बागलुङ/बागलुङ नगरपालिकाको कृषि शाखा र गण्डकी प्रदेश सरकारको माटो तथा मल परीक्षण प्रयोगशालाको संयुक्त आयोजनामा माटो परीक्षण शिविर संचालन भएको छ ।
दुइ दिनसम्म चलेको शिविरमा बागलुङ नगरपालिका-१४ को नारायणस्थानमा भूगोलमै पुगेर तथा नगरपालिकामा अन्य वडाका किसानले ल्याएको माटो परीक्षण गरिएको हो ।
माटोमा हुने अम्लियपनको मात्रा, क्षरीयपन, नाइट्रोजन, फस्फोरस, पोटास र अर्गानिक म्याटर के कस्तो छ भन्ने पत्ता लगाउन माटो परीक्षण गरिएको कृषि प्राविधिक राहुल केसीले बताए ।
परीक्षणपछि भेटिएको तत्वको आधारमा किसानलाई उचित खेती गर्न सल्लाह दिने, आवस्यक मल प्रयोग अनुमति दिने, कतिपय मल तथा बीउ नगरपालिकाले अनुदान दिने र उन्नत तथा स्थानीय जातका कृषि फसलको उत्पादन बढाउने लक्ष राखिएको कृषि शाखाका प्रमुख सुवास सापकोटाले बताए ।
उत्पादनको अबस्था कमजोर हुँदा खेत बाँझो राख्ने चलन बढेको उनको भनाइ छ । उत्पादन राम्रो नभएकोले किसानहरु निरास भएको भेटिएपछि माटो परिक्षणमार्फत उत्पादन बढाउने लक्ष राखिएको हो ।
उनका अनुसार दुवै स्थानमा गरी २ सयबढी नमूना माटो संकलन गरी परीक्षण गरिएको हो । परीक्षणको अबस्थाबारे सम्बन्धित किसानलाई जानकारी गराएको र उत्पादनका लागि विभिन्न तािलम समेत संचालन गरिने भएको छ ।





