बागलुङ/छोरीहरूको संरक्षण, उनीहरुलाई गरिने विभेदको अन्त्य, बाल बिवाहको उन्मुलनसहित छोरीलाई शिक्षित र स्वावलम्वन बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।
नगरमाा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका लागि चालु आर्थिक बर्षमा बिशेष योजनाका रुपमा घोषणा भएको कार्यक्रम कार्यान्वयनमा आएको हो । बागलुङ नगरपालिका–२ की अद्विका क्षेत्रीको नाममा बैंक खाता खोलेर नगरले कार्यक्रम शुभारम्भ गरेको हो ।
प्रभु बैंकसँग सम्झौता गरी २०८० आषाढ महिनापछि जन्मिएका छोरीको नाममा खोलिएको खातामा नगरपालिकाको तर्फबाट पाँच हजार रूपैयाँ २० वर्षको लागि मुद्दती खातामा जम्मा गर्ने नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताए ।
नगरप्रमुख श्रेष्ठले छोरीको जन्मपश्चात् छोरीको नाममा नगरपालिकाले पाँच हजार मुद्दती खाता खोलेर जम्मा गरिदिने र उक्त खातामा संभव हुने अभिभावकले समेत रकम थप गर्न पाउने गरी नगरकी छोरी कार्यक्रम अगाडि बढाएको बताए ।
नगरपालिकाले बैंकसँग सम्झौता गरी उक्त खातामा चक्रीय रुपमा उच्चतम् ब्याज प्राप्त हुने र उक्त खाताको रकम कम्तीमा २० वर्षसम्म झिक्न नमिल्ने कार्यविधि बनाएको छ । नगरका छोरी २० वर्ष पुग्दा ब्याजले नै राम्रो रकम जम्मा हुने र छोरीको नाममा खाता खोलेपछि बचत गर्न अभिभावक प्रेरितसमेत हुने उनले बताए ।
हाम्रो समाजमा छोरी जन्मिएपछि आमा र नवजात शिशुलाई गरिने दुव्र्यवहार, गर्भावस्थामा भ्रुणको जाँच, भ्रुणहत्या र छोरीप्रतिको गलत दृष्टिकोणलाई चिर्दै नारी सम्मानका लागि ‘नगरकी छोरी’ कार्यक्रम ल्याइएको नगरपालिकाको भनाई छ ।





