म्याग्दी/म्याग्दी र कालिगण्डकी नदीको नदीको दोभानमा खोज तथा उद्धारको नमूना प्रदर्शनी गरिएको छ । सशस्त्र प्रहरी बलले ‘बाढी पहिरोमा उद्धार नमुना अभ्यास’ गरिएको छ । कालीगण्डकी नदीमा बाढी पहिरो आउँदा र नदीले बगाउँदा गरिने उद्धार, प्राथमिक उपचार र अस्पतालसम्म लैजाने विधिका बारेमा सहज र जोखिमपूर्ण उद्धारको अभ्यास गरिएको हो ।
पानीमा डुबेको व्यक्तिको खोजी गर्न गोताखोर, बाढीपहिरोले बगाएका तथा तुइनको माध्यमबाट खोचमा खसेका, प्राथमिक उपचारको विधि तथा मृतकको शब प्रहरी र पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको र विभिन्न उद्धारका अभ्यासहरु गरिएको थियो ।
शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा जिल्लाका जनप्रतिनिधि, सरोकारवाला निकाय लगायतको उपस्थितिमा बाढीपहिरो आउँदा कसरी र कुन कुन माध्यम उपयोग गरेर मानवीय तथा सोसंगै जोडिएका भौतिक संरचनाको उद्धार एवं सहयोग कसरी गर्न सकिन्छ भन्ने अभ्यास गरिएको सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक श्यामकुमार पौडेलले बताए । उनले म्याग्दी र कालिगण्डकी नदीमा यसअगाडी शसस्त्र प्रहरीकै टोलीले खोज तथा उद्धारमा खटिएको बताए ।
खोज तथा उद्धार अभ्यासको अवलोकनपछि बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले खेलेको भूमिका प्रशंसायोग्य भएको बताएका छन् । उनले म्याग्दी जिल्ला बाढीपहिरोको उच्च जोखिममा रहेकाले म्याग्दीलाई प्राथमिकतामा राखेर खोलाकिनारमा रहेका बस्तीहरुलाई संरक्षण गर्नुपर्ने बताए ।
आफ्नो प्राणलाई हत्केलामा राखेर तपाईहरु उद्धारमा रातदिन नभनी खटिने गरेको भन्दै विपद्जन्य गतिविधि नियन्त्रण तथा उद्धारमा जनशक्ती र बजेटको कमी हुन नदिने प्रतिबद्धता समेत जनाए । झण्डै डेढ घण्टाजतिको नमूना अभ्यासमा क्रममा नदीबाट उद्धार, उपचारलगायत विभिन्न अभ्यास गरिएको थियो । नमूना अभ्यासमा सशस्त्र प्रहरी, स्थानीय तहबाट खटिएका प्रतिनिधि लगायतका सहभागी थिए ।
यसैबीच गण्डकी प्रदेशको लाइफलाइन मानिनेबेनी–जोमसोम–कोरला राष्ट्रिय राजमार्गका साथै म्याग्दी, मुस्ताङ, बागलुङ, पर्वतमा विपद्को अवस्थामा खोज तथा उद्धार कार्यलाई छिटो बनाउने उद्देश्यले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन‘बेस’ (एकाइ) स्थापना समेत गरिएको अवस्थामा समुदायस्तरमा समेत विपद्मा समेत सहज हुने गरी म्याग्दीका स्थानीय तहबाट पाँच÷पाँच जनालाई विपद् व्यवस्थापनसम्बन्धी आधारभूत तालिमसमेत दिइएको छ ।
तालिमप्राप्त २५ सशस्त्र प्रहरीको टोलीको एकाइ स्थापना गरेपछि सशस्त्र प्रहरीको टोलीले पहिलोपटक सिमुलेशन गरेको सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरले जनाएको छ । म्याग्दीमा दुर्घटना, बाढीपहिरो, नदीमा डुबेकोको अवस्थमा बेपत्ता भएकाहरुको अवस्थामा खोज तथा उद्धारका लागि पर्वत, पोखरा र कुरिनटारबाट सशस्त्र प्रहरी बलको टोली खटिने गरेको थियो ।





