बागलुङ/आसन्न अधिवेसनका लागि सके निर्विरोध नसके निर्वाचनबाट भएपनि अध्यक्षमा दोहोरिने नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले संकेत गरेका छन् ।
उनले चारबर्षे कार्यकाल पुरा गर्न नपाएको भन्दै अधुरा काम पुरा गर्न अध्यक्षमा दोहोरिने संकेत गरेका हुन् । धेरै योजना र कार्यक्रम बनाएपनि समय अपुरो भएकोले मध्यखालको सफलता पाएको उनले स्विकारे । साथै पर्याप्त समय भएमा एमालेलाई ठूलो दल बनाउने, युवाहरुलाई स्वरोजगार बनाउने र कार्ययोजना अनुसारका काम सम्पन्न गर्ने लक्ष समेत उनले सुनाएका छन् ।
एमाले बागलुङको अधिवेसन चैतको २९ र ३० गते हुदैछ । त्यसका लागि एमालेले निर्वाचन कमिटि गठन गरिसकेको छ । उपप्राध्यापक डा. डिल्लीराज गौतमको संयोजकत्वमा श्यामकुमार थापा, कैलास निउरे, मकुन्द शर्मा र आकार ज्ञवाली कमिटिका सदस्य छन् । एमालेको जिल्ला सचिवालय बैठकले जिल्लाभर कति सदस्य प्रतनिधि चुनिने भन्ने यकिन गरिसकेको छ । ‘अब कस्ताखालका प्रतिनिधि चुनिएर आउँछन्, उनीहरुको नाडी छामेपछि नेतृत्वको खाका देखिन्छ’ केसीले भने, ‘अहिले भनिहाल्ने अवस्था नभएपनि यही हलभित्रबाटै आगामी नेतृत्व पनि चयन हुनेछ ।’ उनले मञ्चमा गत अधिवेसनका प्रतिस्पर्धी रहेका कृष्ण पाठकबाहेक सबै आफ्नै जिल्ला कमिटिका पदाधिकारी राखेर उक्त जानकारी गराएका हुन् ।
उनले हल बाहिर बसेका नेताहरुबाट के कस्तो राजनीति हुन्छ वा आफ्नो नेतृत्वलाई साथ र समर्थन हुन्छ भन्ने कुरामा आगामी नेतृत्वको निर्धारण हुने बताए । केसी तत्काल अन्य कमिटिमा जाने वा अन्य लाभको पदमा पुग्ने आकांक्षामा देखिंदैनन् । बरु अध्यक्ष भएर आगामी निर्वाचन हाँक्ने अबस्था भएमा संघ वा प्रदेशको निर्वाचनमा सांसद बन्ने आकांक्षामा छन् । ‘म सँगै पराजित भएका कृष्ण काका यहीं हुनुहुन्छ, सांसद बन्नुभयो, मन्त्री हुने संभावना पनि छ’ उनले भने, ‘म भने यहीं हात जोड्दैछु, कार्यकर्ताले एकपटक फेरी हेर्नुहुनेछ ।’ जिल्लामै नेतृत्वमा रहेमा आगामी निर्वाचन सहजै पार लगाउने उनको आकांक्षा झल्किन्थ्यो ।
केसीले सर्बसम्मत नभएपनि हालका पदाधिकारीलाई साथमा राखेर अध्यक्ष दोहोरिने संकेत गरेका हुन् । शुक्रबार एमाले जिल्ला कमिटिले सचिवालय बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मञ्चमा बसेका अन्य पदाधिकारीले हाल नेतृत्वको दाबी गर्ने कुरा कसैले खोलेनन् । उपाध्यक्षले चासो नराखेपनि सचिव रहेका बिष्णु भुषाल संभावित उमेदवार भएको कतिपय कार्यकर्ता बताउँछन् । कतिपय कार्यकर्ताले पत्रकार हरिनारायण गौतमलाई अध्यक्ष बनाउनुपर्ने आवाज पनि उठाइरहेका छन् ।
‘हिराले स्पष्टै रुपमा भोट मागिसकेका छन्, त्यो बुझिएकै छ’ यसअघिका केसीका प्रतिस्पर्धी रहेका गण्डकी प्रदेश सभाका सदस्य कृष्ण पाठकले भने, ‘अहिले नै उमेदवार भनेर हिंड्दा आउने प्रतिनिधिमै गोलमाल हुन सक्ने देखेर अरु प्रतिष्पर्धीहरु पनि बोलेका छैनन् ।’ पूर्व अध्यक्ष समेत रहेका जनक पौडेल पनि पुन अध्यक्षको दाबेदार भएको चर्चा आएको छ । यद्यपी पौडेलले भने घोषणा गरिसकेका छैनन् ।
गत प्रदेश अधिवेसनमा उनी नराम्रो हारमा परे । प्रदेश भित्रको गुटबन्दीका कारण पौडेल खगराज लाइनमा उभिंदा हार व्यहोरेका थिए । बरु उनीभन्दा धेरै कनिष्ठहरुले प्रदेश सदस्य जितेका थिए । पौडेल खगराज प्यानलमा थिए भने बागलुङका धेरै नेता कार्यकर्ता पुर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्यानलमा थिए । खगराज प्यानलबाट उठेर पनि बागलुङका जेष्ठ नेतृत्वमा पाठक मात्रै प्रदेशमा निर्वाचित हुन सफल थिए ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सचिव भुषालले सचिवालय बैठकका निर्णय पढेर सुनाएका थिए । अधिवेसनका लागि अध्यक्ष हिराबहादुर केसी संयोजक रहेको प्रतिवेदन लेखन समिति बनेको छ ।
उपाध्यक्ष लक्ष्मण पुन संयोजक रहेको जनपरिचालन समिति, सचिव बिष्णु भुषाल संयोजक रहेको आर्थिक प्रतिवेदन समिति, उपसचिव गणेश थापा संयोजक रहेको प्रतिनिधि व्यवस्थापन समिति, अमरबहादुर थापा संयोजक रहेको प्रचार प्रसार समिति, रुद्र महत संयोजक रहेको खाद्य आवास व्यवस्थापन समिति, बाबुलाल शाक्य संयोजक रहेको हलमंच व्यवस्थापन समिति, सम्पन्न श्रेष्ठ संयोजक रहेको स्वयंसेवक समिति बनेको भुषालले जानकारी दिए ।
त्यस्तै हुमा खड्का संयोजक रहेको अतिथि सत्कार समिति, सरस्वती खड्का परियार संयोजक रहेको साँस्कृतिक समिति रहेको जनाइएको छ । अधिवेसनका लागि खुला सदस्यका लागि पहिलो १५ जना बराबर १ जना अल्पसंख्यक ५ जना बराबर १ र दलीत सदस्यका लागि ७ बराबर १ प्रतिनिधिले भाग लिन पाउनेछन् । अधिवेसनले १ सय ५ सदस्य रहेको जिल्ला कमिटि चयन गर्नेछ । त्यसमा महिलाको सहभागिता न्युनतम ३३ प्रतिशत हुनुपर्ने बिधानमा व्यवस्था छ ।





