बागलुङ/दुइ बर्षअघि मात्र स्थापना भएको पर्यटन कार्यालय बागलुङमा योजनाबद्ध र बृहतभन्दा टुक्रे योजना बढी छन् । नगरपालिका र वडा तहले संचालन गर्ने जस्तै २ लाखदेखि ५ लाखका योजना संचालन हुँदा प्रभावकारी बन्न सकेको छैन ।
गण्डकी प्रदेश सरकारमार्फत चल्ने योजना सानो रकमको हुँदा प्रभावकारी नभएका हुन् । कार्यालयले ती योजना अधिकांस सम्झौता गरेर काम सक्ने अबस्थामा पुगेपनि ती प्रभावकारी भने नभएको टिप्पणी हुने गरेको हो ।
कुँडुले धामका लागि प्रदेश सरकारमार्फत २ लाख रुपैयाँको योजना परेको छ । सो योजना अनुसार त्यहाँको केही बिकास निर्माण भएपनि न्युन बजेटले उल्लेख्य प्रगती भने नदेखिएको हो । पञ्चकोटका लागि ५ लाख रुपैयाँ मात्रै छ । सो रकमले अर्बौको योजनामा उपलब्धी शुन्यजस्तै देखिने बानपा ६ का अध्यक्ष रुद्रबहादुर केसीले बताए ।
बागलुङकै राधामाधव आध्यात्मिक पर्यटन प्रवद्र्धनका लागि १० लाख रुपैयाँ बजेट छ । नगर भित्र ६ वटा मठमन्दिरका लागि बजेट बिनियोजन भएकोमा सबै सम्झौता भएर काम गरिरहेका छन् । ठूलो रकमको रुपमा २५ लाख रुपैयाँको लागतमा जिल्ला प्रवेशद्वार नजिकै लक्ष्मी नारायण मन्दिर निर्माण गरिएको छ । उक्त योजना पर्यटन कार्यालय बागलुङले फरफारक पनि गरिसक्यो ।
त्यसमा पनि धार्मिक क्षेत्र र पदमार्ग निर्माणमा मात्रै पर्यटन कार्यालयको बजेट बिनियोजित छ । बरेङ गाउँपालिकामा त ३ वटा योजना परेकोमा तीनवटै मठमन्दिरका लागि छन् । छत्रदेव मन्दिरका लागि ५ लाख, साग्दी सत्यवती मन्दिर पूर्वाधार निर्माण गर्न १० लाख र खाल्टा मुसुन्धराहुँदै शान्ति सत्यवती मन्दिर पुग्ने पदमार्गका लागि पनि थप १० लाख बजेट छ । ती सबै धार्मिक कामका लागि नै खर्च भएका हुन् । त्यस बाहेक काठेखोलामा रामकोट मन्दिर र गणेश मन्दिरका लािग बजेट छ । सबै बजेटहरु ५ लाख रुपैयाँका मात्रै छन् ।
पदमार्गका लागि बागलुङ नगरभित्र मात्रै १० योजना छन् । हरेक स्थानमा सिंढी बाटो बनाएर पदमार्ग नामाकरण गरिएको छ । सबै सिंढी सिमेन्टबाट बनेका छन् । तर पछिल्लो समय अधिकांस स्थानमा सडक पनि सँगै पुग्दा ती सिंढीमार्गहरु प्रयोगबिहिन जस््तै छन् । जैमिनीमा १० वटा, काठेखोलामा १२ वटा, गलकोटमा ६ वटा र बडिगाडमा ४ वटा पदमार्ग बनेका छन् । ढोरपाटन नगरपालिकाले ४, ताराखोलाले २ र निसीखोलाले २ वटा पदमार्गमा बजेट लगानी गरेको छ ।
पर्यटन कार्यालयका योजना शाखाका बरिष्ठ सहायक नारायणप्रसाद रिजालका अनुसार बागलुङमा ७६ योजना पर्यटनतर्फ सूचिकृत छन् । ती मध्ये ५० वटा योजना पदमार्गका र १२ वटा मन्दिर निर्माणका हुन् । ‘जस्तो खालको माग आयो सोही प्रकारको मन्त्रालयमा पठाएका थियौं’ रिजालले भने, ‘सूचिकृत भएका योजना समयमा सक्ने लक्षमा छौं ।’ योजना मन्त्रालयबाट परेकोले कार्यालयले कार्यान्वयन मात्रै गर्ने रिजालले जानकारी दिए ।
सानो बजेट र धार्मिक मठमन्दिर तथा पदमार्गमा मात्रै बजेट बिनियोजन गर्दा उपलब्धी न्युन हुने सरोकारवालाले बताए । ‘स–साना योजनामा लगानी गरेर उपलब्धी नै हुँदैन, नगरको भन्दा थोरै रकम प्रदेशबाट लगानी गरेर परिणाम दिन गाह्रो हुन्छ’ बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले भने, ‘प्रदेश सरकारले न्युनतम कति रकम खर्चने भन्ने नै स्पष्ट भएन ।’
नगरको भन्दा ठूला योजना र पर्यटन प्रवद्र्धन हुने खालका योजना संचालन गर्नुपर्नेमा मन्दिर र पदमार्गमा मात्रै लगाइएको उनले बताए । पहिलो चरणमा पर्यटन प्रवद्र्धनका लागि प्रचार प्रसार बढी हुनुपर्ने उनको तर्क छ । पर्यटनका नाउँमा मन्दिर बनाउने र सिमेन्टका पूर्वाधार बनाउने भन्दा त्यसको महत्वबारे प्रचार गर्न सकेमा फाइदा लिन सकिने उनको धारणा छ ।
फरक योजनाको रुपमा ताराखोलामा १५ लाख लागतमा सहिद स्मृति पार्क निर्मण गर्न बजेट छ । उक्त बजेटले गाउँपालिका भित्रका २५ जना सहिदको शालिक निर्माण गरेर पार्क भित्र राख्ने लक्ष छ । त्यसका लागि गाउँपालिकाको पनि आफ्नै थप बजेट समेत परिचालन भएको छ ।
तमानखोलाले एउटा मात्रै योजना संचालन गरेको छ । सोलेडाँडा देउराली बृहत पर्यटकीय पूर्वाधार निर्माण योजना संचालित छ । मन्त्रालयले १० लाख लगानी गरेपनि त्यहाँ गाउँपालिकाले थप रकम लगाएर बृहत योजना बनाएको हो ।





