बागलुङ/सोमबार बिहान १० बजे एकाएक भुकम्पको धक्का आयो । बागलुङ नगरपालिका १ मा मल्ल निवास भत्कियो । तीन जना घरभित्रै भग्नावसेसमा फसे ।
त्यसपछि घरमुलीले प्रहरीमा खबर पठाए । प्रहरीको खोजी तथा उद्दार टोली तत्काल आयो । रुखमा डोरी बाँधेर तीन तला माथी पुगेका दक्ष टोलीले डोरीकै सहायताले घाइतेको आकम्मिक उद्दार गरे । तत्काल उपचारका लागि अस्पताल लगेपछि उनीहरु बाँच्न सफल भए ।
पक्की घरभित्र फसेकालाई प्रहरीको विशेष अपरेशन टोली आएर कंक्रिडको पर्खाल काटेपछि दुइ जना घाइते निकालेर उपचारमा पठाइयो । प्राथमिक उपचारको टोली उद्दारमै आएर उनीहरुलाई मलमपट्टी लगाएपछि मात्र अस्पताल पु¥याइएको थियो ।
साँढे १० बजेको समयमा ‘चटपटे भट्टी पसल’बाट यहाँको बस्तीमा आगो सल्कियो । नजिकका चार घर जल्न शुरु भए । हारगुहारपछि छिमेकी एक युवाले प्रहरीलाई खबर पठाए । तत्कालै आएको प्रहरी टोलीले आगोको मुस्लोमा घाइते भएका र धुँवाले बेहोस भएका दुइ युवालाई उपचारका लागि एम्बुलेन्समा राखेर धौलागिरि अस्पताल पठायो ।
घरमा सल्केको आगो दमकलको प्रयासले निभाइयो । घरभित्र बचेखुचेका अन्न र कपडा निकालेर छुट्टयाइयो । आफन्त घाइते भएकोमा रोइकराइ गरेकालाई सम्झाउने, पानी पिलाउने काम पनि प्रहरीको टोलीले ग¥यो । उपचार, खोजी र उद्दारमा खटिएका प्रहरीले आँफै एम्बुलेन्स, बिरामी उठाउने स्ट्रेचर र अन्य उद्दारका सामाग्री समेत ल्याएका थिए । ‘पहिला आफू सुरक्षित भएर घइते र बिरामीको उपचार र उद्दारमा खटिनुपर्छ’ प्रहरी निरीक्षक दिपकबाबु केसीले भने, ‘जनताको जनधनको सुरक्षा गर्दा आफ्नो पनि सुरक्षामा ध्यान दिन सुरक्षाकवच लगाएका छौं ।’
यी दुवै घटना कृतिम थिए । बागलुङ नगरपालिका वडा नंं १ को बाङगेचउर मैदानमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय बागलुङ र गण्डकी प्रदेश बिपद व्यवस्थापन गुल्म बागलुङले संयुक्त रुपमा संचालन गरेको समुदाय खोज तथा उद्दार कार्यक्रममा ती कृतिम घटना देखाइएको हो ।
प्रहरीले स्थानीयलाई भूकम्प र आगोलागीबाट सचेत बनाउन केही दिनदेखि घटना अभ्यासको तालिम गरेको थियो । तालिममा प्रहरीसहित स्थानीय पनि सहभागि थिए । कृतिम घटनाको अभ्यासमा समेत समुदायका तालिमप्राप्त व्यक्तिहरु सहभागि थिए ।
घटनासंगै साइरन बजाएर कुँदेका एम्बुलेन्स र दमकलको भूमिका, प्रहरीको सक्रियता, घटनाबारे तत्काल सूचना दिने स्थानीयको दायित्व र सामाजिक अगुवाले खेल्नुपर्ने भूमिका बारेपनि अभ्यासमा प्रष्ट पारिएको थियो । ‘घटनामा कसैको मृत्यु भयो वा घाइते भयो भने उद्दार त गछौं, तर पीडितहरु रोएको, घटनास्थलमै जान खोज्दा थप दुर्घटना हुन सक्ने जोखिम व्यवस्थापनमा पनि प्रहरीले भूमिका खेल्नुपर्ने कुरा अभ्यासले देखाएको छ’ प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भने, ‘जुनसुकै बेला बिपत आउन सक्छ भन्ने सन्देश पनि यहाँ दिइएको हो ।’ घटना अभ्यास गर्दा सडकमा गुडेका गाडी र यात्रीले रोकिएर हेरेका थिए । कतिपयले आत्तिदै एकआपसमा कुरा समेत गरेका थिए ।
प्रहरीले हिउँदको समय भएकोले आगलागीको घटना समेत संगै अभ्यास गराएको प्रहरी उपरिक्षक ऋषिराम कंडेलले जानकारी दिए । त्यस बाहेक केही दिनदेखि भीरमा खसेका मानिसको खोजी उद्दार कसरी गर्ने, खोलामा डुबेको वा बाढी पहिरो आएमा के गर्ने जस्ता बिषयमा पनि प्रहरी, सशष्त्र प्रहरी र नेपाली सेनाले अभ्यासहरु गराइरहेका छन् । ती अभ्यासमा स्थानीय बासिन्दा, रेडक्रस र नागरिक समाजका अगुवालाई पनि सहभागि गराइएको छ ।





