बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

फेरि प्रतिष्पर्धामा दुई पूर्वमुख्यमन्त्री

फेरि प्रतिष्पर्धामा दुई पूर्वमुख्यमन्त्री


  • ढोरपाटन संवाददाता
  • चैत्र १० २०८०, शनिबार

पोखरा/नेकपा एमालेको कास्की जिल्ला अधिवेशन आजबाट सुरु हुँदैछ । पोखरा ९ नयाँबजार स्थिति प्रदर्शनी केन्द्रमा ११ औं जिल्ला अधिवेशन हुन लागेको हो ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले कास्की अध्यक्ष मानबहादुर गुरुङले एक सय २० कार्यसमितिका लागि निर्वाचन हुने जानकारी दिए । दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने र त्यसका लागि सकेसम्म सर्वसम्मतको प्रयास रहने गुरुङले जानकारी दिए । अधिवेशनको पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।
अध्यक्ष गुरुङले यो अधिवेशनले एकताको सन्देश दिने बताए । पार्टीभित्र गुटको राजनिति भइरहँदा उनले त्यसलाई ढाकछोप गर्दै गुटबन्दी नहुने बताएका हुन् । पत्रकारले पार्टीमा सद्यैँ गुटबन्दी कार्यकर्ताले कहिले पार्टी एक भएको देख्न पाउछन भन्ने प्रश्नमा उनले कुरा घुमाई जनवादको सिद्धान्त र लोकतन्त्रमा सबैले आफ्नो आकांक्षा देखाउन सक्ने सुनाए ।
‘हामी जनसागर भएको पार्टी हौं यहाँ आकांक्षा गर्ने धेरै हुन्छन् । जो पनि यसको आकांक्षा हुन सक्छन तर, कुरा के हो भन्दा हामी सर्वसम्मत नेतृत्व चयन गर्नेतर्फ छौं’ उनले भने, ‘अधिवेशनलाई ऐतिहासिक र सफल बनाउने पक्षमा हामी छौं । ११ औं अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।’
अधिवेशनमा कास्कीका ७२ वडा, जनसंगठन, सल्लाहकार परिषद, तीन इलाका कमिटीका शाखा कमिटी, आयोजक कमिटी गरि कुल ९३५ जना प्रतिनिधिको सहभागिता रहने अध्यक्ष ानबहादुरले जानकारी दिए ।
यस्तै शुक्रबार नै एमालेको गतिविधिलाई प्रचार प्रसार गर्ने उद्धेश्यका साथ अनलाइन पोर्टलको समेत सार्वजानिक गरिएको छ । अधिवेशन सफल पार्न विभिन्न कमिटीको समेत गठन गरिएको छ ।
प्रतिष्पर्धा दुई पूर्वमुख्यमन्त्रीको
गुटबन्दी गर्दैनौँ भनेर भनिरहेतापनि कास्की एमालेभित्र दुइवटा गुटको प्रतिष्पर्धा हुने विषय ओपन सेक्रेट नै हो । दुवै गुट अध्यक्ष केपी शर्मा ओलीनिकटकै हुन । एउटा गुटको नेतृत्व एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गर्छन भने अर्को समूहको नेतृत्वकर्ता चाहिँ संगठन विभागका पूर्वप्रमुख खगराज अधिकारीले गर्छन ।
अर्को रोचक संयोग के छ भने यी दुवैजना गण्डकीका पूर्वमुख्यमन्त्री हुन ।
कास्कीका अधिकारी र लमजुङका गुरुङ बिचको तिक्तता पछिल्लो समय झनै झाँगिएको छ । गत असोजमा भएको प्रदेश कमिटी अधिवेशनलाई दुवै समूहले प्रतिष्ठाको विषय बनाए । यतिसम्म कि अधिकारी पक्षबाट अध्यक्षका उमेदवार भनिएका मायानाथ अधिकारीलाई सघाउन भित्री रुपले एमाले महासचिव शंकर पोखरेल नै लागेका थिए । गोप्य तरिकाले पोखरा आएका उनले मायानाथ अधिकारीलाई अध्यक्ष बनाउनका लागि एमाले नेता किरण गुरुङ लगायतलाई फकाउने काम गरेका थिए ।
