बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पर्यटकलाई निम्तो दिएर सकियो पाचौं हाँडिकोट महोत्सव

पर्यटकलाई निम्तो दिएर सकियो पाचौं हाँडिकोट महोत्सव


  • ढोरपाटन संवाददाता
  • चैत्र १३ २०८०, मंगलबार

बागलुङ/ बिस्तारै पर्यटक पुग्दै गरेको हाँडिकोटको प्रचार प्रसारमा स्थानीय युवाले सकृयता बढाएका छन् । हाडीकोट टापुमा केही बर्षदेखि मेला महोत्सव गर्ने र आन्तरीक पर्यटक पु¥याउने गर्न थालिएको हो । हाँडिकोटमा यो बर्षको पागुपूर्णिमामा पनि पाचौं हाडीकोट महोत्सव भयो । कुनै ठुलो सहरको मेला महोत्सवको झल्को दिनेगरी यो बर्षको महोत्सवमा आन्तरीक पर्यटक हाँडिकोट टापु पुगेका छन् । हाडीकोट सामुदायिक विकास केन्द्र राङ्खानीले फागुपूर्णिमाको अवसर पारेर महोत्सव आयोजना गरेको हो ।

हाँडिकोट चिनाउनकै लागि केही बर्षदेखि मेला र महोत्सवको माध्यामबाट प्रचार थालिएको केन्द्रका अध्यक्ष धर्मराज थापाले जानकारी दिनुभयो । यो पटक चैतको ८ गतेदेखि १२ गतेसम्म विविध कार्यक्रम गरेर आफ्नो संस्थाको बर्षिकोत्सवसँगै हाँडिकोटमा महोत्सव आयोजना गरिएको थापाले बताए ।

महोत्सवमा आयोजना गरिएका भलिवल खेलमा सहभागि हुने खेलाडी, सांकृतिक कार्यक्रममा सहभागि हुने कलाकार र महोत्सव हेर्न आएका दर्शकले हाँडिकोटको प्रचार गर्ने संस्थाको विश्वास छ । महोत्सवमा स्थानीय कला संस्कृतिको प्रस्तुतिका साथै स्थानीय परिकारहरु पनि प्रदर्शनी भएको थियो । यसले हाँडिकोट सँग जोडिएको गाउँको आर्थिक बिकासमा सहयोग गर्ने संस्थाको बुझाई छ ।

यो बर्ष संस्थाले चर्चित टेलिभिजन कार्यक्रम इन्द्रणीको छायाँकन समेतको व्यवस्था मिलाएको थियो । महोत्सवमा इन्द्रेणी समुहलाई प्रस्तुतीका लागि बलाएर त्यहिँ कार्यक्रम छायांकन हुँदा टेलिभिजन मार्फत हाँडिकोटको प्रचार प्रचार देश बिदेशसम्म गर्ने प्रयास गरिएको थापाले बताए ।

सडकले जोडिएपछि हाँडीकोटमा नियमित रूपमा पर्यटक पुग्न सजिलको रहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा बताउनुहुन्छ । हाँडीकोटको पर्यटन विकास र यसलाई अझै आर्कषण बनाउनका निम्ति भौतिक पूर्वाधार निर्माण गर्न नगरपालिकाले लगानी बढाएको छ । हालसम्म भ्युटावर निर्माण, प्रतीक्षालय निर्माण, मन्दिर निर्माणका लागि २२ लाख रुपैयाँ खर्च गरिसकेको छ । खानेपानी व्यवस्थापनका लागि नौ लाख रुपैयाँमा ट्यांकी निर्माण गरिएको उपप्रमुख शर्माले बताए ।

