पोखरा/ गण्डकी प्रदेशको सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयले पोखरा विश्वविद्यालयमा एकसय शैय्याको शिक्षण अस्पताल संचालनका लागि अनुमति दिएको छ ।
मन्त्रालयले विभिन्न शर्त पालना गर्नेगरी ६ महिनाका लागि अस्थायी रुपमा अनुमति दिएको विश्वविद्यालयले जनाएको छ । अनुमति दिनुपूर्व प्रदेशको स्वास्थ्य निर्देशनालयले विभिन्न समयमा स्थलगत अनुगमन गरेको थियो । विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालका अनुसार मन्त्रालयको चैत २१ गतेको निर्णय अनुसार शिक्षण अस्पताल संचालन अनुमति प्राप्त भएको हो । ‘स्वास्थ्य निर्देशनालयबाट विभिन्न मितिमा गरिएको स्थलगत अनुगमन पश्चात् प्राप्त प्रतिवेदन तथा यस मन्त्रालयबाट मिति २०८० चैत १३ गते गरिएको स्थलगत अनुगमन र मन्त्रालयको मिति २०८० चैत १९ गते बसेको बैठकको निर्णय समेतको आधारमा प्रस्तावित पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई केही शर्तहरु पालना गर्नेगरी ६ महिनाका लागि १ सय शैंयाको अस्पताल संचालन गर्न अनुमति प्रदान गरिएको व्यहोरा २०८० चैत २१ गतेको निर्णयअनुसार जानकारी गराइएको छ’ मन्त्रालयको पत्रमा भनिएको छ । मन्त्रालयका सचिव बिनोदबिन्दु शर्माले अस्पतालका निर्देशक उपप्राध्यापक डा.दीपेन्द्रकुमार यादवलाई अनुमति पत्र हस्तान्तरण गरेका थिए । एकसय शैंयासम्मको अस्पताललाई प्रदेश सरकारले अनुमति दिने व्यवस्था छ । त्यसभन्दा माथि भने संघीय सरकारको अनुमति चाहिन्छ । विश्वविद्यालयले ३ सय शैंयाको अस्पताल संचालन गर्ने योजनामा छ ।

ढकालका अनुसार मन्त्रालयले जनरल वार्ड र जनशक्तिको राम्रो व्यवस्थापन, सिएसएसडी, लन्ड्री र ब्लड बैंकको उचित व्यस्थापन, एम्बुलेन्स, इएमआर सिस्टम, फार्मेसीलाई प्रयाप्त ठाउँमा स्थानान्तरण, फोहोरको उचित व्यवस्थापन, प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट प्रयोगशाला संचालन अनुमति लिनुपर्ने शर्त राखेको छ ।
विश्वविद्यालयले गत वर्षदेखि ३० स्वास्थ्यकर्मीमार्फत ओपीडी सेवा संचालन गर्दै आएको छ ।





