पोखरा/गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनियताको सपथ लिएका छन । एमाले नेता अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आजै मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । प्रदेश प्रमुख भट्टले उनलाई सपथ खुवाएका हुन । मुख्यमन्त्री अधिकारीसंगै बिनाविभागीय मन्त्रीको रुपमा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजिव गुरुङ (दिपक मनाङे) ले पनि आजै सपथ लिए । विश्वासको मत लिने बेलासम्म दुवैजना विना विभागीय मन्त्री रहनेछन । अधिकारी एमालेका २२ माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) को समर्थनमा मुख्यमन्त्री भएका हुन ।
उनलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले दुई वा त्यसभन्दा बढी दलको समर्थन रहेको भन्दै मुख्यमन्त्री नियुक्त गरेका हुन । यसअघि अल्पमतमा परेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही चैत २१ मा राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले चैत २७ गते दिउँसो ३ बजेसम्मका लागि समय सीमा तोक्दै नयाँ सरकारको आव्हान गरेका थिए । अधिकारीलाई ३१ सांसदको समर्थन रहेको भन्दै प्रदेश प्रमुख समक्ष आइतवार नै मुख्यमन्त्रीमा नियुक्तिका लागि दावी पेश गरिएको थियो । पाण्डेले पनि आफ्नो पक्षमा बहुमत जुटाएर फेरी मुख्यमन्त्री हुने दाउमा थिए ।
यसका लागि स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका र पछी फेरी स्वतन्त्रनै भएका राजिव गुरुङलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बनाएका थिए । चैत ५ गते कांग्रेस सरकारमा सहभागी गुरुङ फेरी एमाले माओवादी गठबन्धनमा सहभागी भएका हुन । मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीको नियुक्ती असंवैधानिक रहेको भन्दै नेपाली कांग्रेसले कानुनी उपचार खोज्ने भएको छ । गण्डकी प्रदेश सभामा कांग्रेस संसदीय दलको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले सभामुख र उपसभामुखले दल त्याग गरिनसकेको अवस्थामा उनीहरुलाई पनि राजनीतिक दलको सदस्य भनेर गणना गर्न नपाइने बताए । ‘उहाँहरुले राजीनामा दिएको भए संख्या पुग्थ्यो होला’ उनले भने, ‘संवैधानिक प्रक्रिया बाहिर गएर प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुभएको छ । हामी कानुनी उपचारको खोजीमा जान्छौ ।’





