पोखरा / बागलुङ समाज पोखराको अध्यक्षमा ठाकुरप्रसाद सापकोटा चयन भएका छन् । समाजको शनिवार सम्पन्न २३ औं वार्षीक साधारण सभा तथा १२ औं अधिवेशनबाट उनीसहित ११ सदस्यीय कार्यसमिति सर्वसम्मत् चयन भएको हो ।
समितिको उपाध्यक्षमा नरेश सुवेदी, सचिव, गंगा पुन, सहसचिव कोपीला श्रीष र कोषाध्यक्षमा बालकृष्ण सापकोटा चुनिए । यसैगरी सदस्यमा प्रकाश मल्ल, अनिल श्रेष्ठ, दुर्गाबहादुर खत्री, सुशील थापा, गोमा कार्की बास्कोटा र रमेश बिक सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक सुनिल पाण्डेले बताए । समाज बागलुङ जिल्लाबाट पोखरा आई बसोबास गर्नेहरुको विभिन्न एक दर्जन समाजको छाता संस्थाको रुपमा रहेको छ ।
यो कुनै पनि धर्म, वर्ण, लिंग, जात, समुदाय तथा राजनीतिक आस्थाका आधारमा कुनै पनि भेदभाव नगरी एकताको सुत्रमा आवद्ध गरी पारस्परिक रुपमा सामाजिक सद्भाव र सहयोग गर्दै विभिन्न कार्यक्रमको माध्ययमबाट सामाजिक, आर्थिक, सांस्कृतिक तथा बौद्धिक क्षेत्रमा योगदान पुराउने उद्देश्यले २०५७ मा स्थापना भएको संस्था हो ।
अधिवेशनको उद्घाटन गर्दै संघीय सांसद एवं पूर्वमन्त्री देबेन्द्र पौडेलले कुनैबेला बागलुङ उत्तरमा तिब्बत र दक्षिणमा भारतसम्मको व्यापारिक केन्द्र रहेको स्मरण गरे । जुनसुकै धर्म, बिचार, आस्था भए पनि बागलुङको बिकासमा साझा अभियानका रुपमा समाजले एउटा पुलको काम गर्नुपर्ने उनले बताए । ‘गतिशिल भएर समाज अघि बढ्नुपर्छ’ उनले भने, ‘सबै मिलेर नै जिल्लाको बिकास गर्नुपर्ने महत्वपूर्ण दायित्व छ । त्यसमा समाजले विशेष समन्वय गरी मुख्य भूमीका खेल्नुपर्छ ।’ जन्म दिने आमाबाबु र जन्मथलोलाई बिर्सिए मानवता सकिने भन्दै उनले समाजले जनसेवामार्फत सफल र सकरात्मक सन्देश दिनसक्नु पर्ने बताए ।
अहिले अधिकारको लडाइको एउटा च्याप्टरको अन्त्य भए पनि अझैपनि राजनीतिक परिवर्तनले पूर्णता भने नपाएको उनको भनाइ थियो । बिकास, समृद्धि, सामाजिक न्याय र मौलिक हकको पूर्ण कार्यान्वयनले मात्र देश उभो लाग्ने उनले बताए । पछिल्लो समयमा प्रयाप्त नभए पनि सुशासनको पक्षमा सरकारले चालेको कदमलाई केही सकरात्मक सन्देशको रुपमा उनले व्याख्या गरे । ‘सरकारको यो अभियानले दोषी नउम्किउन र निर्दोष नफँसुन’ उनले भने, ‘एकले अर्कोलाई सिध्याउने योजना बनाएर देशमा फेरी अस्थिरता निम्तिन दिनु हुदैन ।’
गण्डकी प्रदेशसभा सदस्यद्वय कृष्णप्रसाद पाठक र गोबिन्द नेपाली, पूर्व प्रदेशसांसद इन्द्रलाल सापकोटाले समाजले सम्पूर्ण बागलुङबासीलाई समेटेर जिल्लाको बिकासमासमेत टेवा दिनुपर्ने बताए । उनीहरुले पोखरा र जिल्लामा रहेका जिल्लाबासीको भावनालाई आत्मसात गरी कुनैपनि समस्या वा आपत्विपत्मा सहयोग गर्नुपर्नेमा जोड दिए ।
म्याग्दी पोखरा चौतारी समाजका सचिव गोकर्ण बरुवाल, बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जयराम आचार्य, पूर्वअध्यक्ष कुलचन्द्र शर्माले शुभकामना मन्तव्य राखेका थिए । उक्त अवसरमा समाजलाई विशेष योगदान पु¥याएको भन्दै पूर्वअध्यक्ष कुलचन्द्र शर्मा र विभिन्न महानुभावलाई सम्मान गरिएको थियो ।
समाजका अध्यक्ष डिल्लीप्रसाद शर्माको अध्यक्षतामा भएको उद्घाटन सत्रमा सचिव नरेश सुवेदी र कोषाध्यक्ष भवानी शर्माको आर्थिक प्रतिवेदन पारित भएको थियो ।





