बागलुङ/विद्यलय परिसरमा जडीबुटीको बगैंचा । जडिबुटीको बगैंचा विद्यार्थीले बनाएका हुन् । विद्यालयको पुरानो भवन उपयोग गरेर च्याउखेती । विद्यालय नजिकैको बारीमा उखुखेती फस्टाईरहेको छ । अदुवा, बेसारजस्ता मसला बाली लगाउने र उकेर्ने विद्यार्थी आफै गर्छन् ।
बागलुङको काठेखोला गाउँपालिका–७ रेशस्थित रेश नुन्थला माध्यामिक विद्यालयका विद्यार्थीको दैनिकी बनेका छन् यी काम । पाठ्यक्रममा हुने पठनपाठन विद्यालयको कक्षा कोठाभित्र हुन्छ । त्यो पढाईले मात्रै सबै विद्यार्थीको जीवनयापन गर्ने कला सिकाउँछ भन्ने छैन् । तर विद्यालयले पाठ्यक्रमभन्दा बाहिरका जुन क्रियाकलापमा विद्यार्थीलाई सहभागि गराईरहेको छ, त्यो विद्यार्थीको परिवारको दिनदैनिकीसँग जोडिएका बिषय हुन् । जसले उनीहरुलाई कर्म गर्न सिकाउँछन् र जीवनयापन गर्न बाटो देखाउँछ ।
विद्यालयले जग्गा भाडामा लिएर विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप गर्ने दिन कृषि कर्ममा लगाउने गरेको प्रधानाध्यापक ओम बहादुर थापाले बताए । व्यवहारिक र प्राविधिक ज्ञान अहिलेको आवश्यकता भएको भन्दै विद्यालयले सीप सिकाउँछ, कर्म देखाउँछ । विद्यालयका काममा वडा कार्यालय सहयात्री बनेको छ । गाउँपालिकाले सहयोग गर्छ । विद्यार्थीले उत्पादन गर्ने तरकारी तथा मसलाबाली विद्यालयले नै बजारीकरण गर्छ । उखु पनि विद्यालयले बिक्री गर्छ । ‘हामीले गरेका कामले विद्यार्थीलाई सिकाई र विद्यालयलाई स्रोत भैरहेको छ’ थापा भन्छन् ‘यही कमाईबाट न्युन आय भएका परिवारका बालबालिकालाई छात्राबृत्ती दिन्छौं, जसले उनीहरुको पढाईलाई निरन्तरता दिन सहयोग गरिरहेको छ ।’
लोकसेवाका निशुल्क तयारी कक्षा
काठेखोला गाउँपालिकामा व्यवहारीक ज्ञान दिन रेश नुन्थला र वडा नं. ७ ले गरेको यो कदम नयाँ हो । यहाँ युवाहरुलाई रोजगारीसँग जोड्न गाउँपालिकाले लोकसेवा आयोगका तयारी कक्षा चलाउने गरेको छ । गत वर्ष वडा नं. ३ धम्जाको पहलमा लोकसेवा तयारी कक्षा सञ्चालन भएको काठेखोलामा यो वर्ष पालिका स्तरीय तयारी तीन महिने कक्षा सञ्चालन गरिने छ । बढ्दो शैक्षिक वेरोजगार न्यूनीकरण गर्न र युवा शक्तिलाई स्वदेशमै अड्याउने उद्देश्यले तीन महिने तयारी कक्षाको व्यवस्थापन गरिएको हो ।
लोकसेवा आयोगले लिने नायव सुब्बा र खरिदारको तयारी कक्षा पालिकाले सञ्चालन गरेको हो । पढेका युवा वेरोजगार हुँदा पढेर मात्रै के गर्ने भन्ने बुझाई युवामा आउन थालेको भन्दै सरकारी सेवामा प्रवेशका लागि सहयोगी बन्न कक्षा सञ्चालन गरेको गाउँपालिका उपाध्यक्ष तिलक थापाले बताए । काठमाडौँ, पोखरा तथा अन्य ठुला सहरमा हुने कक्षा वडातहमै हुँदा युवाहरुलाई रोजगारीसँग जोडिन सहज हुने गाउँपालिकाको बुझाई छ ।
२० जना विद्यार्थी निशुल्क रुपमा प्राविधिक शिक्षा
काठेखोला गाउँपालिका वडा नं. ४ का अनिल विश्वकर्मा निःशुल्क रुपमा प्राविधिक शिक्षा (होटेल म्यानेजमेन्ट) पढ्न पाउँदा दंग छन् । अघिल्लो बर्षको एसईईपछि के पढ्ने भन्ने अन्यौलमा रहेका बेला उनले एउटा सूचना पाए । प्राविधिक बिषय पढ्न चाहने तर पछि परेको समुदायका विद्यार्थीलाई गाउँपालिकाले सहयोग गर्ने । परिवारको आर्थिक अवस्था कमजोर भएकाले रोजे जस्तो विषय पढ्ने उनको अवस्था थिएन । यो सूचनाले उनलाई निकै राहत मशसुस भयो । तत्कालै वडा कार्यालय पुगे र फाराम भरे । वडा कार्यालयले पनि उनलाई छनोट गर्यो । अहिले उनी धवालागिरी प्राबिधिक शिक्षालय लेते मुस्ताङमा पढ्छन् । ‘विद्यार्थीहरुले निकै मेहनत गरेका छन्, गाउँपालिकाले पठाएका उनीलगायत सबैको मेहेनत राम्रो छ’ शिक्षालय प्रमुख खड्क बहादुर सुब्बाले भने ।
