बागलुङ / ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीको नाममा रहेको घर÷जग्गामा कब्जामा लिन मञ्जु शर्मा चालिसेले बैंकलाई दबाब दिएकी छन् । इमेज सहकारीका बचतकर्ताहरुको रकम फिर्ता गर्न नसकेपछि भूमिगत रहेका नेपालीसँग निरन्तर सम्पर्कमा रहेकी शर्माले अहिले राष्ट्रिय सहकारी बैंक लगायतमा लिलामी छिटो निकाल्न दबाब दिएकी हुन् ।
राष्ट्रिय सहकारी बैंकसँग कुरा मिलाई काठमाडौंको सुकेधारास्थित नेपालीको ३ रोपनी बढि जग्गालाई ६ करोडमा लिलाम गर्न भनि दबाब दिएकी छिन । दुई वर्षअघि भाटभटेनी सुपरमार्केटले ९२ करोड दिंदा समेत नेपालीले उक्त जग्गा दिएका थिएनन् । सहकारी बचतकर्ताको रकम फिर्ता गर्न नसकेर समस्या परेपछि गत फागुन १२ गते स्वयं मञ्जु शर्मा चालिसेकै रोहबरमा इमेज सहकारी संघर्ष समितिले ७५ करोड मूल्याङ्कन गरेको थियो ।
राष्ट्रिय सहकारी बैंकले लिलामीका लागि काठमाडौं महानगरपालिका वडा नं. ४ वडा अध्यक्षको रोहबरमा पञ्चकृत गर्दा ४७ करोडको मूल्याङ्कन गरिएको छ । चालिसेले एक महिना स्वयंकै रोहबरमा ७५ करोड मूल्याङ्कन गरेको जग्गालाई अहिले ६ करोडमा लिलाम गर्न सहकारी बैंकलाई दबाब दिएकी छन् ।
‘सहकारी बैंकको आग्रहमा वडाले ४७ करोडको मूल्याङ्कन गरेको हो । तर, मञ्जु शर्मा चालिसे भन्नेले हामीलाई मूल्याङ्कन कम गर्नुप¥यो भनेर दबाब दिएकी छिन । वडाको रोहबरमा समिति बनेर गरेको मूल्याङ्कनलाई पुर्नमूल्याङ्कन गर्न सकिन्न भनेका छौं’, काठमाडौं महानगरपालिका-४ बाट पञ्चकृत समितिमा बसेका एक सदस्यले भने ।
उता, ढोरपाटन नगरपालिका–१, बुर्तिबाङमा रहेको दरबार होटलको संघर्ष समितिले नै ८० करोड मूल्याङ्कन गरेको थियो । तर उनै मञ्जुले सहकारी राष्ट्रिय बैंकमा तिर्न बाँकी रहेको ८ करोडमा लिलामी गर्न भनि आफ्नो नाममा लिन खोजिकी छन् । अहिले देव कुमार सम्पर्कमा नआएको भनेर होटल आफूखुसी सञ्चालनमा लिने दावी गर्दैै आएकी छन् ।
इमेज सहकारीमा मञ्जुको १ करोड २० लाख बचत रहेको छ । तर उनले गत असार ३ गते नेपालीको भतिजी माया नेपालीको नाममा बुर्तिबाङमा रहेको घर/जग्गा आफ्नो नाममा नामसारी गरिसकेकी छन् ।
पहिले ग्याँस पसल रहेको घर/जग्गा कित्ता नं. ३९७३, ३१७५, ७७१ को ०–४–३–३ मा बनेको ५ तले पक्की घर र ३ तले ढुङ्गे घर उनले जर्बजस्ती पास गरेसकेकी छन् । अहिले उक्त घर जग्गाको बजार मूल्य ५ करोड बढि पर्छ ।
चालिसेले आफ्नो नेतृत्वमा जग्गा पास गरेको स्वीकारिन । उनले भनिन- ‘बुर्तिबाङ बजारको प्रभु बैंकको शाखा रहेको घर नजिकैको एउटा र अर्को घर मसहित १५/२० जनाको नाममा पास गरेकी छु ।’
