
बागलुङ/चैतेदशैंका अवसरमा बागलुङमा परापूर्वकालदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक चैत्राष्टमी मेलाको जोडतोडका साथ तयारी भैरहेको छ । मेलाका लागि आयोजना गरिएका प्रतियोगिताहरुको व्यवस्थापनदेखि मेला भर्न आउने अतिथी र दर्शकका लागि मञ्च तथा मैदानको व्यवस्थापनको काम चलिरहेको हो । कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा चैतको ३० गतेदेखि मेला सुरु हुनेछ ।
मेलाका लागि सबै तयारी अन्तिम चरणमा पु¥याएको आयोजक गुठीले खर्च व्यवस्थापन भने कठिन भएको बताएको छ । मेलामा ५५ लाख रुपैयाँ खर्च हुने समितिको अनुमान छ । मेला हेर्न टिकटको व्यवस्था नभएको र सरोकारवालाको सहयोग नपाउँदा आर्थिक व्यवस्थापन कठिन भएको गुठीका अध्यक्ष कुमार खड्काले बताए ।
मेलाका लागि गुठीले १५ लाख रुपैयाँ दिने गरेको छ । प्रायोजकबाट १५ लाख अपेक्षा गरेको समितिले सोहीअनुसार सहआयोजक तथा प्रायोजक नभेटेको हो । मेला स्थलमा व्यवसायीक प्रयोजनका लागि आउँदा व्यहोर्नुपर्ने झण्झटका कारण व्यवासयीबाट सोचे जस्तो सहयोग नपाएको खड्का बताउँछन् । रमाईलो मेलाबाट १२ लाख, आर्थिक सहयोगबाट ३ लाख, मेला स्थलका स्टलबाट ३ लाख र दर्ता शुल्क २ लाख संकलन गर्ने लक्ष समितिको छ ।
मेलामा पुरुष भलिवल, लोक दोहोरी, छेलो लगायतका प्रतियोगिता आयोजना गरेको समितिले १९ लाख रुपैयाँ पुरस्कारमा मात्रै खर्च गर्ने छ । त्यो बाहेक प्रतियोगिताका निर्णयक र प्राबिधिक तथा अन्य सामाग्रीका लागि लाखौं खर्च हुने अनुमान छ । कलाकार, प्रचार प्रसार, सुरक्षा टेन्ट, इन्धन र पानी बिजुली समेत गरेर ५५ लाख रुपैयाँ खर्च हुने खड्काले बताए । यी सबै शिर्षकका खर्च जुटाउन स्थानीय, प्रदेश र संघीय सरकारले सहयोग नगरेको गुनासो खड्काले सुनाए ।
कला संस्कृति, स्थानीय उत्पादन, व्यापार धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेलाको आयोजना गरिएको भएपनि सरकारहरुको ध्यान नपुगेको उनको गुनासो थियो । बुधबार पत्रकार सम्मेलन गरेर खड्काले मेलाको तयारीबारे जानकारी गराएका थिए । पुरानो पररम्परागत रूपमा लाग्ने मेलाको स्वरूप परिवर्तन भएकाले आन्तरिक पर्यटक तान्न मेला महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
उनले मेलाले कालिका भगवती मन्दिरको ऐतिहासिक धार्मिक एवं साँस्कृतिक गरिमालाई अभिवृद्धि गर्ने अपेक्षा लिइएको बताए । मेलामा घरेलु उत्पादनलाई विशेष प्राथमिकता दिइने उनले बताए । चैत्राष्टमी मेला सञ्चालन हुने भएपछि देशका विभिन्न स्थानसहित बागलुङ जिल्लाका विभिन्न ठाउँबाट डालो, नाम्लो, डोका, डाली, नाङ्लो, ठेकासहित घरेलु उत्पादन बिक्रीका लागि व्यापारीहरू आइपुगेका छन् । मेलामा ५ लाख आन्तरिक पर्यटक आउने अपेक्षा गरिएको छ । मेला बैशाख ६ गतेसम्म सञ्चालन हुनेछ ।





