पोखरा/दुई वर्षअघि पुसमा भएको कास्की जिल्ला अधिवेशनमा आफूले उठाएका अध्यक्ष र उपाध्यक्षको पराजय र गत असोज १५ र १६ मा भएको एमाले गण्डकी प्रदेश अधिवेशनमा आफ्नो समूहको पत्तासाफ । त्यतिमात्र कहाँ हो र ? गृहजिल्लामा पकड गुमेको र प्रदेशमा त उठ्नै नसक्ने गरी अर्को समूहको दबदबा ।
त्यसबाहेक स्थानीय तहको निर्वाचनमा पोखरा महानगरमा आफू निकटका उम्मेदवारलाई अर्को समूहको नामबाट हराउन खोजिएको भन्ने खालका अडियो सार्वजनिक । सार्वजनिक कार्यक्रम तथा पार्टीका महत्वपूर्ण बैठकमा दोस्रो दर्जा दिँदा पनि एमाले नेता खगराज अधिकारी सहेरै बसे । खरो टिप्पणी गरिहाल्ने स्वभाव बदले अनि सही समय कुरेर बसे । भित्रभित्रै शक्ति आर्जनको तानाबाना बुने र एमाले कास्कीको ११ औं महाधिवेशनमार्फत् ‘बाघ बुढो हुँदा पनि कमजोर हुँदैन’ भन्ने सन्देश दिए ।
पाँचदिन लगाएर बुधबार सम्पन्न कास्की एमालेको ११ औँ अधिवेशनको मतपरिणाम सार्वजनिक हुनासाथ खगराज अधिकारी निकट कार्यकर्ता उत्साहित बने अनि भने, ‘साँवा ब्याज चुक्ता ।’
हुन त, अधिवेशनबाट अध्यक्ष बनेका बैनबहादुर क्षेत्री हुन । तर, यसलाई खगराजले आफ्नो जीत भन्न रत्तिभर हिच्किचाउने छैनन । संसदीय राजनीतिमा कास्की १ (क) बाट जीत हासिल गरेतापनि गृहजिल्लाकै राजनीतिमा पछिल्ला तीन वर्षयता उनको पकड थिएन ।
२०७४ को निर्वाचनमा खगराज अधिकारी प्रतिनिधीसभा सदस्यमा निर्वाचित भए । पृथ्वीसुब्बा गुरुङ प्रदेशसभा सदस्य बनेर पोखरा आए ।हाल उपमहासचिव रहेका गुरुङ तत्कालीन नेकपाको तर्फबाट संस्थापक मुख्यमन्त्री बने । मुख्यमन्त्री बनिसकेपछि प्रदेश राजधानी पोखरा बस्ने नै भए । अर्कातर्फ प्रतिनिधिसभा जितेका खगराजको व्यस्तता चाहिँ काठमाडौंमा नै बढी भयो ।
२०७४ को त्यही चुनाव हो, जहाँ खगराज काठमाडौंमा व्यस्त हुँदा पोखरामा पृथ्वीसुब्बा गुरुङले सरकार चलाइरहेका थिए । यही राजनीतिक शक्तिबाट मुख्यमन्त्री गुरुङले गण्डकीका अन्य जिल्लामा पनि आफ्नो प्रभाव विस्तार गर्न थाले । कास्की त झनै महत्वपूर्ण हुने नै भयो ।
यही सन्दर्भमा २०७८ मा नेकपा एमालेको १० औँ जिल्ला अधिवेशन भयो । प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका गुरुङले यहाँ सक्रियता देखाए । त्यसबाट खगराज झस्किए । यी दुइबीच सतहमा देखिएको राजनीतिक टकराव मध्येको एक यही जिल्ला अधिवेशन पनि थियो ।
