बागलुङ / पञ्चकोटमा अनन्तश्री ब्रम्हाण्डीय महायज्ञ शुरु भएको छ । बुधबार गण्डकी प्रदेशभरका विभिन्न जिल्लाबाट आएका ९ बर्ष भित्रका १ सय ९ जना कन्याले महायज्ञ शुभारम्भ गरे ।
अहिलेसम्म कतैपनि नभएको यो महायज्ञ भएको दाबी गरिएको छ । महायज्ञ १५ दिनसम्म चल्ने छ । महायज्ञ विश्वशान्तिको कामना, व्यक्तित्व विकास र यहाँको समग्र धार्मिक तथा पर्यटकीय विकासको लागि गर्न लागिएको महायज्ञ मुल आयोजक तथा पञ्चकोट विकास परिषदका संरक्षक कमलनयनाचार्यले जानकारी दिए ।
महायज्ञका लागि एक महिना अघिदेखि मुस्ताङको लोमान्थाङदेखि त्रिवेणी सम्मका विभिन्न समुदायका कन्या झिकाइएको थियो । उनीहरुसँगै ९ बर्षभन्दा माथीका कन्या समेत समावेश गराइएको थियो ।
उद्घाटनको अबसरमा पूर्व प्रधानन्यायाधिस गोपाल प्रसाद पराजुली, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, संविधानसभाकी सदस्य गीता वाग्ले, एनआरएनए महासचिव सोम सापकोटाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा मुल संरक्षक कमलनयनाचार्य, स्वामी देवराज आचार्य र पुरुषोत्तम आचार्यले बेदमन्त्रसहित विश्वशान्तिको कामना गरेका थिए ।
स्वामी कमलनयनाचार्यको अधयक्षता, स्वामी सुर्दशन प्रपन्नाचार्यको संचालन र स्वामी कृष्ण प्रपन्नाचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा भाग लिन विभिन्न स्थानबाट सयौं भक्तजन पुगेका थिए ।
महायज्ञमा सयौं क्विन्टल धान दान गर्ने, बेदपुराण पाठ गर्ने, धार्मिक प्रवचन, भजन तथा विकास निर्माण, पर्यटक, कृषि, राजनीति र आर्थिक विकास सम्बन्धित सम्मेलनहरु गर्ने कार्यक्रम तय गरिएको छ । पहिलो दिन जल, उर्जा विकास तथा वातावरण बिषयमा सरोकारवालाबीच अन्तरक्रिया सम्पन्न भएको थियो ।





