ट्रेलका बारेमा सुनेर यात्रामा निस्किएका ६४ वर्षीया फ्रान्सेली नागरिक प्याट्रिकले सुन्दर भएपनि ट्रेल आसपासका क्षेत्रमा सोचेजस्तो पूर्वाधार नभएको गुनासो गरे ।

२१ दिनको ट्रेकमा धेरै ठाउँमा समान्य पूर्वाधारको अभावका कारण सास्ती भोगेको अनुभव सुनाए । उनले चारदिन मात्रै राम्रो खाना र सुत्न पाएको र बाँकी ठाउँमा रात खाना बस्ने सुविधा नभएको बताए । फ्रान्सेली नागरिक प्याट्रिकजस्तै विभिन्न देशबाट गुरिल्ला पदमार्ग फन्को मार्ने पर्यटकले सामान्य पूर्वाधारसमेत नभएको गुनासो गरी फर्किने गरेका छन् । ट्रेलमा फ्रान्स, क्यानेडियन, जर्मनी लगायत यूरोपका विभिन्न देशबाट धेरै पर्यटक आउने गरे पनि पदमार्ग पहिचान भएको दशक वितिसक्दा समेत न्यूनमत पूर्वाधार विस्तारमा समेत स्थानीय तह, प्रदेश र संघीय सरकारले चासो नदेखाउँदा विदेशी पर्यटक गुनासो पोखेर फर्किछन्।

तत्कालीन १० वर्षे माओवादी सशस्त्र युद्ध प्रभावित क्षेत्र म्याग्दी, रुकुम,वागलुङ र रोल्पा जिल्लालाई समेटर निर्माण गरिएको गुरिल्ला ट्रेलको बारेमा प्रचारप्रसार धेरै भए पनि चारवटै जिल्लाले पूर्वाधार विस्तारमा ध्यान नदिँदा पर्यटकले खोजीखोजी आउँदा निराश हुने गरेका छन् । ‘पर्यटकको गुनासो नै गुनासो छ, उनीहरू सबै तयारीका साथ आउँदा चाहिने सामान्य पूर्वाधार समेत छैन,’ पर्यटक गाईड मानबहादुर खत्री दाहालले भने ।

उनका अनुसार पदमार्ग अन्तरगत ४ दिनसम्मको यात्रामा खानबस्ने, खानेपानी, शौचालयलगायतका पूर्वाधार भएपनि बाँकी १७ दिनसम्म खानेपानी, शौचालय तथा अन्य अति आवश्यक पूर्वाधार नभएको बताए । ट्रेल अन्तरगत पर्ने रुटमा बाटो मर्मत सहित पर्यटकलाई पहिचान गर्न सजिलो हुने मार्ग, बासस्थान आसपासमा खानेपानी तथा टेन्ट राख्न मिल्ने पूर्वाधार बनाउन चारवटै जिल्लाका स्थानीय तहलाई अनुरोध गर्दा चासो नदिएको पर्यटक गाइडको गुनासो छ । नेपाल पर्यटन वोर्ड, प्रकृति संरक्षण कोष,स्थानीय तह, संघ र प्रदेश सरकारलाई पर्यटकको गुनासो सहितका सन्देशहरू पठाउँदा समेत चासो नदेखाएपछि अहिले विस्तारै त्यस क्षेत्रमा आउने पर्यटकले रुट परिवर्तन गर्न थालेको समेत स्थानीयको भनाई छ ।

माओवादी युद्धको केन्द्रविन्दु मानिएका ग्रामीण बस्तीहरुलाई लक्षित गरी विस्तार गरिएको ट्रेलको अमेरिकी नागरिक अलोन्डो लोन्सले पदयात्रा गरी नक्सा तयार गरेका थिए भने बि.स २०७३ सालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमको चुनवाङदेखि म्याग्दीको बेनीसम्म जोडिने गुरिल्ला ट्रेल एवम् जनयुद्धको ऐतिहसिकता झल्कने युद्ध संग्रहालयको उद्घाटन गरेका थिए । त्यसपछि पर्यटन क्षेत्रमै संलग्न भएका संघसंस्थाको प्रचारप्रसार गरेपनि पूर्वाधार विस्तारमा उदासिनताको कारण ट्रेलले गति लिन सकेको छैन् । ट्रेल अन्तरगत म्याग्दी खण्डमा पदैलमार्ग बाहेक अन्य पूर्वाधार समेत बनेको छैन ।

