बागलुङ/ प्रजातन्त्र स्थापना भएको दिनको स्मरणमा सोमबार राष्ट्रिय प्रजातन्त्र दिवश मनाइएको छ । बागलुङ नगरपालिका, जिल्ला समन्वय समिति र जिल्ला प्रशासनको संयुक्त आयोजनामा दिवश मनाइएको हो ।
दिवशको अबसरमा राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी, नेपाली सेना, सशष्त्र र नेपाल प्रहरी, सामुदायिक तथा संस्थागत बिद्यालयका शिक्षक तथा बिद्यार्थी र आमा समूह लगायतका समुदायका विभिन्न संस्थाले पनि भाग लिएका थिए ।
दिवशको अबसरमा प्रभातफेरी, पुरस्कार बितरण तथा प्रवचन कार्यक्रम गरिएको थियो । सोमबार बिहान भएको प्रभातफेरीपनि लोकतान्त्रिक चोकमा भएको प्रवचन कार्यक्रममा गण्डकी प्रदेश सभाकी सदस्य कुशुम बुढामगरले नेपालीलाई बोल्ने, आफ्नो मत राख्ने तथा राजनीतिक गतिविधि संचालन गर्न पाउने हक प्राप्त भएको दिनले भविष्यमा पनि मौलिक हकको रक्षा गर्ने प्रेरणा प्राप्त हुनुपर्ने बताइन् । उनले जहानीया राणा शासनको बिरुद्ध बिगुल फुकेको दिन भएकोले फागुन ७ गतेलाई प्रजातन्त्र दिवश मनाउने गरिएको समेत बताइन् ।
२००७ साल फागुन ७ गते राणाशासनको अन्त्य भएको थियो । तत्कालिन समयमा कांग्रेसका संस्थापक नेता बिपी कोइराला नेतृत्वमा राजनीतिक दलहरुले गरेको आन्दोलनमा प्रजातन्त्रको स्थापना भएको थियो । त्यस्तै ४ सहिदले शाहदात प्राप्त गरेको र राजनीतिक दल खोल्न पाउने प्रणालीको बिकास भएको अबस्थालाई प्रजातन्त्र दिवशको रुपमा मनाउने गरिएको हो ।
जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाको अध्यक्षतामा सोमबार बागलुङमा भएको कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, एमालेका अध्यक्ष हिराबहादुर केसी र सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले बोलेका थिए । कार्यक्रम समन्वयका सूचना अधिकारी दुर्गाप्रसाद शर्माको संचालन र समन्वय अधिकारी कृष्णराज गौतमको स्वागतमा सम्पन्न भएको थियो ।
उक्त अबसरमा बिभिन्न खेलकुँद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ भएका बिद्यार्थीलाई पुरस्कार बितरण, मेडल र प्रमाणपत्र समेत बितरण गरिएको थियो । दिवशको अबसर पारेर सामुदायिक बिद्यालय, प्याब्सन र एनप्याब्सनले पनि विभिन्न कार्यक्रमहरु गरेका थिए । दिवशकै अबसरमा दिपाबली समेत गर्ने निर्णय भएको प्रजातन्त्र दिवश मुल समारोह समितिका अध्यक्ष अमर थापाले जानकारी दिए ।





