भान्सा आमाहरुका लागि नयाँ ठाउँ होईन् । हरेक दिन आमाहरु भान्सासँग जोडिन्छन् । जब आमाहरु भान्सामा पुग्छन् तब परिवारका सदस्यमा एक खालको उर्जा पैदा हुन्छ । भान्सासँग जोडिएका आमाहरुले पकाउँदै र खुवाउँदै आएको परिकार नौला होईनन् । परम्परागत शैलीमै बनेका परिकार पस्किन्छन् । तिनै परिकारले पेट भरिएका छन् । समय फेरिएको छ ।
अहिले भान्सा घरमा मात्रै हुँदैन् । होटल, रेष्टुँरा, पार्टी प्यालेस र खुल्ला ठाउँहरुमा पनि परिकार पस्किने परिस्थितीहरु आउँछन् । ती बिशिष्ट परिस्थितीहरुमा आमाहरुका लागि केही सहज हुने गरेको छ । गाउँघरमा हुने बिबिध धार्मिक तथा साँस्कृतिक कार्यक्रममा आयोजना हुने भोजमा आजभोली अनेकथरिका स्वाद पस्किनु पर्छ । साधारण ज्ञानको समेत कमीका कारण आमाहरु आफ्नै भान्साको स्वाद पस्किन समेत सकिरहेका थिएनन् । पाककला सम्बन्धि सामान्य ज्ञान मात्रै हुने हो भने गाउँघरमा हुने हरेक भोजमा आमाहरु भन्साको काम गर्न सक्छन् । सानातिना रेष्टुँरा सञ्चालन गरेर आयआर्जन गर्न सक्छन् ।
आमाहरुलाई पाक कलामा अव्बल बनाउन काठेखोला गाउँपालिकाले पाक कला तालिम दिईरहेको छ । जसको तत्कालिन र दिर्घकालिन प्रभाव आर्थिक बिकाससँग जोडिएको छ । गाउँपालिकाले पालिकाबासीलाई उत्पादन, आयआर्जन र शिप विकासमा जोड्दै उद्यमशिलताको विकास गर्न अध्यक्षसंग सिप विकास कार्यक्रम सञ्चालन गरिरहेको छ । यो कार्यक्रमको प्रभावकारी कार्यान्वयन सुरु भएको गाउँपालिका अध्यक्ष राजु थापा बताउँछन् ।
काठेखोला गाउँपालिका–२ भीमापोराकी बिष्णु रोका यतीबेला पाक कला सिकिरहेकी छन् । वडा कार्यालयको ठुलो हलमा गाउँका अरु दिदीबहिनी जस्तै बिष्णुले पनि खानाका परिकार बनाउने कला ध्यानपूर्वक सिकेकी हुन् । धौलागिरी प्राबिधिक शिक्षालय मुस्ताङ लेतेका प्रशिक्षक राजु लामाले भीमापोखराका ३० महिलाहरुका लागि पाककला तालिम दिईरहेका छन् । ७१ वटा परिकारको बिषयमा भीमापोखरामा तालिम चलेको छ । आफ्नो रुची अनुसारका परिकार बनाउन महिला सक्रियतापूर्वक तालिममा सहभागि छन् । ‘घरगोठ र मेलापात गरेर मात्रै जीवन चलेन् भने रेष्टुरेष्ट चलाउन सकिएला जस्तो लागेको छ’ रोका भन्छिन् ‘हामीले त केही पनि जानेका थिएनौं, केही त सिकियो भन्ने लागेको छ ।’
गाउँपालिकाको महिला बालबालिका शाखामार्फत कार्यान्वयन भैरहेको कार्यक्रममा सहभाागिले कम्तिमा गाउँका भोज मात्रै सम्हान सके तालिम प्राप्त कुक ल्याउँदा लाग्ने खर्चको बचत हुने काठेखोला गाउँपालिकाको सामाजिक बिकास शाखाकी प्रमुख रश्मी शर्मा गौतमले बताईन् । ‘धेरै थोरै आम्दानी गर्न सक्ने महिला दिदीबहिनी हुनुहुन्छ” गौतमले भनिन् “छोटो तालिम पर्याप्त होईन्, तर आयआर्जनसँग जोड्न केही सुरुवात भएको छ ।’ वडामा पाककला तालिम सुरु भएपछि वडा अध्यक्ष बिद्यापति शर्मा पनि हौसिएका छन् । तालिममा सहभागि ३० जना मध्येमा पाँच जनाले मात्रै सिकेको सीपलाई प्रयोगमा ल्याउन सके उनीहरु स्वरोजगार बन्ने शर्माको विश्वास छ ।
आफ्ना लागि चप्पल, आफ्नै उत्पादन
चप्पल हरेक नागरिकलाई चाहिने पहिरन हो । बजारमा स्वदेशी तथा बिदेशी कम्पनीले उत्पादन गरेका चप्पलहरु पाईन्छन् । सीप र प्रबिधि हुने हो भने आफ्ना लागि आवश्यक चप्पल आँफैले उत्पादन गर्न सकिन्छ । सस्तो मुल्यमा कच्चा पदार्थ ल्याएर तयार भएका चप्पल महंगो मुल्यमा बजारमा पठाउन सकिन्छ ।