तर, निर्वाचन पछिको परिणाम सार्वजनिक हुँदा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षले लगभग क्लिन स्विप नै ग¥यो । अध्यक्ष लडेका नवराज शर्मासहित पदाधिकारी देखि धेरै सदस्यहरुमा गुरुङ पक्षले जित हासिल ग¥यो ।
गुरुङ र अधिकारीको प्रतिष्पर्धा त्यो भन्दा अझै अगाडिको हो । जतिबेला पृथ्वीसुब्बा गुरुङ गण्डकीको मुख्यमन्त्री बने, अधिकारी चाहिँ प्रतिनिधीसभा सदस्य जितेर काठमाण्डौमा थिए ।
प्रदेश राजधानी पोखरामा गुरुङले मुख्यमन्त्री भएको बेलामा निकै सक्रियता देखाए । चाहे त्यो महानगर कमिटीको चुनाव होस वा जिल्लाको । उनको सक्रियताले काम पनि ग¥यो ।
केही दिन अड्किएपछि २०७८ साल पुष २८ गते मतपरिणाम सार्वजनिक हुँदा कास्की जिल्ला अध्यक्षमा गुरुङ पक्षधर उमेदवार मनबहादुर गुरुङले चुनाव जिते । त्यतिबेला एमालेले चुनाव नगर्न र सहमतिका माध्यमबाट नेतृत्व चुन्न सर्कुलर नै गरेको थियो । उक्त सर्कुलर विपरित भएको चुनावमा गुरुङ पक्षले अध्यक्ष र उपाध्यक्ष जित्दा अधिकारी पक्षबाट सचिव र उपसचिव निर्वाचित भएका थिए ।
दुई वर्ष अगाडि गृहजिल्लामा पाएको अप्रत्यासित नतिजा यसपटक कुनै हालतमा फर्काउने तयारीमा अधिकारी पक्ष छ । सबै पदाधिकारीको टुंगो नलागेतापनि अध्यक्षमा वर्तमान सचिव बैनबहादुर क्षेत्री यो समूहबाट अध्यक्षको उमेदवार बन्ने पक्का छ । उपसचिव दर्शन लामा सचिवका निर्विरोध उमेदवार हुन ।
कुल ९३५ जना प्रतिनिधीले भाग लिने यस चुनावमा जितका लागि कम्तीमा ४६८ मत चाहिन्छ । अधिकारी समूहले यही हप्ता छानिएका ९३५ प्रतिनिधीमध्ये ७० प्रतिशत आफ्ना रहेको दाबी गरेको छ ।
“प्रदेशको चुनावमा हाम्रो क्यालुकेलसनमा प्राविधिक कमजोरी देखिए, हामीले त्यसबाट पाठ सिकेका छौँ । निकै सूक्ष्म तरिकाले प्रतिनिधीहरु आएका छन । हाम्रो पक्षमा खुलेरै लाग्ने प्रतिनिधी ७० प्रतिशत छन । चुनाव जितिन्छ, सहमति भए ठिकै छ, होइन भने त हाम्रो प्राथमिकता चुनाव नै हो ।” अधिकारी पक्षमा खुलेका एक सदस्यले भने ।
केन्द्रिय सदस्य कृष्णबहादुर थापा देखि बैनबहादुर क्षेत्री, दर्शन लामाहरुले यो समूह अगाडि बढाइरहेका छन । एमाले गण्डकी संसदीय दलका नेता समेत रहेका खगराज अधिकारी भने शुक्रबार काठमाण्डौ पुगेर पोखरा फर्किएका छन ।
उपमहासचिव पृथ्वीसुब्बा गुरुङ गण्डकीको राजधानी समेत रहेको कास्कीको अधिवेशनमा नआउने कुरै भएन । योे समूहलाई एमाले नेता जगत विश्वकर्मादेखि केन्द्रीय सदस्य भीम कार्की, मिनाकुमारी गुरुङले हाँकिरहेका छन ।
दुइवर्ष अगाडि अध्यक्ष र उपाध्यक्ष जितेको यो समूहले अहिले पदाधिकारीदेखि सबै सदस्यहरुलाई जिताउन लागिपरेको छ ।
यो समूहले भने दुइवटा रणनीति अख्तियार गरेको छ, एउटा सर्वसम्मतिमा जाने र आफ्ना मान्छेलाई नेतृत्वमा ल्याउने, दोश्रो चाहिँ निर्वाचनमा जाने आफ्नै मान्छे जिताउने ।
