बागलुङ/सहकारीहरुलाई सुशासनयुक्त बनाउन सकेमा मात्र सहकारी अभियानले सफलता पाउने वक्ताहरुले बताएका छन् । ६७ औं राष्ट्रिय सहकारी दिवसमा जिल्ला सहकारी संघ र बागलुङ नगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताले सफल सहकारीको पहिलो सर्त सुशासन भएकाले सहकारीहरुलाई सुशासनयुक्त बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्व्य समिति बागलुङका प्रमुख अमर थापाले विश्वास, पारदर्शिता र जवाफदेहिता निर्माण गरी सदस्यहरुबीच सहकार्य गरेर अगाडि बढ्न सके मात्रै सहकारीले सफलता पाउने धारणा व्यक्त गर्दै सहकारीले आफ्नो मर्म, भावना र उद्देश्य अनुसार अगाडि बढ्न आग्रह पनि गरेका थिए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगर उप प्रमुख राजु खड्का, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जिसी, नेपाल बचत तथा ऋण केन्द्रिय संचालक चण्डीप्रसाद शर्मा पौडेल, दुग्ध उत्पादक संघका केन्द्रिय संचालक दिपक गौतम, बागलुङ नगरपालिका वडा नं. १२ का अध्यक्ष कोपिलामणी शर्मा र सहकारीकर्मी लिला खड्काले बोलेका थिए ।
कार्यक्रम जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमाकुमारी जिसी अञ्जुको अध्यक्षता, बानपा १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलको स्वागत र बागलुङ नगरको सहकारी शाखाका प्रमुख प्रेमप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।
बागलुङमा चैत १७ गतेदेखि बिभिन्न कार्यक्रम गरी औं राष्ट्रिय सहकारी दिवस मनाउन शुरु गरिएको थियो । दिवसको अवसरमा बुर्तिबाङ, गल्कोट, जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकामा अन्तरक्रिया गरिएको थियो ।