प्रतिनिधिसभा सदस्य भएका कारण काठमाण्डौमा नै व्यस्त भइरहेका खगराजलाई आफ्नै गृहजिल्लामा प्रतिष्पर्धाबाट अधिवेशन टुंग्याउनुपर्ने स्थिति आइपुग्यो ।मुख्यमन्त्री भएयता लगातार सम्पर्क बढाइरहेका पृथ्वीसुब्बा पनि पछि हटेनन । उनले एउटा उम्मेदवारको नाममा सर्वसम्मत गराउन खोजे, खगराजले मानेनन । खगराजले भनेको उमेदवार पृथ्वीसुब्बालाई मन परेन ।
त्यतिबेला एमालेले निर्वाचन नगरी सर्वसम्मत तरिकाले अधिवेशन सम्पन्न गर्न भनेको थियो । तर, दुई नेताबीचको टकराव अन्तत २०७८ पुसमा निर्वाचनमा पोखियो ।त्यतिबेला पृथ्वीसुब्बाले तत्कालीन प्रदेशसभा सदस्य तथा एमाले कास्कीका कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङलाई च्यापे । खगराजले चाहिँ दामोदर बैरागीलाई रोजे ।चुनाव भयो, गृहजिल्लामा खगराजले आफ्ना उमेदवारलाई जिताउन सकेनन । पृथ्वीसुब्बा पक्षीय उमेदवार मध्ये अध्यक्ष र उपाध्यक्षले चुनाव जिते । खगराज समूहले सचिव र उपसचिवमा चित्त बुझाउनुप¥यो ।
२०७९ मंसिरमा प्रदेश तथा प्रतिनिधिसभाको अर्को निर्वाचन भयो । यो निर्वाचनबाट गुरुङ प्रतिनिधिसभा सदस्य छन भने खगराज चाहिँ प्रदेशसभा सदस्य ।
गएको असोज १५ र १६ गते एमालेको गण्डकी प्रदेश अधिवेशन भयो । जिल्लाको हार प्रदेशबाट लिने भनेर खगराज अधिकारी सक्रिय भएर लाग्यो । प्रदेश अधिवेशनमा थप केन्द्रीय नेताहरुको समेत नजर प¥यो । अधिकारी समूहलाई महासचिव शंकर पोखरेलले साथ दिए ।
पृथ्वीसुब्बा गुरुङ समूहलाई चाहिँ उपाध्यक्ष विष्णु पौडेलले । एमालेको उर्वरभूमि मानिने गण्डकीको अधिवेशनमा सबैको चासो थियो ।तर, मतपरिणाम सार्वजनिक हुँदा यहाँपनि खगराजले जित्न सकेनन् । अर्थात उनको समूहले नराम्रोसँग हार खान पुग्यो ।
प्रदेश अध्यक्षमा उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहका नवराज शर्मा दोहोरिए । शंकर पोखरेल र खगराज अधिकारी पक्षका मायानाथ अधिकारीको प्यानलले नराम्रो हार व्यहोरेको छ ।पदाधिकारीदेखि अधिकांश सदस्यमा गुरुङ समुह नै हाबी भयो । लगातार आफ्नो समूहका उम्मेदवारले हार व्योहोर्दा खगराज अधिकारी समुह कमजोर बन्दै गएको आँकलन भयो भने पृथ्वीसुब्बा गुरुङले शक्ति देखाएको चर्चा समेत भयो ।
अधिकारी र गुरुङबीच यो अधिवेशनले झनै दूरी बढाउने काम ग¥यो । पृथ्वीसुब्बा समूहले लगातार जित्दै गर्दा कास्कीबाट नै अधिकारी समूहका रहेका सदस्यहरु गुरुङसँग नजिकिन पुगे । तर, प्रदेश अधिवेशनमा यसअगाडि पृथ्वीसुब्बा पक्षधर भनिएका केही नेताहरु भने अवसर नपाएको भन्दै खगराजसँग नजिकिन पुगेका थिए ।