हाँडीकोट चौबीसे राज्यको पालामा रहेको भुरेटाकुरेमा गनिन्छ  । त्यसैले यहाँ पुरातात्विक महत्वका क्षेत्र पनि छन् । भुरेटाकुरे राजारजौटाले प्रयोग गरेका कतिपय सामग्री यहाँ संग्रह गरेर राखिएको छ । त्यसका लागि संग्रहालय बनाएर संरक्षण गर्ने नगरपालिकाको योजना रहेको छ । व्याडथला र डाँडाखानीबाट दुई हजार दुई सय मिटर अग्लो हाँडीकोट उक्लेपछि वरपरका सबै बस्तीसमेत देखिन्छन् । हाँडीकोटको नजिकका डाँडाखानी र व्याडथलामा सामुदायिक घरबास सञ्चालनमा छ  । घरबासमा खाना र बस्नका निम्ति राम्रो व्यवस्था छ । होमस्टे बस्न नचाहने पर्यटकका लागि नजिकै नान्दुक बजारमा होटलहरू पनि पर्याप्त मात्रामा छन् । पर्यटन प्रवर्द्धनको उद्देश्य राखेर हरेक वर्ष हाँडीकोट महोत्सवसमेत गरिँदै आएको छ । सदरमुकाम बागलुङ बजारदेखि तीन घण्टाको मोटरयात्रामा व्याडथला पुग्न सकिन्छ ।

हाँडिकोट पर्यटक पर्खिरहेको छ । खुलेको आकाश, कोपिला लागेका गुराँस र बिहान बेलुकाको सिरेठो अनी पुरातात्वीक संरचनाहरुले पर्यटक पर्खिरहेका छन् । हाँसेका हिमालहरुले हाँडिकोटमा पर्यटक देख्न चाहन्छन् । तर हाँडिकोट एक्लै छ । निर्माणधिन अबस्थामा रहेको भ्यू टावर, शिव मन्दिर सत्तल र प्रकृतिको उहार प्रयोग बिहिन जस्तै छन् ।

सहरको कोलाहल र प्रदूषण छाडेर हाँडिकोट पुग्दा मन चंगा जस्तो हुन्छ । माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि जस्ता दर्जनौँ हिमश्रृंखलाको मनमोहक दृश्यले हाँडिकोट पुग्ने जोकोहीलाई प्रफुल्लित बनाउँछन् । बिहानी सूर्योदयको पहिलो किरणदेखि बेलुकी सूर्यास्तसम्म हिमालले अनेक रंग फेर्छ । तल हरियाली वनजंगल डाँडामा पुग्दा बादलभित्र हराए जस्तो हुन्छ ।

यो दृश्य आफैँमा एउटा सुन्दर कला भएको भान हुन्छ । बाग्लुङको जैमिनी नगरपालिकामा रहेको हाँडीकोट टापुबाट देखिने केही दृश्य साँच्चिकै अद्भूत लाग्दछन् । जैमिनीको वडा नं.१० राङखानी, वडा नं. ७ जैदी र वडा नं. ८ छिस्तीको संगमस्थल हो हाँडीकोट । समुद्री सतहदेखि दुई हजार १९५ मिटर उचाइमा रहेको हाँडीकोटमा वर्षाको समयमा जुकाको समस्या, हुस्सु र कुहिरोले ढाकिने र हिउँदमा हिउँले घुम्टो हाल्दा पनि पर्यटकहरू नियमित पुगेका हुन्छ । तर हाँडिकोटले जती प्राकृतिक र पौराणीक महत्व बोकेको छ त्यती पर्यटक भित्राउन नसकेको जैमिनी १० राङ्खानीका खड्क बहादुर बताए ।

बाइसे चौबीसे राजाका पालामा रहेको दरबार उठेपछि उराठलाग्दो भएको हाँडीकोटले पछिल्लो समय न्याय पाउन थालेको छ । समथर जमिन, राजदरबारका भग्नावशेष, मन्दिर र शीला सुसज्जित हाँडीकोटमा पुगेर पहाड खोँचमा मडारिएको बादलसँग तस्बिर खिचाउने आजभोलि दिनदिनै हाँडीकोट पुग्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->