बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पछिल्लो ६ महिनामा गण्डकीबाट ४० हजार युवा बिदेशिए

पछिल्लो ६ महिनामा गण्डकीबाट ४० हजार युवा बिदेशिए


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १२ २०८०, शनिबार

बागलुङ/ चालु आर्थिक बर्षको ६ महिनामा गण्डकी प्रदेशका ४० हजार युवा बैदेशिक रोजगारीमा गएका छन् । उनीहरु श्रम स्विकृति लिएर खाडी मुलुकमा गएकाहरु हुन् । युरोप, अमेरिका र अष्ट्रेलिया जानेहरुको तथ्यांक यहाँ छैन ।

ती मध्ये सबैभन्दा धेरै तनहुँका मात्रै ६ हजार २ सय ४९ जना गएका हुन् भने स्याङजाका ६ हजार ६८, नवलपुरका ५ हजार ५ सय ३ र बागलुङका ५ हजार १ सय २३ जना छन् । त्यसपछि गोरखाका ४ हजार ५ सय ७१, कास्कीका ४ हजार ६ सय ५, लमजुङका ३ हजार २ सय ४४ जना गएको तथ्यांक छ ।

त्यस बाहेक पर्वतका २ हजार ६ सय ३०, म्याग्दीको १ हजार ८ सय ५१ छन् भने हिमालपारीको जिल्ला मुस्ताङका ९३ र मनाङका ६७ जना बैदेशिक रोजगारीमा गएको आप्रवासी श्रोत केन्द्र सामीका कार्यक्रम अधिकृत शिव रेग्मीले जानकारी दिए ।

स्वदेशमा रोजगारीको अबसर नदेखेपछि उनीहरु श्रमिकको रुपमा खाडी देशमा गएका हुन् । यसरी खाडीमा काम गर्न जानेहरु अधिकांस अर्धदक्ष र अदक्ष कामदार भएको उनले बताए । ‘हामीले कतिपयलाई तालिम दिएर पठाउन थालेका छौं’ उनले भने, ‘तर धेरैले अझै सीप सिक्नुपर्छ भन्ने नबुझेको पाइयो ।’ सीप नसिकेको, आफन्तको नाउँमा पहिलेनै रकम दिएको तथा बिदेशमा पुगेपछि पनि ठगिएका घटना दिनानुदिन बढेको उनले बताए ।

रोजगारीमा पुगिसकेपछि ठगिनेहरु बढी हुँदा सामीले राहदानी बनाउनासाथ तालिमको अबसरमा लैजाने, श्रम स्विकृति लिएर मात्र जाने गरी युवाहरुमा अभिमूखीकरण गर्ने काम गरिरहेको छ । त्यस बाहेक गाउँमा रहेकै बेला उनीहरुलाई सही सल्लाह दिनकालागि वडा सदस्य लगायतका जनप्रतिनिधि, टोल बिकास संस्थाका पदाधिकारी र समाजसेवीलाई अभिमूखीकरण गरेको रेग्मीले जानकारी दिए ।

‘यति ठूलो संख्या बिदेशमा गैरहेको छ, त्यसैले घर घरको समस्या हो भन्ने बुझाउन सबैलाई अभिमूखीकरणमार्फत सचेतना जगाउन खोजेका छौं’ उनले भने, ‘यो डरलाग्दो अबस्थालाई चिर्न नसकेमा भोलीका दिनमा झनै समस्या आउने छ ।’

जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी श्रोत केन्द्रमार्फत काउन्सिलिङ गर्दै आएकोले कतिपयलाई ठगिनबाट जोगाएको, दुर्घटनाबाट जोगाउन सकिएको केन्द्रका प्रमुख मीनप्रसाद उपाध्यायले बताए । ‘कतिपय बिदेशमा मृत्यु भएर शव ल्याउन नसकेको अबस्था भएकालाई हामीले साथ दिएका छौं’ उपाध्यायले भने, ‘पाउनुपर्ने राहतका लागि दलाली गर्नेले खाने अबस्थाबाट परिवारको सदस्यलाई दिलाएका छौं ।’

बैदेशिक रोजगारीमा जाँदा श्रम स्विकृति लिनुपर्ने र कागजात घरका सदस्यलाई दिने बानी बसाल्न उनले आग्रह गरे । कुनै घटना भैहालेमा पनि तत्काल केन्द्रमार्फत उजुरी गर्ने र उपचारको खोजी गर्न सल्लाह दिन उनले जनप्रतिनिधिलाई समेत आग्रह गरेका छन् ।

शुक्रबार परियोजनाले आयोजना गरेको कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले सुरक्षित रुपमा मात्रै बिदेश जान आग्रह गरे । त्यसअघि सीप अनिवार्य सिक्नुपर्ने भन्दै हरेक नागरिक, जनप्रतिनिधि र सामाजिक अगुवाले युवालाई सोही अनुसारको सुझाव दिन आग्रह गरेका थिए ।

कार्यक्रममा सामी परियोजनाकी गण्डकी प्रदेश प्रमुख उमा शर्मा र कार्यक्रम संयोजक शिव रेग्मीले प्रस्तुतीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->