बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बिद्यालय बसका चालक र शिक्षकलाई ट्राफिक सचेतना

बिद्यालय बसका चालक र शिक्षकलाई ट्राफिक सचेतना


  • ढोरपाटन संवाददाता
  • चैत्र २४ २०८०, शनिबार

बागलुङ/ट्राफिक प्रहरी कार्यालयले जिल्लामा रहेका बिद्यालय बसका चालकलाई एक दिने अनुशिक्षण तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालयका प्रिन्सिपल, शिक्षक, चालक र सहचालक राखेर अनुशिक्षण गरिएको हो ।
शनिबार सम्पन्न भएको अनुशिक्षणमा जिल्ला ट्राफिक प्रहरी प्रमुख सुमन निउरेले ट्राफिक नियम, सवारी दुर्घटनाका कारण, सवारी न्युनिकरणका उपाय, चालक सह–चालकले पालना गर्नुपर्ने नियम, ट्राफिक चिन्हबारे जानकारी गराएका थिए । सवारी दुर्घटना न्युनिकरणका उपाय, सडकरेखा तथा स्कुल बस निर्देशिका २०७४ को बिषयमा पनि प्रशिक्षण गरिएको थियो । ऐन आएपनि पूर्ण रुपमा पालना नभएको समेत सरोकारवालाको भनाई छ ।
सरकारले सातबर्ष अघि ल्याएको निर्देशिका पालना नगर्दा सडकमा दुर्घटना हुने, सवारी जाम हुने र त्यसले अनावस्यक अन्य घटना पनि सिर्जना गर्ने गरेको हो । जथाभावी संचालन भैरहेका बस तथा भ्यान र माइक्रोबसले नियम नमान्दा सडक दुर्घटना बढेको र सवारी जाम बढेको निउरेको भनाई छ ।
निर्देशिकामा उल्लेख भएका नियम स्कुल बसले पालना नगरेको भेटिएको हो । सिट क्षमताभन्दा बढी बालबालिका राख्न नपाइने निर्देशिकामा उल्लेख छ । तर, बिद्यालय समयमा कोचाकोच बिद्यार्थी राख्ने गरेका छन् । हरेक सवारी साधनमा आपतकालिन ढोका रहनुपर्ने, ढोका लगाएर सवारी चलाउनु पर्ने, प्राथमिक उपचार बक्स र अग्नि नियन्त्रण उपकरण राखिनुपर्ने नियम छ । तर उक्त निर्देशिका पालना भएको छैन ।
गाडीमा फोहोर फाल्ने बाल्टी समेत राख्नुपर्ने प्रावधान छ । सवारी जाँचपास प्रमाणपत्र साथैमा राखिनुपर्ने उल्लेख भएपनि अधिकांसले नराखेका हुन् । अधिकांस बसले सवारी जाँचपास बनाएकै छैनन्’ यातायात व्यवस्था कार्यालयकी प्रमुख गोमादेवी रिजालले भनिन्, ‘बिद्यार्थी बोकेको देखेपछि सबैले छाडिदिन्छन् भन्ने मान्यताले बेथिती बढेको छ ।’ हरेक बसले क्षमताबढी बिद्यार्थी बोक्ने गरेको पनि राम्रो नभएको उनले बताइन् ।
साना बालबालिका राखेको निहुँमा कतिपय बसले एकै सिटमा ३ देखि ४ जनासम्म राखेर पनि बिद्यार्थी ओासर्ने गर्छन् । उनीहरुको तोकिएको रुट र रोक्ने स्थान पनि उल्लेख छैन । उनले पहिलो चरणको सचेतना थालिसकेको बताए । पटक पटक यो समस्या देखियो भने कारवाही गर्ने उनले बताए । बैसाखदेखि शुरु हुने नयाँ शैक्षिक सत्रको क्रममा प्रभावकारी अनुगमन गरेर कारवाही थाल्ने निउरेले जानकारी दिए ।
नियम अनुसार कालो प्लेट नम्बर राखेर बिद्यार्थी ओसार्न नपाइने, पहेलो गाडीले भाडाका यात्री ओसार्न नपाउने, पुराना र थोत्रा गाडीमा बिद्यार्थी राख्न नपाउने नियम छ । बिग्रेका सिटबाट बालबालिकालाई चोटपटक लाग्ने खतरा हुने भएकोले त्यस्तो रोक लगाइएको हो ।
यसैबीच, ट्राफिक प्रहरीले अटो व्यवसायी र चालकलाई समेत सडक सुरक्षा र ट्राफिक नियमबारे सचेतना कार्यक्रम गरेको छ । सडकमा सवारी साधनलाई रोकेर उनीहरुले गरेका कमजोरी हेरेर सम्झाइबुझाइ पठाउने, नियम उल्लंघन गरेको भए जरिवाना समेत गर्ने गरिएको हो । कतिपय स्थानमा सडक नाटक समेत प्रस्तुत गरिएको छ भने दुर्घटनाका तस्बिरहरु राखेर सचेत समेत गराइएको हो ।
केही दिनअघि मध्यपहाडी लोकमार्गमा अटो रिक्सा दुर्घटना हुँदा ५ जना घाइते भएका थिए । तोकिएको रुटभन्दा बाहिर जाने, क्षमताभन्दा बढी यात्री राख्ने जस्ता क्रियाकलाप तत्काल रोक्न पनि चालकलाई निर्देशन दिइएको निउरेले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->