बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

भीरको रुखले बचाएकाहरु !

भीरको रुखले बचाएकाहरु !


  • ढोरपाटन संवाददाता
  • चैत्र ७ २०८०, बुधबार

बागलुङ/इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विक सोमबार ग्रामीण गस्तीमा थिए । प्रहरी चौकी निसीखोलाका प्रमुख भोजबहादुर गुरुङसहित प्रहरी जवानहरुको समूह लिएर पूर्वीरुकुम र बागलुङको सिमाना पुगेको विक नेतृत्वको गस्ती बुर्तिबाङ फकिँदै गर्दा साँझ पर्न लागेको थियो ।

मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ पातिहाल्ने खण्डमा रात्री बस चलिरहेका थिए । पातिहाल्नेबाट निसीखोला गाउँपालिका–६ को सीप गस्ती नपुग्दै गस्तीमा रहेको प्रहरीलाई खबर आयो, ‘जाउलेपानीमा रात्री बस पल्टियो ।’ गस्ती सकाएर ब्यारेक फर्कँदै गरेको प्रहरी बीच बाटोबाटै फर्कियो । जाउलेपानी पुग्दा बस सडकदेखि एक सय ५० मिटर तल रुखमा अड्किएको अवस्थामा थियो ।

यात्रुहरु चारैतिर छरिएका थिए । निसीखोला प्रहरी चौकी प्रमुख भोजबहादुर गुरुङले भने, ‘कोही चिच्याइरहेका थिए, कोही रोइरहेका, कोही चुपचाप, हतारहतार नाढी छाम्यौँ, केहीको घटनास्थलमै मृत्यु भइसकेको थियो ।’ दुर्घटना भएको ठाउँदेखि निसीखोला प्रहरी चौकी झण्डै १५ किलोमिटरको दुरीमा छ भने इलाका प्रहरी कार्यालय पुग्न थप समय लाग्छ ।

संयोगवश गस्तीमा भएकाले प्रहरी टोली दुर्घटना भएको केही मिनेटमै दुर्घटनास्थल पुग्यो । गस्ती नभएको भए प्रहरी पुग्न समय लाग्ने थियो । समयमै घटनास्थल पुगेर घाइतेको ज्यान बचाउन सकिएको प्रहरीको भनाइ छ । ‘पहिल्यै मृत्यु भएकालाई त केही गर्न सकिएन्, घाइतेलाई तत्काल उद्धारमा लाग्यौँ । सहयोगका लागि स्थानीय पनि आउनुभयो । जिल्लाबाट थप प्रहरी परिचालन भइहाल्यो,’ उनी भन्छन् ‘नजिकैको खोलाबाट प्लाष्टिकमा पानी ल्याएर घाइतेलाई खुवायौँ, जतिसक्दो अस्पताल पु¥याउने काम भयो ।’

बस दुर्घटनामा घटनास्थलमै सात जनाले ज्यान गुमाए । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा थप दुई जनाको मृत्यु भयो । बागमती प्रदेश ०१–००६ख ३८७९ नं. को बस सोमबार साँझ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटना भएको थियो ।

दुर्घटना पछिको उद्धार र घाइतेको उपचारमा प्रहरी सहयोगी बन्यो । मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोलाको सीपदेखि उकालो लागेपछि पातीहाल्ने पुग्न कयौँ घुम्ती पार गर्नुपर्छ । घुम्ती नै घुम्ती रहेको सडक भिरालो जमिनमा बनेको छ । पक्की सडक भएकाले सवारीको गति स्वभाविक बढी हुन्छ, तर घुमाउरो भएकै कारण दुर्घटनाको जोखिम थियो नै ।

‘घुम्ती मोड्न नसकेकै कारण बस खसेको जस्तो देखिन्छ, बाँकी अनुसन्धानकै पाटो भयो’, गुरुङ भन्छन् ‘समयमा उद्धार हुनु र खर्सुँको रुखले बस अड्याउँदा बसमा सवार धेरैको ज्यान जोगिएको देखिन्छ ।’ १५० मिटर तल खस्नुअघि बसले दुई गुराँस र दुईवटा खर्सुँका रुख भाँचेको छ । जहाँ बस अडियो त्योभन्दा तल खसेको भए थप दुईसय मिटर तलसम्म भीरालो जमिन भएकाले बस रोकिने अवस्था थिएन भन्छन् गुरुङ ।

दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट–१ का २७ वर्षीया विनिता केसी, रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका सवारी धनी बबिदेल नेपाली, मुसिकोट नगरपालिका–४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका–३ साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवास गौतम भनिने मानसिंह विक, गोर्खा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुमालबाराका २५ वर्षीय विक्रम परियारको मृत्यु भएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । हाल केही घाइतेको बागलुङस्थित धौलागिरि अस्पतालमा र केहीको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->