सात महिना अगाडिको प्रदेश अधिवेशनको हारको पीडा ताजै थियो, एमाले कास्कीको ११ औँ जिल्ला अधिवेशन चैतको १० र ११ गतेलाई डाकियो । अघिल्लो अधिवेशनमा उनै पृथ्वीसुब्बा पक्षधर मनबहादुर गुरुङले अध्यक्ष जितेका थिए भने ११ औँ अधिवेशन सफल बनाउनुपर्ने जिम्मेवारी पनि थियो । खगराज समूहले यसलाई चाहिँ प्रतिष्ठाकै लडाइँ बनायो । २ वर्ष अगाडि गृहजिल्लामा गुमेको पकड फिर्ता ल्याउनेदेखि प्रदेशमा भोगेको नमिठो हारको बदला लिएरै छाड्ने तयारीमा खगराज समुह लाग्यो । एमाले संसदीय दलको नेता तथा प्रदेशसभा सदस्य पनि भएका कारण खगराज जिल्लातिरै व्यस्त भए । जिल्लाभन्दा पनि गुमेको साख फिर्ता ल्याउने कसरतमा लागे ।
यो समुहले सबैभन्दा पहिले आफ्नातर्फका अध्यक्ष र सचिवका उम्मेदवार निश्चित ग¥यो ।‘अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री र सचिवमा लेखबहादुर तामाङ (दर्शन लामा)’ खगराज पक्षका कार्यकर्ताहरुले महिनौँदेखि प्रचार गर्दै आइरहेका थिए ।
यसअगाडिको जिल्ला कमिटीमा सचिव रहेका बैनबहादुर र उपसचिव रहेका दर्शन लामालाई नै आउँदो अधिवेशनमा अध्यक्ष र सचिवमा यो समूहले अगाडि सा¥यो । चिनिएका र पार्टी राजनीतिमा निरन्तर लागेका दुवै उम्मेदवारलाई अध्यक्ष र सचिवमा अगाडि बढाउँदा यो समूहले सकारात्मक प्रतिक्रिया पायो ।महिनौँ अगाडि नै अध्यक्ष र सचिव तय गर्दा यो समुहले आफ्ना उमेदवारलाई प्रतिनिधिमा चिनाउन रणनीतिक रुपमा काम ग¥यो । तर, निर्वाचनमा सबैभन्दा ठूलो हात छनोट भएर आएका प्रतिनिधिको नै हुन्छ ।खगराज समूहले अघिल्ला अधिवेशनबाट सिकेर यसपटक नगरेको गल्ती भनेको नै प्रतिनिधि छनोट हो ।
‘प्रदेशको चुनावमा हाम्रो क्यालुकेलसनमा प्राविधिक कमजोरी देखिए, हामीले त्यसबाट पाठ सिकेका छौँ । निकै सूक्ष्म तरिकाले प्रतिनिधिहरू आएका छन् । हाम्रो पक्षमा खुलेरै लाग्ने प्रतिनिधि ७० प्रतिशत छन् । चुनाव जितिन्छ ।’ अधिवेशनकै सन्दर्भमा अधिकारी पक्षका एक सदस्यले भनेका थिए । आफ्नो समूहमा खुलेरै लाग्ने कट्टर समर्थकलाई सकेसम्म धेरै प्रतिनिधि बनाउने रणनीति यो समुहले अख्तियार ग¥यो ।कुल ९२६ प्रतिनिधि आउने निश्चित हुँदा यो खगराज समुहले झन्डै २०० मतान्तरले जितिने आँकडा निकाल्यो ।
निकै गोप्य रुपमा छनोट भएका प्रतिनिधिको व्यवस्थापन पनि यो समूहको अर्को रणनीति थियो । केन्द्रीय सदस्य कृष्णबहादुर थापादेखि खगराज समुहका नेताहरुले सचिवालय नै बनाएर खटिए । आफ्ना भनिएका हरेक प्रतिनिधिहरुसँग कुनै न कुनै माध्यमबाट सम्पर्कमा रही नै रहे । प्रतिनिधिहरुलाई अर्को समूहसम्म भेट्न दिएनन ।
