बागलुङ/गलकोट नगरपालिकाको प्रशासकीय भवन निर्माणमा ढीलाई भएको छ । स्थानीय बासिन्दा, नगरपालिकाका जनप्रतिनिधि र जिल्ला समन्वय समितिले पनि गलकोट नगरको भवन निर्माणमा ढीलाई भएको ठहर गरेका छन् ।
निर्माण शुरु भएको दुइ बर्षमा २० प्रतिशत मात्रै काम भएकोले यो गतिले अझै ८ बर्षमा पनि काम नसकिने सरोकारवालाले टिप्पणी गरेका छन् । ‘दुइ बर्षमा २० प्रतिशत मात्रै बनेको रहेछ, यो अबस्था रहेमा अब भवन बनिसक्न ८ बर्ष लाग्ने भयो’ गलकोट–८ का टंक केसीले भने, ‘अब सचेत भएनौं भने भवन अलपत्र पर्ने भयो ।’ उनले राजनीतिक नेतृत्वले पनि ठेकेदारलाई दबाव सिर्जना गर्नुपर्ने बताए ।
नगरपालिकाका इन्जिनियर बलबिक्रम दाहालका अनुसार भवनको दुइवटा तला ढलान भएको छ । थोरै कामदारले काम गरिरहेको देखिन्छ । नगर प्रमुख भरत शर्मा गैरेले कम्तिमा आफ्नो कार्यकाल सकिंदा भवन उद्घाटन गर्ने चाहना व्यक्त गरेका छन् । नगरपालिकाले संचालन गरेको सार्वजनिक सुनुवाईमा पनि भवन अलपत्र परेको कुरामा धेरैको ध्यानाकर्षण भएको थियो ।
आफ्नो भवन नबन्दा गलकोट नगरपालिकाले मासिक डेढ लाख खर्चेर भाडाको घरमा बस्दै आएको छ । २०७२ सालमा नगरपालिका घोषणा भएपछि नै गलकोट नगरपालिका भाडाको घरमा बस्दै आएको हो । ‘जग्गा खोज्दाखोज्दै अघिल्लो ५ बर्ष लाग्यो’ गैरेले भने, त्यसपछि लगत्तै ठेक्का लगाइएको हो, काम ढीला भैरहेको छ ।’ आगामी मंसिर मसान्तभित्र सक्ने गरी ठेक्का लिएको ‘रबिना जुगल संयुक्त निर्माण कंपनी’ले काम धिमा गतिमा गरेको हो ।
सात रोपनी जमिनको व्यवस्थापन गरेपछि नगरपालिकाले दुइबर्ष अघि २०७९ बैसाखमा ठेक्का लगाएको थियो । ३० महिने ठेक्काको २४ महिना लागिसकेको छ । अब ८ महिनामा काम सक्नुपर्ने हो । ५ तले भवनको अहिलेसम्म दुइ तला ढलान मात्रै भएको हो । जनप्रतिनिधिले ठेकेदारलाई दबाव दिन नसकेकोले काम ढीला भएको स्थानीयले बताए । नगरले आफ्नै घरमा बस्न नपाएपछि बर्षमा १५ लाखबढी भाडा तिर्दै आएको छ ।
भवन वडा नंं. ६ को चरौंदी फाँटमा निर्माणाधिन छ । वडा अध्यक्ष रामप्रसाद कंडेलले भवनको दैनिक अनुगमन गरेपनि ठेकेदारलाई जिम्मेवार बनाउन नसकेको बताउँछन् । जिल्ला समन्वय समितिले पनि यो भवनको अनुगमन गरेको छ । समन्वय प्रमुख अमर थापाले भवन बन्न ढीला भैसकेको बताए । थापाले ठेकेदार पक्षलाई बोलाएर स्पष्टीकरण लिने तयारी गरेको बताएका छन् ।
१२ करोड ४१ लख ५५ हजार रुपैयाँको लागतमा ५ तले भवन बनाउनुपर्ने ठेकेदारसँग सम्झौता छ । गत असोजमा पहिलो तल्ला ढलान गरेकोले सो अबधि सम्मको रकम भुक्तानी भएको हो । ‘प्रमुख प्रशासकीय अधिकृत थम्मनसिंह गौतमले लिखित र मौखिक रुपमा ताकेता गरिएको बताए । ‘समयमा काम सक्न हामीले पत्राचार पनि गरेका छौं’ गौतमले भने, ‘काम ढीलाई भैरहेको छ, समयमा काम सक्न नगरपालिकाबाट सक्दो सहयोग गरेका छौं ।’
इन्जिनियर दाहालका अनुसार अहिले सम्म २ करोड ४८ लाख संचालन खर्च स्वरुप ठेकेदारले पेश्की लगेका थिए । उक्त पेश्कीबाट अहिले सम्म ४९ लाख मात्रै फछ्र्यौट भएको हो । दोश्रो बिल २ करोड १७ लाखको पेश भएपनि फरफारक भैनसकेको उनले बताए । ‘काम ढीला भएको गुनासो भैरहेकोले तेस्रो तल्लाको ढलान भएपछि मात्रै थप भुक्तानी गर्न सकिन्छ’ दाहालले भने । ठेकेदार कम्पनीका साइट इन्चार्ज धर्मसिंह पालीले भने शुरुवातमा ढीला भएपनि अब कामले गति लिने दाबी गरे ।