गुरुङ समूहले यी दुइवटा रणनीतिलाई म्याग्दी मोडेल र गोरखा मोडेल भन्न रुचाउँछ ।
माघको दोश्रो हप्ता म्याग्दी एमालेको अध्यक्षमा बालकृष्ण सुवेदी सर्वसम्मत भए । म्याग्दीमा गुरुङ निकटका अध्यक्ष मात्र होइन सदस्यमा पनि सबै आफ्नै मान्छे राखे ।
फागुन अन्तिम हप्ता गोरखामा निर्वाचन भयो । तुलनात्मक रुपमा एमाले कमजोर मानिएको गोरखामा अधिकारी पक्षले सर्वसम्मतिमा जाने विषयलाई प्राथमिकतामा राखेका थिए । तर, प्यानल नै बनाएर निर्वाचन भयो । गोरखामा निर्वाचन गराउनुको अर्को पनि कारण छ । पृथ्वीसुब्बा मुख्यमन्त्री हुँदा उनको क्याबिनेटमा भौतिकमन्त्री थिए, गोरखाका रामशरण बस्नेत । आफ्नै क्याबिनेट सदस्यले प्रदेश कमिटीको निर्वाचनसम्म आइपुग्दा भने गुट फेरे, अधिकारी कित्तामा उभिए ।
त्यसको रिस फेर्न भएपनि र गृहजिल्लामा नै बस्नेतलाई आफ्नो पावर देखाउन पृथ्वीसुब्बा समूह प्यानल बनाएर निर्वाचनमा होमियो ।
अन्ततः के थियो र, अध्यक्ष सुरेन्द्रबहादुर थापादेखि उपाध्यक्ष सहित पदाधिकारी र सदस्य सबै गुरुङ समूहले नै क्लिन स्विप ग¥यो ।
यी दुइवटा मोडालिटी मध्ये जुनसुकैमा जान आफूहरु तयार रहेको गुरुङपक्षीय नेता बताउँछन ।
यो समूहबाट एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी र माधव बास्तोला अध्यक्षको लाइनमा छन । बास्तोला अध्यक्षमा उठेको खण्डमा अधिकारीलाई तत्कालका लागि प्रदेश कमिटीको कार्यालय सचिवदेखि लिएर अर्को निर्वाचनमा प्रदेशसभा सदस्य बनाउनेसम्मका विकल्पबारे छलफल भइरहेका छन ।
“सकेसम्म सर्वसम्मतीको प्रयास गर्ने हो, नभए चुनावमा नै जाने हो । यसअगाडिका निर्वाचनमा हाम्रो तथ्यांक सटिक थियो । अहिले पनि प्रतिनिधी संख्या हामीले नजिकबाट हेरेका छौँ ।” एक नेताले भने ।
अधिकारी समूह अहिले देखि नै हतोत्साहित बनिसकेको ती नेताले बताए ।
एक दृष्टान्त दिँदै उनले भने, “केही दिन अगाडि पोखराका वडाध्यक्षहरुको स्वस्फूर्त भेटघाट थियो । उहाँसँग (खगराज) १७ वडाध्यक्षहरु मात्र उपस्थित भए, अरु आएनन । पृथ्वीसुब्बालाई चाहिँ रुचि थिएन । तर, वडाध्यक्षहरुले बोलाएपछि उहाँ काठमाण्डौबाट आउनुभयो, त्यो भेलामा २६ जना वडाध्यक्ष उपस्थित थिए, २÷३ जनाले कामका कारण र स्वास्थ्य कारणले भेट्न नसेकेको बताउनुभयो । यहीँबाट नै प्रष्ट हुन्छ नि ।”
यो मात्र नभएर पालिका देखि जनसंगठन सबैमा आफ्नो पडक रहेको उनले बताए । अधिकारीको भनिएको रुपा देखि, मादी, पोखरा सबैमा आफ्नै प्रतिनिधी बढि आएको यो समूहको दाबी छ ।
“अहिलेको जिल्ला कमिटीमा हामी नै बढि छौँ, मजदुर संगठनमा हाम्रै बाहुल्य छ, विद्यार्थीमा चाहिँ अलिकति हाम्रो कम छ ।” उनले भने, “प्राकृतिक न्यायको सिद्धान्त अनुसार तेजनारायण अधिकारी पनि बलियो उमेदवार हो, तर वर्तमान परिस्थितीसँग सामना गर्नको लागि माधव बास्तोला पनि उत्तिकै क्षमतावान उमेदवार हो । बन्दसत्र सुरु हुनासाथ हामीले टुंगो लगाउनेछौँ ।”

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->