काठेखोला गाउँपालिकाले गाउँसभामार्फत पालिकाभित्रका २० जना विपन्न विद्यार्थीलाई छात्रवृत्तिमा प्राविधिक शिक्षा पढाउने निर्णय गरेको थियो । त्यो निर्णय कार्यान्वयनको चरणमा आईपुग्दा २२ जना विद्यार्थी अध्ययनका लागि धौलागिरि प्राविधिक शिक्षालय लेते मुस्ताङ पुगेका छन् । पूर्ण छात्रवृत्तिमा अध्ययनका लागि गाउँपालिकाले आह्वान गरेको सूचनामा २५ जनाको निवेदन परेको थियो । त्यसबाट छानिएका २२ जना छनोट गरिएको काठेखोला गाउँपालिकाका प्रवक्ता टिका संगम विकले बताए । ‘हामीले पहिले २० जनाका लागि निर्णय गरेका थियौं, २५ जनाको आवेदन परेपनि परीक्षा लिने दिन २२ जना उपस्थित भए’ विकले भने, ‘उनीहरूलाई पालिकाले प्राविधिक शिक्षा पढाउन पठाएको छ, पढाई सन्तोषजनक छ ।’ भौतिक विकास मात्रै विकास हो भन्ने धारणा परिवर्तन गरी मानवीय विकास र नागरिकलाई आत्मनिर्भर बनाउन यो कदम चालिएको विक बताउँछन् ।
शिक्षाले शैक्षिक बेरोजगार उत्पादन गर्ने काम गरेकाले गाउँपालिकाले प्राविधिक शिक्षामा जोड दिएको छ । ‘हाम्रै पालिकामा काम गर्ने जनशक्ति समेत बाहिरबाट ल्याउनुपर्ने अवस्था छ, दक्ष जनशक्तिका लागि रोजगारीको राम्रो अवसर छन्’ पालिका उपाध्यक्ष थापा भन्छन्, ‘सके रोजगार, नभए स्वरोजगार बनाउने तर बेरोजगार रहन नदिने हाम्रो अभियान हो ।’
होटल म्यानेजमेन्ट, कुक, बाली विज्ञान र पशु प्राविधिक अध्ययनका लागि २० छानिएका थिए । नागरिकलाई आत्मनिर्भर बनाउने उद्देश्य अनुरुप यो काम थालिएको गाउँपालिका अध्यक्ष राजु थापाले बताए । १२ जनाले प्रि–डिप्लोको १८ महिने र १० जनाले डिप्लोमा ३ वर्षे कोर्ष अध्ययन गर्नेछन् । उनीहरूको सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोर्ने छ । एकजना विद्यार्थीका लागि वार्षिक झण्डै ७५ हजार रुपैयाँ खर्च लाग्ने गाउँपालिकाको अनुमान छ । विद्यार्थीका अभिभावकले एक पैसा पनि खर्च गर्न नपर्ने गरी पालिकाले खर्च व्यहोर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले बताए ।
शिक्षालयले गाउँपालिकाले पछि परेको समुदायका युवाहरुलाई पठनपाठन गराउने भनेकाले सोही अनुसारको व्यवस्थापन गरेर अवसर दिईएको बताएको छ । ‘हामीले पहिले काठेखोलामा तालिमहरु चलाएका थियौं, अध्यक्ष ज्युले पछि परेको समुदायका विद्यार्थी पढाउन पर्यो भन्नुभयो, हामीले सहज स्वीकार्याै” शिक्षालय प्रमुख खडक बहादुर सुब्बा भन्छन् ‘करिकुलम अनुसार पढाई सकेपछि उनीहरु कहिँ न कहिँ रोजगारीसँग जोडिन्छन् ।’ प्राविधिक शिक्षा लिएकाहरुका लागि देश तथा विदेशमा समेत प्रसस्तै रोजगारीका अवसर रहेकाले गाउँपालिकाले यो बाटो रोजेको हो । विद्यालयलाई प्रबिधिमैत्री र व्यवहारीक सीप सहितको अध्ययनस्थल बनाउँदा नागरिक आम्दानीसँग जोडिने अध्यक्ष थापा बताउँछन् ।





