बागलुङ/काठेखोला गाउँपालिका–२ भीमापोखराकी रुपा बिक घरपालुवा कुखुराको अण्डा जोहो गरिरहेकी छन् । दुई बर्षअघि आँफु सुत्केरी हुने बेला पोषण नपुग्लाकी भनेर उनी आबद्ध सिर्जनशिल स्वास्थ्य आमा समुहले ल्याएका पोषणयुक्त खानेकुरा उनलाई अहिले पनि झलझली याद आउँछ ।
रुपा सुत्केरी हुने बेला स्वास्थ्य स्वयंसेविका गीता हमालको नेतृत्वमा आमा समुहले घ्यु, अण्डा, तरकारी, गेडागुडी र चामल लगायतका पोषणयुक्त खाना लिएर भेट्न पुगेका थिए । अहिले उनको समुहका आठ सदस्य गर्भवती छन् । उनीहरुलाई भेट्न जाँदा आँफैले पालेका कुखुराका अण्डा उपहार लाने योजना रुपाले बताएकी छन् ।
भीमपोखरामा रहेको आमा समुहले समुहमा आबद्ध सदस्य तथा उनीहरुको घरपरिवारका सदस्य सुत्केरी हुँदा सामुहिक रुपमा भेट्न जाने पद्धती बिकास गरेको छ । भेट्न जाँदा कोही पनि खाली हात जान पाउँदैन् । तर समुहमा आबद्ध कसैलाई पनि कोशेली ल्याउन बाध्यकारी व्यवस्था छैन् । आमाहरु आँफैले गर्भावस्था र सुत्केरी अबस्थामा पोषणको कामी हुन नदिने सन्देश प्रवाह गर्ने र एकअर्कालाई सहयोग गर्नकै लागि आफ्नो घरमा जे छ त्यहीं कोशेलीको रुपमा लैजाने गरेका छन् ।
आमा समुहको अभ्यासले गर्भवती र सुत्केरीलाई पोषणयुक्त खाना खुवाउन निकै महत्वपूर्ण भुमिका खेलेको स्वयंसेविका गिता हमालले बताईन् । समूहको बैठक प्रत्येक महिनाको एकपटक आमा समूहका अध्यक्ष वा स्वयंसेविकाले खबर गरेको ठाउँ र समयमा बस्ने गरेको छ । बैठकमा सहभागिले हरेक महिना एक सय रुपैयाँ जम्मा गर्छन् । त्यही पैसा समुहमै लगानी गरेर अफ्ठेरो परेकालाई काम चलाउँछन् भने व्याज रकमबाट असहाय तथा विपन्न परिवारका सुत्केरीलाई पोषण पुर्याउनकै लागि सहयोग समेत गर्छन् ।
बैठक र सुत्केरी भेटघाटमा जाँदा आमा र बच्चाको स्वास्थ्य तथा पोषणसम्बन्धी धेरै कुरा थाहा पाएको समुहकी अध्यक्ष चन्द्रकला थापाले बताईन् । ‘आमा समूहको बैठकमा नियमित हुन्छ, सुत्केरी भेट्न जाँदा पोषणयुक्त खाना बोकेर जाँदा घरकै उत्पादन बोकेर जान्छौं’ उनले भनिन््, ‘बैठकमा जाँदा दिदीबहिनीसँग सुखदुःखका कुरा गर्न पाइन्छ ।’ गर्भावस्था र बच्चा स्याहार्ने बेला थुप्रै समस्या हुन्छन् । आफ्नो जस्तै भोगाइ भएका हजार दिने आमाहरूसँग भेटेर ती जिज्ञासाबारे मेटाउन पाईन्छ ।
यो समूहमा २० जना सदस्य छन् । बैठकमा समूहका सदस्यबाहेक अरू पनि आउने गरेका छन् । स्वास्थ्य र पोषणको विषयमा बुझ्न खोज्नेहरू समूहमा आउने गरेको उनले बताइन् । बजारिया खानपानभन्दा गाउँकै उत्पादन आमा र बच्चाको स्वास्थ्यका लागि राम्रो भन्ने सन्देश आमा समुहले गाउँभरि प्रवाह गरेको छ ।





