बागलुङ/मोबाइल लिन गएकी बालिकालाई जवरजस्ती करणी गरी गर्भवती बनाउनेबिरुद्ध प्रहरीमा जाहेरी परेको छ । निसीखोला गाउँपालिका–१ घर भइ झिंवाखोलामा मोबाइल पसल गरेर बसेका ३० बर्षका बिजय मल्लबिरुद्ध पीडितले प्रहरीमा जाहेरी दिएका हुन् ।
जवरजस्ती करणीमा परेको ९ महिनापछि मात्रै पीडित बालिका र उनको परिवारले बागलुङ आएर जाहेरी दर्ता गरेका हुन् । मानवअधिकार संगठन बागलुङकी अध्यक्ष लक्ष्मीदेवी जिसीको सहयोगमा उनीहरुले जाहेरी दर्ता गरेका हुन् ।
९ महिना अघि ती बालिकाको मोबाइल बिग्रेर बनाउन आउँदा भोलीपल्ट बोलाएका मल्लले बाटोमा ढुकेर जवरजस्ती गरेको पीडितको जाहेरीमा उल्लेख छ । मोबाइल बनाएको पैसा नलिने शर्तमा घटना लुकाउन लगाएका मल्लले बालिका गर्भवती भएपछि भने पैसा दिएर गर्भपतन समेत गराउन लगाएका थिए ।
गर्भपतन गर्ने समय ढीला भएर फर्केका पीडितले उजुरी गर्न खोज्दा मल्लले समुदायलाई समेत प्रभावमा पारेर घटना बाहिर ल्याउन दिएका थिएनन् । शुक्रबार मात्रै पीडितले बागलुङ आएर उजुरी गरेका हुन् । दिउँसो उजुरी गरेकी बालिका शनिबार बिहान ३ बजे सुत्केरी भएकी छिन् । बालिकाले धौलागिरि अस्पतालमा छोरी जन्माएकी छिन् । २.१ केजीको छोरी र आमा स्वस्थ्य रहेको बरिष्ठ नर्स अधिकृत देवी भट्टराइले जानकारी दिइन् ।
पीडितलाई बुटवल लगेर गर्भपतन गराउन मल्लले दबाव दिएको पीडितका परिवारले जानकारी दिए । बुटवल लगेर गर्भपतन गराउन मल्लले पीडितको खातामा पैसा समेत दिएका थिए । पीडित बालिकाले ढीलागरी घरमा जानकारी गराएकोले गर्भपतन गराउने समय सकिएको थियो ।
अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)मा राखेर ती बालिका र शिशुको उपचार तथा रेखदेख भैरहेको छ । उक्त केन्द्रमा बस्दा खाने, बस्ने र उपचार सबै निशुल्क हुने व्यवस्था छ । ती बालिकाको स्वास्थ्य पनि राम्रो भएकोले बागलुङमै उपचार हुने भट्टराईले जानकारी दिइन् । शिशुको तौल भने सानो भएकोले चिकित्सकले बिशेष निगरानीमा राखेर उपचार गराइएको छ ।
ती बालिकाका परिवारले शुक्रबार मात्रै मल्लबिरुद्ध जवरजस्ती करणीको जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपकबाबु केसीका अनुसार जाहेरी परेका मल्ल फरार छन् । स्थानीय तहका जनप्रतिनिधि समेतले पीडितको न्याय र पीडकलाई कारवाहीमा साथ दिने बताए ।
बिद्यालयमा पढ्दै गरेकी ती बालिकालाई पीडक मल्लले शिक्षकमार्फत पनि दबावमा राख्न खोजेको छिमेकीले बताए । ‘शिक्षकबाट बेलाबेला आउने फेसबुक स्टाटसले पीडितलाई दबाउन खोजेको देखिन्थ्यो’ गाउँपालिका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरले भने, ‘थप दुर्घटना हुन नदिन पीडितको पक्षमा लागेर सहयोग गरेका छौं ।’
पालिकाले बालबिबाहबिरुद्ध सचेतना कार्यक्रम समेत गरिरहेको छ । सोही समयमा अन्य बिद्यार्थीले पनि यो घटनाबारे चर्चा गरेपछि पालिकाका जनप्रतिनिधिहरु सचेत बनेका हुन् । घटनाका दोषीलाई कारवाही गर्न पहल र सहयोग गर्ने समेत उनले बताए । सामाजिक र आर्थिक प्रलोभनमा परेर पीडित परिवारले घटना बाहिर ल्याउन नसकेको समेत उनको भनाइ छ ।
समुदाय तहका अगुवाले यो घटना बाहिर नल्याउन दबाव दिएपछि पीडित परिवार गर्भपतन गराउने बाटोमा हिंडेका थिए । पीडित बालिकाको गर्भपतन गराउने समय कटेपछि अस्पतालबाट फिर्ता भएकी थिइन् । यो घटना मानवअधिकार र बालअधिकारको समेत हनन् भएको मानवअधिकार संगठनकी अध्यक्ष लक्ष्मीदेवी जिसीले बताइन् । उनले पीडितको न्यायका लागि सहयोग चाहिएको पनि बताइन् ।