नेपाल पर्यटन बोर्ड, राष्ट्रिय प्रकृति संरक्षण कोष, म्याग्दी र रुकुमको पहलमा द्धन्द्ध प्रभावित क्षेत्रका बासिन्दाको आर्थिक स्तर उकास्न र बिदेशी पर्यटकहरुलाई युद्धकालिन दिनचर्या, बिकट बस्तीको जनजिवन, मगर संस्कृतिको अनुभव दिलाउन तथा माओबादीको सेल्टरलाई आधार बनाई पदमार्गको नामाकरण गरिएको थियो । ट्रेलको रुटमा पर्ने अधिकांस क्षेत्र युद्धकालिन समयमा माओबादीको सेल्टर मानिन्छन् ।म्याग्दीको पश्चिमी ब्यापारीक केन्द्र दरवाङ, ताकम धारापानी, मुना हुर्दै बागलुङको ढोरपाटन क्षेत्र र रुकुम हुदै रोल्पाको सुलीचौरमा रहेको छ । पदमार्गमा पर्ने अधिकांश बस्तीहरुमा मगर समुदायको बाहुल्य बसोबास रहेको छ ।

पदमार्ग संचालनमा ल्याए त्यसको सबैभन्दा धेरै फाइदा म्याग्दीलाई हुन्छ र पदमार्गका धेरै बस्ती र स्थान म्याग्दीमा पर्ने र गन्तव्यमा पुगेर फर्कदा समेत म्याग्दी प्राथमिकतामा पर्ने देखिन्छ । मगर र अन्य समुदायको संस्कृति, प्राकृतिक सम्पदा, हिमश्रृङखला, ग्रामिण जिवनशैली र स्थानीयबासीको द्धन्द्धकालको अनुभव यो पदमार्गको आकर्षण रहेको छ । नक्साङ्गन, प्रष्ट रुटको पहिचान, गाइड बुकको अभावले पर्यटक बिच बाटोबाटै फर्कने गरेको धौलागिरी पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले बताए ।

उनले गुरिल्ला ट्रेलको स्वदेश तथा विदेशी पदयात्रामा निस्कने पर्यटकको नजरमा प्रचारप्रसार भइसकेको अवस्थामा अव पूर्वाधारमै केन्द्रीत हुनुुपर्ने बताए । पदमार्गमा माओवादीले म्याग्दी र रुकुमको सदरमुकाम आक्रमणका क्रममा बनाएको तालिम केन्द्र, सैन्य अभ्यास, माओवादी नेताहरुको बासस्थानलगायत समेत पर्ने भएकाले पनि खानेपानी, शौचालयसहितका आवश्यक पुर्वाधार तत्काल आवश्यकता रहेको पदमार्ग क्षेत्रका बासिन्दाको भनाई छ । बि.स २०६० साल चैत्र ७ गते माओवादीले म्याग्दीको सदरमुकाम बेनीबजार आक्रमण गर्दा टे«ल अन्तरगत पर्ने एक जंगलमा बेनीबजारको हुबहु नक्सा समेत उतारिएको थियो । म्याग्दीको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम पुनले पदमार्गका लागि आवश्यक पर्ने पूर्वाधार विस्तार तथा प्रचारप्रसारमा सघाउने प्रतिबद्धता जनाए ।

पश्चिम म्याग्दीको पर्यटनका लागि धौलागिरी पदमार्ग, ढोरपाटन र गुरिल्ला टे«ल पर्यटन क्षेत्रको लाइफलाइन भएकाले प्राथमिकता दिने बताए । ट्रेलमा समय अनुकुल २७, २१ र १४ दिनको तिन वटा प्याकेजमा यो पदयात्राको भ्रमण गर्न सकिने छ । सबैभन्दा छोटो १४ दिन र बढीमा २७ दिनमा पदयात्रा पूरा गर्न सकिन्छ । पूराना पदमार्गहरू सडक विस्तारसँगै मासिँदै जान थालेपछि अहिलेको अवस्थामा गुरिल्ला ट्रेल पदयात्रामा रमाउने आन्तरिक तथा बाह्य पर्यटकलाई सुन्दर र अविस्मरणीय मार्ग बन्ने पर्यटन क्षेत्रका जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->