अर्कातर्फ गुरुङ समूह भने यसपटक अघिल्ला निर्वाचनमा जस्तो स्मार्ट देखिएन । यतिसम्म कि मतदानको दिन बुधबार बिहानसम्म यो समूहको उमेदवार नै निश्चित भएका थिएनन् । अध्यक्षमा पनि दोधार नै थियो । सचिवमा त मान्छे अभाव भएकै कारण राजनीतिक उचाइ पुगिनसकेको व्यक्तिलाई उम्मेदवार बनाएको भनेर आलोचना समेत भएको थियो ।
जिल्ला अध्यक्षमा गुरुङ पक्षीय मनबहादुर गुरुङ नै थिए । सुरुमा उनले ४० जनामा १ प्रतिनिधि र त्यसपछि प्रत्येक २१ जनामा थप एक प्रतिनिधि ल्याउने गरी सर्कुलर जारी गरे । स्थायी कमिटी सदस्य तथा कास्की इन्चार्ज थममाया थापा पहिलो आधार ४० मान्ने र त्यसपछि पनि थप ४० जनामै अर्को प्रतिनिधि ल्याउने गरी गरेको निर्णय विपरीत भएको भन्दै केन्द्रमै उजुरी दिइन ।प्रतिनिधि छनोटमा बखेडा झिक्न खोजेको भन्दै विरोध समेत हुन पुग्यो ।
खगराज समुहले हरेक क्लष्टरका प्रतिनिधिलाई सूक्ष्म रुपले हेरिरहँदा गुरुङ समूहले भने पोखरा निर्णायक रहेको र पोखराका बहुसंख्यक प्रतिनिधि आफ्ना हुँदा जितिन्छ भनेर ढुक्कले बस्यो । तर, उपमहासचिव गुरुङ भने चुनाव हारिने बुझेरै केही दिन अघि नै काठमाडौं लागिसकेका थिए ।
यी दुई समूहबीचका आ–आफ्नै दाबीबीच बुधबार साँझ पाँचदिने अधिवेशनको नतिजा निस्केको छ । १६ वटा विद्युतीय मेसिनमार्फत ९१५ जना मतदाताले २० घण्टा लगाएर मतदान गरे ।अन्तिममा मतपरिणाम सार्वजनिक भयो । अध्यक्ष सचिव देखि पदाधिकारी सबै र सदस्यहरु सबैमा खगराज समूहका उम्मेदवार बैनबहादुर क्षेत्रीको टिमले बाजी मा¥यो ।
क्षेत्री ५५१ मत ल्याएर विजयी भए । अर्का नेता तथा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट उमेदवार माधव बास्तोलाले ३४७ मत ल्याए । क्षेत्री २०४ मतको फराकिलो अन्तरका साथ विजयी भएका हुन् । उपाध्यक्षमा भेषराज बराल ५२७ मत, सचिवमा दर्शन लामा ५९५ मत, उपसचिवमा लालबहादुर परियार ५८१ मत र सन्तु सुवेदी ५१० मत ल्याएर विजयी भएका छन् । यी सबै अधिकारी समूहका उमेदवार हुन् । पृथ्वीसुब्बा समूहबाट उपाध्यक्षका उमेदवार शिव आचार्यले ३८८ मत, सचिव सुरेन्द्र गुरुङले ३२० मत, उपसचिवद्वय राधिका शाही योगी ३४४ र गीता विश्वकर्माले ३३४ मत प्राप्त गरे ।
फराकिलो मत अन्तर सहितको जित र पृथ्वीसुब्बा समुहका उमेदवार निल बन्दा कास्की एमालेमा फेरि खगराज अधिकारी फर्किएका छन् । जित्नैपर्ने चुनाव र प्रतिष्ठाको लडाइँ बनेको अधिवेशनले खगराजलाई पार्टीको राजनीतिक शक्तिमा पुनरागमन गराएको छ ।





