बागलुङ/अन्तराष्ट्रिय महिला दिवशकै अबसरमा बागलुङमा सचेतना ¥याली तथा मुल समारोह सम्पन्न भएको छ । अन्तरपार्टी महिला संजाल, बागलुङ नगरपालिका र सरोकारवाला संस्थाको आयोजनामा यसअघि नै गठन भएको मुल समारोहले कार्यक्रम गरेको हो ।
कार्यक्रममा गण्डकी प्रदेशसभा कानून न्याय तथा प्रदेश मामिला समितिकी सभापति चम्पा देवी खड्काले गठबन्धन राजनीतिक संस्कृतिले महिलाहरु पीडित भएको बताइन् । उनले राजनीतिक दलहरुले गठबन्धन गरेर उमेदबार उठाउँदा स्थानीय सरकारदेखि संघिय तहसम्म निर्वाचित हुने महिला न्युन भएको बताइन् ।
‘७ सय ५३ पालिकामा २५ जना महिला मात्रै प्रमुख हुने हो त ?’ उनले भनिन्, ‘अनिवार्य महिला भनेको भए आधाबढी महिला स्थानीय सरकारको प्रमुख बन्थे ।’ उनले राजनीतिक स्थायित्व अभावमा पनि महिलाहरुको अबस्था सुधार हुन नसकेको बताइन् । उनले हिंसाले महिला बालबालिका पीडित भएको स्मरण गर्दै राजनीतिक क्षेत्रमा स्थायित्व नहुँदा पनि पुरुषको एकत्व स्विकार्नु पर्ने अबस्था आएको बताइन् ।
गण्डकी प्रदेशकै माओवादी केन्द्रकी प्रमुख सचेतक कुशुम बुढा मगरले श्रम गर्ने महिलाको सम्मान नभएको, श्रमको उचित मूल्य नपाएको र उनीहरुलाई धर्मको नाउँमा पनि हिंसा गरिएको बताइन् । ‘अहिलेको हिंसा शारिरीक मात्र छैन, साँस्कृतिक रुपमा पनि छ’ उनले भनिन्, ‘महिलाहरु एकजुट भएमा ती समस्या समाधान गर्न सकिन्छ ।’ उनले श्रमिक महिलाको जीवनस्तर उकास्न नकसे दिवश मनाएको औचित्य नहुने बताइन् ।
मुल समारोह समितिका सहसंयोजक तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काको अध्यक्षता, अन्तरपार्टी महिला संजाल बागलुङकी अध्यक्ष सीतादेवी सापकोटा कंडेलको संचालन र बागलुङ नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलको स्वागतमा सम्पन्न कार्यक्रममा मानवअधिकार संगठनकी अध्यक्ष लक्ष्मीदेवी जिसी, नेपाल महिला संघकी अध्यक्ष शकुन्तला शर्मा, अनेमसंघकी अध्यक्ष लक्ष्मी बोहरा, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य लक्ष्मी बास्कोटा, सहायक प्रजिअ चित्राङगत बराल, महिला अधिकारकर्मीहरु निर्मला जिसी, लक्ष्मी बिक, लिला खड्का र पत्रकार कोपिला कंडेलले मन्तव्य राखेका थिए ।





