
पोखरा/ पोखराको फलेपाटनस्थित सिद्ध मावि परीक्षा केन्द्र । ३६८ मध्ये एकजनाबाहेक सबै परीक्षार्थी आफै कस्सिएर एसईईको पहिलो दिन बिहीबार अंग्रेजी बिषयको परीक्षा दिइरहेका थिए । परीक्षार्थीको यो भिंडमा सिंगो एउटा कक्षाकोठामा सहयोगीको भरमा परीक्षा दिइरहेकी छन छात्रा पवित्रा बिक ।
प्रश्नपत्र पढ्छिन । सहयोगी बिभूती पाण्डेलाई उत्तर भन्छिन । पाण्डे बिकले भनेको कुरा उत्तरपूस्तिकामा लेख्छिन । नबुझेको कुरा सोध्छिन । बिकले भनेपछि उत्तरपूस्तिकामा लेख्छिन ।
म्याग्दी नारच्याङकी पवित्राको देब्रे हातै छैन । कुहिनासम्म ठिकै रहेको र त्यसपछि एउटा सानो औलामात्रै बनेर निस्किएको छ दाहिने हात पनि । त्यसबाहेक अरु शारीरिकरुपमा उनि दुरुस्त छिन । हात नभए पनि उनले खुट्टाको औंलाको सहायताले कलम च्यापेर लेखेर अहिले एसईईको परीक्षा दिन आइपुगेकी हुन । खुट्टाले पेन्सिल तिखारिन । कापीकितावका पाना फर्काइन । स्कुलले बसेर खुट्टाले लेख्न मिल्ने गरी टेबुलको व्यवस्था मिलाएको थियो । बाबुआमाको बेमेलबीच पनि उनले हिम्मत हारिनन् । र अहिले यो अवस्थासम्म आइपुगिन ।
उनलाई परीक्षामा सहयोगी राख्न पाइन्छ भन्ने थाहा थिएन । खुट्टालेनै लेखेर आफै परीक्षा दिने योजनामा थिइन पवित्रा । तर विद्यालयले शिक्षा बिकास तथा समन्वय ईकाई कास्की मार्फत सहयोगीको व्यवस्था गरिदिएको हो । ‘ढिलो भए पनि खुट्टाले लेखेर परीक्षा दिने योजनामा थिए’ पवित्राले भनिन, ‘तर विद्यालयले सहयोगीको व्यवस्था गरिदिएकाले सहज भएको छ’, उनले भनिन्, ‘आत्मविश्वाससाथ परीक्षामा सहभागी भएकी छु । सहयोगी नभएको भए पनि खुट्टाले लेखेरै परीक्षा दिने योजनामा थिए ।’ रामबजारस्थित एस ओ एस हर्मन माइनर विद्यालयमा ९ कक्षामा अध्ययनरत विभूती पाण्डे बिकको सहयोगी छन । पवित्रा एस ओ एसबाट परीक्षामा सहभागी भएकी हुन ।
केन्द्राध्यक्ष गुरुदत्त कोइरालाले फरक क्षमता भएकी पवित्रालाई छुट्टै कक्षाकोठाको व्यवस्था गरिएको बताए । ‘शिक्षा बिकास तथा समन्वय ईकाईको स्वीकृतिमा सहयोगी राखेर परीक्षा दिइरहेकी छन’ उनले भने, ‘उनलाई केही अप्ठेरो नहोस् भन्नेमा सचेत छौ ।’ पवित्राकी आमा कृष्णाले छोरीको पढाइ राम्रो रहेको बताइन । ‘अहिलेसम्मको पढाई राम्रो छ’ उनले भनिन, ‘एसईई पनि राम्रै अंक ल्याएर उत्तीर्ण हुनेमा ढुक्क छु ।’

बिद्यालयमा खुट्टाले लेखेर पढ्दै पवित्रा । फाइल तस्विर
पवित्राले एकाधबाहेक सबै काम खुट्टाले गर्छिन । हात नभए पनि अरुसरह लेख्न र पढ्न पाउ“दा आफुलाई रमाईलो लागेको उनी बताउ“छिन । भन्छिन, ‘साथीभाइहरुले माया र सहयोग गरे । रमाइलो लागेको छ ।’ उनले आफुले खुट्टाले लेखेरै उच्च शिक्षासम्म हासिल गर्ने आत्मविश्वास रहेको सुनाइन् ।
उनले देब्रे खुट्टाको बुढी र माइली औलाले कलम च्यापेर लेख्छिन् । एसओएस बालग्राम गण्डकीले उनलाई निशुल्क पठनपाठनको व्यवस्था मिलाएको हो । एसओएस युवालय गण्डकीका डेपुटी डाइरेक्टर बाबुराम बरालले रोटरी क्लब अफ अन्नपूर्णसंगको सहकार्यमा पवित्रालाई निशुल्क पढाइको व्यवस्था गरिएको बताए । ‘पवित्राको शारिरीक र अभिभावकको पारिवारिक अवस्था देखेर हामीले सहयोग गरेका हौ’ उनले भने ।

रोटरीले आमा कृष्णालाई सिलाइकटाइको तालिमसंगै मेशिन पनि दिएको थियो । तर त्यसले धानिन गाह्रो भएपछि केहीसमय उनी विदेशिएकी थिइन । दुवै हात नभएपछि कृष्णा छोरीको भविष्यका लागि भन्दै पोखरा आएकी थिईन । गाउ“मा स्कुल टाढा रहेको र खुट्टाले लेख्नुपर्ने भएपछि उनी पोखरा आएकी हुन । दिदीको घरमा बस्ने बेला हात नभएकी बालिका भनेर सार्वजनिक भएपछि रामबजारका निरज थापाले सुरुमा थाहा पाएपछि एसओएसमा पढाउन लगिएको हो । पोखराको हेरालो प्रतिष्ठानले पनि उनको पढाईमा सहयोग गर्दै आएको थियो ।





