बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ढोरपाटनमा पर्यटकको चहलपहल, हिमपात हेर्न सयौं पर्यटक पुगे

ढोरपाटनमा पर्यटकको चहलपहल, हिमपात हेर्न सयौं पर्यटक पुगे


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ११ २०८०, शुक्रबार

बागलुङ/ ढोरपाटनमा फागुन लागेपछि फेरी हिमपात भएको छ । तीन दिनदेखि परेको हिमपात हेर्न सयौं पर्यटक पुगेका छन् । गत मंसिर पहिलो साता बेसी झरेका ढोरबासी ढोरपाटन उक्लने क्रम चलिरहेको बेला हिमपात भएको हो । हिमपातमा रमाउने पर्यटक र स्थानीय एकैपटक जुटेपछि ढोरपाटन निकै रमाइलो बनेको घुम्न निस्केका पर्यटकले बताए ।

ढोरपाटनका बिद्यालय समेत फागुन पहिलो साता खुलेका थिए । हिउँ परेको खबरपछि मध्यपहाडी लोकमार्गमा यात्रा गर्नेले पनि समय निकालेर ढोरपाटन उक्लेका छन् । गैर सरकारी संस्थाको काममा बुर्तिवाङ र निसीखोला पुगेका शालिकराम शर्मा र भुपाल चालिसेले समय निकालेर ढोरपाटन घुम्न गएको बताए ।

‘फागुनको १०÷१२ मा सेताम्मे हिउ परेको पहिलो पटक देखियो । रमाइलो पनि भयो’ चालिसेले भने, ‘जाडो कम भएकोले धेरै मानिसले रमाएर हिउँ खेलेका छन् ।’ हिउँ खेल्ने पर्यटकहरुको घुँइचो लागेको चालिसेले बताए । पर्यटक पुग्दा ढोरपाटनका होटल र होमस्टेहरु भरिभराउ भएको उनले बताए ।

सामुदायिक होमस्टे ढोरपाटनकी संचालक हस्तमाया पुनले पाहुनाले घरहरु भरिभराउ भएको बताइन् । ‘हामी पनि औल झरेर केही दिनअघि ढोरपाटन उक्लेका हौं, आउने बित्तिकै हिमपात भयो’ पुनले भनिन्, ‘हिमपातपछि पाहुनाको ओइरो लागेको छ ।’ होमस्टेमा आएका पाहुनाले आगो बालेर ताप्ने गरेको उनले बताइन् । अधिकांस पर्यटकलाई ढीडो र आलुको चटनी खुवाएको पुनले बताइन् ।

चिसो घटेकोले ढोरपाटनका ज्योती बिकास माबि र जनवादी आधारभूत बिद्यालय गत साता खुलेका छन् । बिद्यालय खुल्नासाथ फेरी हिमपात भएको हो । मौषम बिज्ञान बिभागले भने अझै केही दिन हिमपात र बर्षातको संभावना देखाएपछि मौका छोपेर ढोरपाटन जानेहरु बढेका छन् । हिमपात भएपनि पहिलाजस्तो चिसो भने नभएको स्थानीय शिक्षक चकबहादुर अदैले बताए ।

ढोरपाटनमा सामुदायिक होटल समेत छन् । पर्यटकले सबै घर घरमा पनि पाहुना बस्नुपर्ने अबस्था बनेको छ । कतिपयले ४० जना सम्मको समूह बनाएर ढोरपाटन पुगेका छन् । चितबनबाट आएका मोहन कोइरालाले होटल भरिभराउ भएर घर घरमा पाहुना बस्न गएको बताए । उनले सडक स्तरीय र सुविधासम्पन्न होटल भएमा ढोरपाटनमा अझै पर्यटक बढ्ने बताए ।

ढोरपाटनमा पर्यटन लक्षित गरेर होटल भने खुलेका छैनन् । काठले बनेका घरमै होटल र होमस्टे संचालन गरिएको हो । ढोरपाटन नगरपालिकाका कावा नगरप्रमुख धनबहादुर कायतले लगानीकर्ताको खोजी भएको बताए । अलपत्र सालझण्डी ढोरपाटन सडक पुगेर छिटै सडक स्तरीय बनाउन माग गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->