बागलुङ/धौलागिरि बहुमुखी क्याम्पसमा युवा पुस्तालाई कार्बन उत्र्सजनबारे नेतृत्व विकास गर्न पहल गर्ने उद्धेश्यले चारवटा थ्रि जिरो क्लब गठन गरिएको छ ।
शून्य गरिबी, शुन्य बेरोजगारी र शुन्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्ति गर्न युवा पुस्तालाई नेतृत्वदायी भूमिका प्रदान गर्ने उद्देश्यले गठन हुने क्लब नै थ्रि जिरो क्लब हो । यसअघि बागलुङमा दुइ दर्जन विद्यालयमासमेत यस्तो क्लब गठन भएका छन् ।
सिवाईसी बचत तथा ऋण सहकारी र सिवाईसी नेपालले युवा तथा किसोरकिसोरीलाई वित्तीय साक्षरता कक्षा दिएको हो । सहकारी दिवसको अवसरमा ती क्लब गठन भएका हुन् । वित्तीय साक्षरता भनेको के हो ? पारिवारिक बजेट, वित्तीय लक्ष्य निर्धारण, बचत, कर्जा, विप्रेषण धनी र गरीब बीचको भिन्नता लगायतका विषयमा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले युवालाई अनुशिक्षण गरेका थिए ।
थ्री जिरो क्लवको परिचय, महत्व, यसको अवधारण, अवसरहरु र यसका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जालको विषयमा पूर्व शिक्षक गोपाल कुमार शर्माले सहजिकरण गरे । सोमबार सम्पन्न कार्यक्रमपछि गठित क्लवमा एक क्लवमा १२ देखि ३५ वर्ष उमेर समुहका ५ जनासम्म रहनसक्ने व्यवस्था छ । क्याम्पसमा सुदीप घर्तीमगर, विपिन थापा, ज्योति भण्डारी र मिसा शर्माको संयोजकत्वमा ४ वटा छुट्टाछुट्टै क्लबहरु गठन गरिएको हो ।
थ्रि जिरो क्लवको अवधारण नोबल शान्ति पुरस्कार विजेता प्रोफेसर डा. मोहम्मद युनुसले ल्याएका हुन् । सोही परिकल्पना अनुसार विश्वभरका ५४ वटा देशमा यस्ता प्रकारका क्लबहरु गठन भई परिचालित रहेका छन् । नेपालमा पनि केही गैरसरकारी, सहकारी र लघुवित्त संस्थाहरुले युनुसको परिकल्पनालाई पछ्याउदै यो कार्य अगाडि बढाईरहेको छन् ।
कार्यक्रममा क्याम्पस प्रमुख प्रा.डा. रामप्रसाद उपाध्यायले विद्यार्थी जीवनबाटै पैसालाई व्यवस्थापन गरी बचत गर्न सके भविष्य उज्वल हुने बताए । स्ववियु सभापति सुदीप सागर कंडेलले पनि युवालाई बचत गर्न सिकाउने अभियानलाई साथ दिने प्रतिवद्दता जनाए ।
कार्यक्रमकै अवसरमा धवलागिरि बुहुमुखी क्याम्पसद्वारा सञ्चालित छात्रवृत्ती व्यवस्थापन कोषका लागि सिवाईसी नेपाल र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. को तर्फबाट १ लाख १ हजार १ सय ११ रुपैयाँ समेत हस्तान्तरण गरिएको थियो ।
संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिवाईसी साकोसका सचिव ज्ञानेन्द्रराज पन्तको स्वागत र सिवाईसी नेपालका कार्यक्रम अधिकृत सुमन घर्ति क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।