देव कुमारसँग नियमित सम्पर्क भएको भन्नेमा भने चालिसेले अस्वीकार गरिन । ‘मसँग सम्पर्क भएको भए त, मैले घोक्रेठ्याक लगाएर लिने थिएँ । देव कुमार सम्पर्कमा नआएरै बैंकहरुले लिलामी गर्न लागेको हुँदा होटल चलाउने, काठमाडौंको घर÷जग्गामा व्यवसाय गरौं भनेको हो’, चालिसेले भनिन ।
तर देव कुमारले भने चालिसेले असल नियत नराखेको आरोप लगाए । ‘एक हप्ता अघिसम्म ढोरपाटन नगरपालिकाका केही जिम्मेवार साथीहरुकै रोहबरमा मञ्जुले १ घन्टा कुरा गरेर विश्वास लिइन । अहिले भेटघाट छैन भनेर बचतकर्तालाई भ्रम सृजना गरी लिलाम निकाल्न बैंकहरुलाई उनैले दबाब दिएकी छन् । यी सबैको रेकर्ड, कागजात मसँग सुरक्षित छन् । आवश्यक परे सार्वजनिक गरौंला’, नेपालीले ढोरपाटनसंग भने- ‘व्यवहारिक रुपमा मिलाउन मुद्दा फिर्ता लिने, बचतकर्ताहरुलाई यथार्त जानकारी गराउने, बैंकसँग सम्पर्क गरेर सहजीकरण गरेर व्यवहारिक रुपमा समस्या। हल गर्ने भनेर उनले जिम्मा लिएकी हुन । उनले झन् उल्टो व्यवहार देखाउँदै मेरो विवश्तालाई ब्ल्याकमेलिङ गर्न खोजिन ।’
संघर्ष समितिका नाममा चालिसेले देव कुमार नेपालीबाट अख्तियारनामा, करारनामा, मञ्जुरनामाका लागि पटक–पटक कागजत बनाएर पठाएकी थिइन । ‘बुर्तिबाङ बजारमा रहेको हाम्रो घर÷जग्गा पनि मञ्जुले पास गरेकी छिन । मुद्दा पनि उनैले हालेकी छन् । अख्तियारनामा, करारनामा र मञ्जुरीनामा पनि उनैले मागेर लिखित डकुमेन्ट पठाएकी छिन् । अहिले देव कुमार सम्पर्कमा आएन भनेर हिड्ने र बैंकलाई छिटो लिलामी गर भनेर दबाब दिइरहेकी छन्’, नेपालीले सबै लिखित र रेर्कडेट सामग्री पठाउँदै ढोरपाटनसँग भने ।
गल्कोट निवासी मञ्जु गत स्थानीय चुनावमा कांग्रेसबाट बागी बनेर गल्कोट नगरपालिकाको प्रमुखको उम्मेद्वार बनेर पराजित भएकी थिइन । एमालेमा प्रवेश गरेपछि नेपालीकै जोड्बलमा पार्टीले बागलुङ-२ बाट चालिसेलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको थियो ।
चुनावमा खर्चका लागि सहकारीबाटै निकासा गरिएको ७० लाखको खर्च विवरण चालिसेले देवकुमारलाई नबुझाएपछि उनीहरुबीच पटक–पटक झगडा भएको एमाले ढोरपाटन नगर कमिटीका एक सदस्यले बताए । झग बहादुर शाहीले सञ्चालन गरेको दरबार होटलमा चुनावताका कार्यकर्ताले खाएको ८ लाख रुपैया समेत उनले शाहीलाई बुझाएकी छैनन् । उनले समेत बिल पठाएका छैनन् ।
नेपालीले पटक-पटक बचतकर्ताको रकम सम्पत्ति बेचेर दिने प्रतिबद्धता जनाउँदा जनाउँदै चालिसेसहित केही व्यक्तिले ‘बिचौलिया’ बनेर नेपालीलाई थप संकटमा पर्ने योजनामा रहेको नेपालीले बताए । ‘मञ्जु अहिले संघर्ष समिति भन्दा बाहिर गएर काम गर्न खोजेकी छन्’, संघर्ष समितिका एक सदस्यले भने ।





