बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

हलगोरु पाल्नेलाई जैमिनी नगरपालिकाको १० हजार अनुदान

हलगोरु पाल्नेलाई जैमिनी नगरपालिकाको १० हजार अनुदान


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १७ २०८०, बिहिबार

बागलुङ / जिल्लाको जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप १० हजार अनुदान दिने भएको छ । पालिकाले रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोगमार्फत् कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो ।

गोरु पाल्ने र गोरुसँगै खेतीपाती गर्ने किसान पहिचान गरी प्रोत्साहन उपलव्ध गराउन लागिएको पशु शाखा प्रमुख कृष्ण प्रसाद ढकालले बताए । दश वडा रहेको पालिकाबाट तीन सय जना किसानले प्रस्ताव पेश गरेका थिए । पेश भएका प्रस्ताव मध्येबाट चालु आर्थिक बर्षमा तीस जना किसानलाई जनही दश हजारका दरले प्रोत्साहन उपलव्ध गराइने छ ।

‘कृषिमा आधुनिक हाते ट्याक्टर भित्रिँदा स्थानीय स्रोत साधनको प्रयोग नै हरायो,’ ढकाल भने ‘गोरु पाल्ने संस्कृति घट्दा बालीका लागि आवश्यक मलमुत्र कमी हुने, बाहिरबाट ल्याएको तेलको प्रयोग बढ्ने भएकाले पनि गोरु पाल्न प्रोत्साहन गर्नुपरेको हो ।’

आधुनिक मेसिनको प्रयोगमा किसानको धेरै पैसा विदेशिने भएकाले गोरु पाल्दा त्यो रोकिने नगरपालिकाको विश्वास छ । ‘गोरुको प्रयोगले ढिला होला तर अनुत्पादक हुँदैन्, व्यावसायिक किसानलाई भन्दा आफ्नो लागि मात्रै उत्पादन गर्ने किसानका लागि मेसिनभन्दा गोरुको प्रयोग उपलव्धीमूलक हुन्छ,’ ढकाल तर्क गर्छन् । आवश्यक ठाउँमा प्रबिधिको प्रयोग र रैथाने तथा मितव्ययी परम्परागत शैलीलाई सँगसँगै लैजाने नीति नगरपालिकाले बनाएको छ ।

त्यस्तै, जैमिनी नगरपालिले बीऊको रुपमा राँगा पाल्ने किसानलाईसमेत प्रोत्साहन गर्न थालेको छ । मासु र दूधमा नगरलाई आत्मानिर्भर बनाउने लक्ष्य राखेको नगरपालिकाले बिउँका लागि राँगा पाल्ने किसानलाई प्रोत्साहन उपलव्ध गराउने भएको हो ।

चालु आर्थिक बर्षमा नगरका २० जना किसानलाई जनही दश हजार रुपैयाँका दरले प्रोत्साहन उपलव्ध गराउन लागिएको ढकालले बताए । हलगोरु र राँगा पाल्ने किसानको तथ्यांक तयार गरेर कार्यक्रमलाई निरन्तरता दिने नगरपालिकाको योजना छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->