गाउँपालिकाले यही बुझेर वडा नं. ३ धम्जामा चप्पल उत्पादन थालेको छ । स्थानीय २१ जना महिलाका लागि कपडा र प्लाष्टिकका चप्पल बनाउन तालिम दिईउको छ । ‘फेसनका चप्पल अब हाम्रै दिदीबिहिनीले बनाउन सक्ने हुनुभएको छ, कच्चा पदार्थ भएसम्म स्थानीय नभए आयात गरेरै भएपनि यहीँ उत्पादन गरेको चप्पल लगाउँदा धेरैको अर्थोपार्जनमा यसले सहयोग गर्छ’ सामाजिक बिकास शाखाकी प्रमुख रश्मी शर्मा गौतम भन्छिन् ।

हरेक उत्पादनलाई लघु तथा घरेलु उद्योगको रुपमा विकास गरि गाउँका उत्पादनको संकलन, स्तरीकरण र ब्राण्डिङ गरि बजारीकरणको नीति गाउँपालिकाले लिएको छ । काठेखोलामा उत्पादन हुने दुग्ध पदार्थ, मासुजन्य उत्पादन, सुन्तला र आलुका परिकारलाई अझ थप व्यवस्थित गरि गाउँपालिकाकै पहिचानको रुपमा स्थापित गर्न आवस्यक कार्यक्रम सञ्चालन गरिने गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले बताए ।
‘भुगोल अनुसारको उत्पादन हुन्छन्, सोही अनुसार सीप बिकासका कार्यक्रम सञ्चालन गरेका छौं’ थापाले भने ‘उत्पादनले सर्वसाधारणलाई आत्मनिर्भर बनाउँछ, बालिकाको राजश्व बृद्धिमा सहयोग गर्छ ।’ कृषि, दुग्धजन्य, मासुजन्य साना तथा मझौला उद्योग स्थापनाका लागि प्रोत्साहन गरिएको उनले बताए । बदलिंदो बजार मागलाई ध्यान दिदै यस क्षेत्रका रैथाने बाँकोको सिन्की, सिस्नुको पाउडर, अल्लोको कपडा, लालीगुराँसको जुस, कोदोका परिकारलाई व्यवसायिक गर्दै लेभलिङ प्याकेजीङ र बजारीकरण थालिएको थापा बताउँछन् । गाउँपालिकाको पहलमा कृषि ज्ञान केन्द्रले सहयोग गरेपछि वडा नं. ८ का स्थानीय चाङसिंह श्रीषले कोदोको बिस्कुट उत्पादन थालेका छन् । जुन बिस्कुट बजारमा लोकप्रिय बनेको छ ।
मकैको पोस्करको पनि पैसा पार्ने काईदा
१५/२० बर्ष पहिलेसम्म गाउँघरमा मकैको पोस्करबाट बनेको चकटी निकै प्रयोग हुन्थ्यो । पाहुना आउँदा होस् वा घरायसी अन्य प्रयोजनका लागि पोस्करको चकटी टक्राउने चलन थियो । बजारिया प्लाष्टिकका कुर्सी र मान्द्राहरुले चकटीको प्रयोग घटाए । स्वास्थ्य र मुल्यका हिसाबले महंगो हुँदाहुँदै प्लाष्टिकका सामग्रीको प्रयोगमा कमी आएको छैन् ।
काठेखोला गाउँपालिकाका सबै वडामा मकैको उत्पादन हुन्छ । महंगो जनशक्ति, बिउमल र प्रबिधिको प्रयोगले उत्पादन लागत बढेको छ । किसानलाई मकै उत्पादनबाट लागत उठाएर मुनाफा लिनसक्ने बनाउन गाउँपालिकाले मकैको पोस्करलाई पनि प्रयोगमा ल्याउने अभियान थालेको छ । मकैको पोस्करबाट सजावटका सामग्री, चकटी लगायतका सामग्री बनाउन तालिम दिने योजना गाउँपालिकाको छ । ‘पोस्करका सामग्री उत्पादन गर्ने हो भने बजारमा माग राम्रो छ’ गौतमले भनिन् ‘सामान्य सीपले पनि दिदीबहिनीले राम्रो आम्दानी गर्नसक्ने देखेर यो अभियान थालेका हौं ।’ चालु आर्थिक बर्षमा वडा नं. ५ र ७ मा पोस्करका सामग्री बनाउने तालिम सञ्चालन गरिने छ ।
खाद्यान्न बालीले मात्रै किसानको गुजारा चल्दैन् । कृषिसँगै जोडिएका बिभिन्न सीपमुलक तालिम दिने र स–साना व्यवसायमार्फत सर्वसाधारणको आर्थिक जीवन उकास्ने अभियानमा लागेको गाउँपालिका उपाध्यक्ष थापा बताउँछन् । पालिकाले चालु आर्थिक बर्षमा नै प्रसिद्ध परम्परागत सिपमा आधारित नाङ्लो, डालो, काठको ठेकी, मान्द्रो लगायतका उत्पादनलाई अन्तरपुस्ता हस्तान्तरण र आधुनिकीकरणतर्फ बिशेष जोड दिएको छ । सबै किसिमका गरिबी निवारणका लागि संघिय सरकारको ससर्त अनुदानमा सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेडपा)लाई गाउँपालिकाले क्रियाशिल बनाएको छ ।






