बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बसाइँसराइको प्रभावले वनमा डढेलो

बसाइँसराइको प्रभावले वनमा डढेलो

समयमै आगो निभाउन सक्ने जनशक्ति पनि छैन् गाउँमा ।


  • ढोरपाटन संवाददाता
  • बैशाख ३ २०८१, सोमबार
???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

बागलुङ/ डोकोभरी स्याउला बोकेर जंगल हुँदै घर हिँडेका गोठालाहरु आजभोली गाउँघरमा देखिँदैनन् । कुनै समय मलखादमा आइपुग्ने पतकर आजभोलि गाउँ छेउको पाखोबारीमै खात लागेको छ । पशुचौपाय पाल्नेहरु घट्दा बाँझो बारीकै घाँस पनि सुकेको छ । यता, चैत÷वैशाखको धूपले सुकेका स्याउला, झाडी र घाँसकै कारण वनमा आगलागीका घटना बढ्दो छ ।

यो वर्षको सुख्खा याम सुरु भएपछि बागलुङका वन क्षेत्रमध्ये ५० प्रतिशतमा आगलागी भइसकेको छ । पाखोबारी, घरछेउका जंगल र झाडीबाट सुरु भएको आगो घना वनक्षेत्रसम्म फैलिएका घटना डिभिजन वन कार्यालयमा सूचीकृत छन् । आगलागी हुने प्राकृतिक विपत्ति हो तर आगलागी भैसकेपछि नियन्त्रणमा लिने जनशक्ति गाउँघरमा छैनन् ।

‘हिजो मल बन्ने पातपतिंगर आज आगलागीका कारण भैरहेका छन्, खेती हुने जमिनमा घाँस र झाडी फैलिँदै घरसम्मै जंगलमा लागेको आगो आइपुग्छ,’ डिभिजन वन अधिकृत सरोज पन्थीले भने ‘बसाइँसराइका कारण गाउँ खाली हुँदा आगलागीका घटना बढे, आगो समयमा निभाउन सक्ने जनशक्ति पनि छैन् गाउँमा ।’

पातपतिंगरको उपयोग बढाउने, समय समयमा झाडी फँडानी गर्ने र पानीका स्रोत बढाउने हो भने आगलागीका घटनामा कमी आउनेमा सामुदायिक वनका उपभोक्ता पनि सहमत छन् । ‘जंगलमा लागेको आगो निभाउन सकिन्थ्यो, न हामीसँग पर्याप्त पानीका स्रोत छन्, न आगो निभाउने औजार,’ रामरेखा सामुदायिक वनका उपभोक्ता कृष्ण शर्माले भने ‘नियम बनाएर तीन÷तीन महिनामा झाडी फँडानी गरौं, पातपतिंगरलाई मलको रुपमा विकास गरौं, यसमा राज्यले सहयोग गरोस् ।’

आगो आफै लाग्दैन् । कतिपय आगो मानवीय क्रियाकलापमा हुने त्रुटीबाट डढेलो बन्छ भने कतिपय ठाउँमा नियतबस् आगो लगाइन्छ । नियतवश आगो लगाउनेलाई कारवाही गर्ने कानूनी व्यवस्था छ । तर, सूचनाको अभावमा आगलागी जस्तो आपराधिक घटनामा संलग्न कानूनको दायरामा आउँदैनन् । ‘घर छेउको जंगलमा आगो लाग्दा सबै रमिते हुन्छन्, प्रहरी आएन भनेर आलोचना गर्छन् तर समयमा सूचना दिँदैनन्,’ प्रहरी उपरीक्षक ऋषिराम कँडेल भन्छन् ‘आगलागी गर्ने व्यक्तिको विषयमा सूचना पाए कारवाही हुन्छ, अरुलाई सिकाइ ।’ आगो निभाउन आउने सूचना ढिलागरी आउँदा जोखिमपूर्ण अबस्थामा बिना बजेट र औजार आगोसँग प्रहरी खेल्नुपरेको गुनासो कँडेलले गरे ।

घाँस राम्रो पलाउने, जंगली जनावर तथा पंक्षीहरुको सहजै सिकार गर्न पाइने लोभका कारण मानव सिर्जित आगलागी बढेको राष्ट्रिय प्रकृति संरक्षण कोष गण्डकी जलाधार, जलवायु उत्थानशिल आयोजना पोखराका अधिकृत सुनिल सापकोटा बताउँछन् । पश्चिमाहरुको सिको गरेर झाडीमा आगो लगाउँदा वन मासिएको उनको बुझाइ छ ।

वनजंगल, जडिबुटी र वातावरण संरक्षणका विषयमा जनचेतनाको अभावले आगलागीका घटना बढेको जिल्ला बिपत् व्यवस्थापन समितिको ठम्याइ पनि छ । पोखरी, कुवाजस्ता पानीका स्रोत मासिनु, झाडी तथा बुट्यान क्षेत्र बढ्नु र मानिसमा चेतनाको अभावकै कारण हरेक बर्ष घटना दोहोरिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गल बरालले बताए ।

उपभोक्ता र सरोकारवालालाई तालिम

डिभिजन वन कार्यालयको आयोजना र राष्ट्रिय प्रकृति संरक्षण कोष गण्डकी जलाधार, जलवायू उत्थानशिल आयोजनाको सहयोगमा वन डढेलो व्यवस्थापनसम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ । बढ्दो डढेको नियन्त्रणका लागि सामुदायिक वनका उपभोक्ता तथा सरोकारवालाका लागि डढेकोका कारण मानव जीवन र वातावरणमा परिरहेको प्रभाव तथा डढेको नियन्त्रका लागि अपनाउनु पर्ने सतर्कताका बिषयमा तालिममा जानकारी गराइएको र कार्यालय परिसरमा आगो नियन्त्रण अभ्यास गराइएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->