बागलुङ/धौलागिरि गण्डकी यातायात सेवा प्रालिले आइतबारदेखि पोखरासम्म चल्ने बिद्युतीय सवारी साधन (माइक्रोबस) संचालनमा ल्याएको छ । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले सवारी चालकलाई अबिर लगाएर यात्राको शुभारम्भ गराए । समितिले पहिलो चरणमा दैनिक दुइवटा माइक्रोबस बागलुङदेखि पोखरा र दुइवटा पोखरादेखि बागलुङका लागि छुट्ने व्यवस्था गराएको अध्यक्ष उमेश केसीले बताए ।
समितिले ५५ लाख रुपैयाँको लागतमा एउटा माइक्रोबस ल्याएको उनले जानकारी दिए । बिशेषगरी पछिल्लो समय डिजेल र पेट्रोलका गाडीबाट वातावरण प्रदुषणको प्रश्न उठीरहेको बेला इन्धनको खर्च कम गर्ने र वातावरणलाई स्वच्छ राख्ने लक्षले ती गाडी भित्राएको केसीको भनाइ छ ।
‘हामीले वातावरण संरक्षणमा पनि साथ दिने, उपभोक्ताको चाहना पनि पुरा गर्ने लक्ष बनाएका हौं’ केसीले भने, ‘अहिलेको चाहना पनि बिद्युतीय गाडीकै हो ।’ बागलुङदेखि पोखरा पुगेको ४ सय ५० रुपैयाँ भाडा लिने निर्णय भएको उनले बताए । सोही रुटमा यहाँका जिपले भने ५ सय ५० रुपैयाँसम्म भाडा लिने गरेका छन् ।
यो क्रमसंगगै समयमा छुटेर समयमा गन्तव्यमा पुग्ने व्यवस्था पनि गरिएको छ । यात्री भरिएपछि मात्र गुड्ने चलन हटाएर जे जति यात्री भएपनि तोकेकै समयमा छुट्ने व्यवस्था भएको हो । ‘समयमा गन्तव्यमा पुग्ने समस्या हुँदा सार्वजनिक यातायातमा विश्वास घटेको थियो, अब यो अबसरले बढाउनेछ’ नगरप्रमुख श्रेष्ठले भने, ‘गुणस्तरीय सेवा दिंदा त्यसको फाइदा कम्पनीलाई नै हुनेछ ।’





