बागलुङ/अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रीय कार्यालय पोखराले बागलुङका सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरेको छ ।
अन्तरक्रियाको क्रममा बागलुङ नगर क्षेत्रका जनप्रतिनिधि, कर्मचारी, शिक्षक र प्रशासनको प्रतिनिधित्वमा सुशासन, सदाचार र लोकतन्त्रको रक्षाका लागि काम गर्न कार्यालयका प्रमुख अस्मान तामाङले बताए ।
उनले अख्तियारमा मुद्दा पर्छ की भनेर तर्सिने भन्दा पारदर्शी काम गर्ने हिम्मत राख्नुपर्ने बताए । उनले मुद्दा पर्छ भनेर बिकास निर्माणका काम रोक्नुभन्दा काम र भुक्तानी प्रकृयालाई पारदर्शी बनाउनुपर्ने सुझाव समेत दिए ।
उक्त अबसरमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले हरेक जनप्रतिनिधिलाई सुशासनका सूचकबारे जानकारी दिनुपर्ने बताए । ‘एउटा अधिकृतले काममा खटिनु अघि तामिल पाउँछ, तर जनप्रतिनिधिलाई जवरजस्ती कानून र प्रकृयामा लाग्नुपर्ने अबस्था छ’ श्रेष्ठले भने, ‘जनप्रतिनिधिले पनि काम गर्ने प्रकृयाबारे थाहा पाउनासाथ पारदर्शीता र सुशासनमा सहयोग पुग्छ ।’ कर्मचारीले ल्याएको कागजमा हस्ताक्षर गर्ने मात्रै हुँदा जनप्रतिनिधि फस्ने क्रम बढेको उनले बताए ।
श्रेष्ठले बिकास गतिशिल र नरोकिने काम भएपनि त्यसको कानूनी प्रकृयाबारे प्रष्ट नहुँदा काममा अबरोध आएको बताए । जनप्रतिनिधिले आँटेपनि कर्मचारीले कानूनी अड्चन देखाउने र रोक्ने क्रम समेत रहेको उनको टिप्पणी थियो ।
नगर उपप्रमुख राजु खड्काले कामले गति लिन नसकेको बताए । अख्तियारमा परिन्छ की भन्ने डरैडरमा काम गर्ने पद्दती रहेसम्म थालेका कामहरु अलपत्र पर्ने धारणा राखे । उनले नगरभित्रका भ्रष्टाचार न्युनिकरणमा पहल गर्ने र प्रभावकारी अनुगमन गर्ने पनि स्पष्ट पारे ।
अन्तरक्रियामा जनप्रतिनिधि र कर्मचारीले काम गर्दा भएका अप्ठ्याराहरु जानकारी गराउँदै अख्तियारमा उजुरी परेपछि काम गर्न ठप्प भएका घटना सुनाएका थिए । जवाफमा तामाङले अख्तियारमा उजुरी परेको र आफ्नो अनुसन्धान जारी राख्ने तर कामको गतिलाई रोक्न नखोजेको जानकारी दिए ।





