बागलुङ / संघीय सांसद चित्रबहादुर केसीले विद्यार्थीलाई राजनीति गर्न नदिंदा शिक्षा क्षेत्रमा बिकृति आएको बताएका छन् । नेपालको शिक्षा र राजनीति ठिक छैन भन्ने भ्रम सिर्जना गरेर राजनीतिबाट विद्यार्थी अलग बनाउँदै बिदेश पठाउने काम गरिएको केसीको आरोप छ ।
‘क्याम्पसमा भन्दा बिदेश पठाउने दलालकोमा विद्यार्थी धेरै छन्’ केसीले भने, ‘नेपालमा केही हुँदैन भन्ने भ्रम छरेर शिक्षण संस्था रित्याउने काम भएको छ’ धौलागिरि बहुमुखी क्यापसको ६१ औं वार्षिकोत्सवको मुल समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका केसीले भने, ‘नेपालको राष्ट्रियता मात्र नभई संस्कृति र शिक्षा प्रणालीमा समेत आक्रमण भैरहेको छ ।’
नेपाली बिदेशिएको बेला भारतीय श्रमिकले नेपाली बजार भरिएको उनले बताए । यसरी भारतीय श्रमिक भरिंदा नेपालको अस्तित्वमा संकट आउनेतर्फ नेतृत्वले सोच्न नसकेको केसीको टिप्पणी थियो । उनले नेपालको शिक्षा नीतिमा सुधार गर्नुपर्ने आवस्यकता समेत औल्याए ।
‘संघियता हामीले धान्न सकिंदैन भनेर पहिल्यै भनेको थिएँ’ उनले भने, ‘अझैपनि प्रदेश हटाउने हो भने देशलाई ठूलो फाइदा हुन्छ ।’ प्रदेश सरकारको औचित्य नै नभएको भन्दै संघ र स्थानीय सरकार मात्र चलाउन ढीला गर्न नहुने केसीले सुझाए ।
२०१९ सालमा स्थापना भएको धौलागिरि बहुमुखी क्याम्पसमा अहिले स्नातकतर्फ बिबिए, बिबिएस, बिएसस्सी, बिए र बिएड संकाय संचालनमा छ । स्नातकोत्तरमा पनि व्यवस्थापन, शिक्षा र मानवीकिका बिषय पढाइ हुन्छ ।
क्यामपस प्रमुख रामप्रसाद उपाध्यायका अनुसार गुणस्तर प्रत्यायान सुनिश्चित गरेर क्यामपसले शुरु गरेका नयाँ संकायबाट उत्कृष्ठ नतिजा आएको बताए । बिबिएमा धौलागिरिका बिद्यार्थी शतप्रतिशत उत्तीर्ण हुनुको साथै नेपालमै उत्कृष्ठ नतिजा समेत ल्याउन सफल भएको छ । हाल क्याम्पसमा २ हजार ७ सय बिद्यार्थी अध्ययनरत छन् ।
क्याम्पस संचालक समितिका अध्यक्ष प्रा. डा दिनबहादुर थापाको अध्यक्षता, सहायक प्रमुख हिरालाल रेग्मीको संचालन र क्याम्पस प्रमुख प्रा.डा रामप्रसाद उपाध्यायको स्वागतमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्यहरु कुशुम बुढा, कृष्ण पाठक, एमाले अध्यक्ष हिराबहादुर केसी, कांग्रेस कोषाध्यक्ष श्रीधर कंडेल, बानपा-२ का अध्यक्ष सुरज बोसेल, स्ववियु सभापति सुदिप सागर कँडेल, नेविसंघका जिल्ला अध्यक्ष बिशेष पराजुली, अनेरास्ववियुका मनिष कँडेल, अखिल क्रान्तिकारीका जीवन शर्मा, अखिल छैंठौकी रेशा शर्मा, सुनिल पौडेल लगायतले बोलेका थिए ।
कार्यक्रममा विभिन्न क्रियाकलापका बिजयी खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको थियो । जेहेन्दार छात्रवृत्ति वितरण तथा उत्कृष्ठ बिद्यार्थी, कर्मचारी र प्राध्यापकलाई पनि सम्मान गरिएको थियो ।





