आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पोखराको महेन्द्रपुलमा फहराइयो १९३ देशका झन्डाहरू

पोखराको महेन्द्रपुलमा फहराइयो १९३ देशका झन्डाहरू

पार्कको सबैभन्दा अगाडी नेपालको झन्डा राखिएको छ । एक स्थानमा पत्रपत्रिका अध्ययन केन्द्र र अर्को स्थानमा डिजिटल अध्ययन केन्द्र स्थापना गरिएको छ ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ७ २०८०, सोमबार

पोखरा/ पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गरिएको छ । लायन्स क्लब इन्टरनेश्नलको आर्थिक सहयोगमा पोखरा महानगरपालिकाले उक्त पार्क निर्माण गरेको हो । पार्कको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र लायन्स क्लब अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले संयुक्त रूपमा उद्घाटन गरे ।

चार तहको प्यारा फिट शैलीमा निर्माण गरिएको पार्कमा संयुक्त राष्ट्र सङ्घमा आबद्ध १९३ देशको नाम सहितका पोलहरूमा झन्डाहरू राखिएका छन् । पार्कको सबैभन्दा अगाडी नेपालको झन्डा राखिएको छ । एक स्थानमा पत्रपत्रिका अध्ययन केन्द्र र अर्को स्थानमा डिजिटल अध्ययन केन्द्र स्थापना गरिएको छ ।

सात महादेशको भिन्न भिन्न ब्लकहरू छुटाइएको पार्कमा दोस्रो विश्वयुद्ध पछि विश्व शान्ति स्थापना र मानव अधिकार प्रवर्द्धनका लागि स्थापित संयुक्त राष्ट्र सङ्घमा आबद्ध देशहरूको आबद्धताको मिति समेत उल्लेख गरिएको छ । पार्कमा संयुक्त राष्ट्र सङ्घ, पोखरा महानगरपालिका, लायन्स क्लब अन्तर्राष्ट्रिय र एनआरएनएको झन्डा पनि राखिएको छ ।

“झन्डा पार्क केवल रमाइलोका लागि मात्र होइन लर्निङ सेन्टरका रूपमा पनि रहनेछ ।” महानगर प्रमुख आचार्यले भने। उनका अनुसार यस आसपासको क्षेत्रलाई वाई फाई फ्री जोन बनाइएको छ ।

“कुनै पनि देशको राष्ट्रिय झन्डा त्यस देशको राष्ट्रिय एकता र गौरवको प्रतीक हो । “राष्ट्रिय झन्डाले नागरिकहरूलाई देशको साझा उद्देश्य, हित, देश प्रेम र स्वाभिमानको पक्षमा उभ्याउँछ, प्रमुख आचार्यले भने, यिनै पृष्ठभूमिमा संयुक्त राष्ट्र सङ्घको उद्देश्य अनुरूप विश्व शान्ति, एकता र भातृत्वको प्रवर्द्धनमा सघाउ पुराउने उद्देश्यले, यसका सदस्य राष्ट्रहरूको राष्ट्रिय झन्डा र सदस्यता प्राप्त मिति समेत उल्लेख गरी महानगरपालिकाले महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गरेको छ ।”

अन्तर्राष्ट्रिय झन्डा पार्कले पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गर्ने उनले विश्वास व्यक्त गरे । पर्यटन राजधानी घोषणा हुने क्रममा रहेको पोखरामा विश्वभरिबाट घुम्न आउने पर्यटकहरूको एक गन्तव्य स्थल झन्डा पार्क बन्ने बताए । आफ्नो देशको प्रतिकका रूपमा राष्ट्रिय झन्डा पोखरामा फहराएको देखेपछि पर्यटकहरूमा समेत नयाँ उत्साह मिल्ने आचार्यले विश्वास व्यक्त गरे ।

लायन्स क्लब अन्तर्राष्ट्रियका निर्देशक बुर्लाकोटीले पोखराको अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसारका लागि यसले महत्त्वपूर्ण सहयोग पुग्ने बताए । संसार भरी सेवामा समर्पित लायन्सहरुको गौरवका रूपमा पोखरामा निर्माण गरिएको अन्तर्राष्ट्रिय झन्डा पार्क सम्बन्धित देशका पर्यटकहरूका लागि गर्वको विषय हुने उनले बताए । पोखराको विकास र समृद्धिको यात्रामा लायन्स क्लब अन्तर्राष्ट्रिय स्थानीय सरकारसँग सहकार्य र समन्वय गर्न सदैव तयार रहेको बताए ।

पोखरा महानगरपालिका वडा नं.२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले झन्डा पार्कले पोखराको नयाँ पर्यटन गन्तव्य बन्ने विश्वास व्यक्त गरे। पोखरा महानगरपालिका वडा नं.९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले अन्तर्राष्ट्रिय झन्डा पार्क महानगरको नेतृत्वले देखेको एउटा जीवित सपना भएको बताए । आफूहरूको कार्यकाल केवल रातो र कालो मसीको केराइमा केन्द्रित नगर्ने बताउदै अध्यक्ष मर्सानीले समृद्ध महानगर निर्माणको अभियानमा सचेततापूर्वक सामेल हुँदै आवश्यक सहयोग र खबरदारी गर्न नगरवासीहरूलाई आग्रह समेत गरे । आफूहरूको ध्येय महानगरको विकास र महानगरवासीको सन्तुष्टिमा केन्द्रित रहेको उनले बताए ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले सुन्दर नगरी पोखरामा निर्माण गरिएको अन्तर्राष्ट्रिय झन्डा पार्कमा राखिएका संयुक्त राष्ट्र सङ्घमा आबद्ध सबै देशका झन्डाहरूले विश्व भातृत्व प्रवर्द्धनको सन्देश दिएको बताए । विश्वमा शान्ति कायम र मानवअधिकारको रक्षा तथा प्रवर्द्धनमा यसले महत्त्वपूर्ण सन्देश दिएको उनले बताए ।

पोखरा सौन्दर्यीकरण अभियान अन्तरगत लायन्स क्लब अफ इन्टरनेश्नल डिस्ट्रिक्ट  (325I, J, K, L, M) को तर्फबाट सहयोग प्राप्त भएको छ । संयुक्त राष्ट्र सङ्घमा आबद्ध १९३ देशसहित संयुक्त राष्ट्रसङ्घ, पोखरा महानगरपालिका, लायन्स र एनआरएनएको समेत गरी १९७ झन्डाहरू एकै स्थानमा राखिएको छ । पार्क निर्माणका लागि लायन्स क्लब अफ इन्टरनेश्नलका डिस्ट्रिक्टहरूले ७० लाख बढी आर्थिक सहयोग प्रदान गरेका छन् ।

महेन्द्रपुलको अर्को भागमा भने गैर आवासीय नेपाली सङ्घ एनआरएनएको सहयोगमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ । हाल त्यस स्थानमा बायो ग्याँसको डाइजेस्टर जडान कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->