यूएई/ मुस्लिम बहुल देश यूएईको राजधानी अबुधाबीमा हिन्दुहरुका लागि निर्मित हिन्दु मन्दिर अहिले घुम्न जाने पर्यटकका लागि नयाँ गन्तब्य बनेको छ । अरब राष्ट्रमा निर्मित विश्वको ठूलोमध्येको हिन्दू मन्दिरमा दैनिक ७ लाखसम्म पर्यटक पुग्ने गरेका छन् ।
बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था अर्थात् बीएपीएसले करिब ११ हेक्टर जग्गामा सातसय करोड भारु खर्च गरेर निर्माण गरेको मन्दिरमा भारतीय र नेपालीसहित विश्वभर रहेका हिन्दुहरुको पुग्ने गरेका छन् ।
मन्दिरको प्रवेशद्धारदेखि मुख्य मन्दिरभित्र निकै व्यवस्थित छ ।मन्दिर भित्रका मूर्तिहरुको तस्वीर र भिडियो लिन निषेध गरिएको छ । मन्दिर १०८ फिट अग्लो र १८० फिट चौडा छ । मन्दिर निर्माणमा सिंगमरमर, ढुंगा र चुना प्रयोग गरिएको छ । हिन्दु मन्दिरमा दर्शनका लागि पुगेका यूएईका नेपाली व्यवसायी प्रकाश कार्कीले मुस्लिम देशमा हिन्दु धर्मको उच्च सम्मानको नमूना भएको बताए ।‘यूएई सरकारले विश्वमा एकपटक घुम्नैपर्ने गरी पर्यटनलाई जोडेर संरचना बनाइरहेको छ,हिन्दु मन्दिरले विश्वभरका हिन्दु पर्यटकलाई आर्कषित गरेको छ,’ उनले भने ।
यूएईमा रहेका नेपाली, भारतीय अन्य देशका हिन्दु धर्मालम्बीहरुसमेत मन्दिरमा पुग्ने गरेर र तेस्रो देशबाट समेत पर्यटक आउने गरेकाले मन्दिरमा दैनिक भीड लाग्ने गरेको छ । मन्दिरभित्र करिब डेढघण्टासम्म अवलोकन गर्न मिल्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गएको फागुन महिनाको पहिलो साता मन्दिरको उद्घाटन गरेका थिए । मन्दिर निर्माणका लागि यूएईका राजा शेख मोहम्मद बिन जायद अल नाह्यानले जग्गा उपलब्ध गराएका थिए ।मन्दिरका मूलपुजारी ब्रह्मविहारीदास स्वामी छन् । यूएईमा रहेका म्याग्दीका सुवास राम्जालीले पर्यटनमा यूएईले पछिल्लो एकदशकमा धेरै फड्को मारेको बताए ।
उनले धार्मिक, जल, जमिन र आकाशको प्रयोग गरी पर्यटन क्षेत्रमा यूएईको प्रगतीलाई नेपालले समेत सिको गर्न सक्ने बताए । भारतबाट सात पुजारीसहित प्रधानमन्त्री मोदी आबुधाबी पुगेका थिए । हिन्दु र मुस्लिम बिचको सम्बन्ध सुधारमा समेत सघाइरहेको त्यहाँ पुग्ने भक्तजनहरुको भनाई छ ।
मन्दिर प्रवेश निशुल्क छ भने मन्दिरमा आगन्तुक कक्ष, प्रार्थना कक्ष, प्रदर्शनी हल, सिकाइ कक्ष, बच्चा र युवाहरुका लागि खेल्ने स्थान लगायत सुविधा पनि छन् भने उद्यान, वाटर फिचर्स र पुस्तक तथा उपहार किन्न पाइने पसल पनि छन् ।त्यहाँ भित्र खानाका परिकार, लुगाहरु पाइन्छ । यूएईमा पहिलादेखि नै थप दुई हिन्दु मन्दिर भए पनि यो सबैभन्दा ठूलो मन्दिर हो । मन्दिरका सात स्तम्भलाई यूएईका सात राज्यका प्रतीकको रुपमा लिइएको छ । मन्दिरमा हिन्दु बाहेक मुस्लिम र अन्य धर्मालम्बी समेत अवलोकनका लागि जाने भएकाले सदभावको प्रतिक भएको र सबै धर्म मान्नेहरुका लागि खुला गरिएको बीएपीएसले जनाएको छ । अन्य नयाँ संरचनाहरु समेत निर्मांणधिन अवस्थामा रहेकाले अगामी बर्ष थप सुविधा हुने बताइएको छ ।
मुलमन्दिर भित्र सिसीक्यामेरा जडान गरिएकाले भिडियो वा तस्वीर लिएमा तत्कालै नियन्त्रणमा लिएर कानुनी कारवाहीसमेत गरिन्छ । मन्दिरको अभिलेखमा ३० हजारभन्दा बढी पत्थरमा विभिन्न बुट्टा र आकृतिहरू कुँदिएको उल्लेख छ । मन्दिरलाई आर्कषक बनाउन भारतको राजस्थानका झन्डै २५ हजार कलाकारले बुट्टा र आकृतिहरू बनाएका थिए । हिन्दु धर्मसँग सम्बन्धित भगवानको मुर्ती राखिएको मन्दिरमा हिन्दु धर्मग्रन्थमा वर्णित कथा प्रतिबिम्बित हुने गरी पत्थरमा हात्ती, गाई र मयूरजस्ता जीवका आकृति बनाइएको छ । मन्दिर परिसरमा हिन्दुधर्मालम्बीहरुले मान्ने गङ्गा, यमुना र सरस्वतीका प्रतीकका रूपमा मन्दिर प्राङ्गनमा तीनवटा सुन्दर पोखरीसमेत छ ।





