बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सडक मानव नरहने बनाउने उद्घोष

सडक मानव नरहने बनाउने उद्घोष


  • ढोरपाटन संवाददाता
  • बैशाख ९ २०८१, आइतबार

बागलुङ/मानवसेवा आश्रमले कोही पनि सडक मानव नरहने गरी अभियान थालेको छ । आश्रमका संचालकले दुइचार बर्षमै यो अभियान पुरा गर्ने लक्ष समेत सुनाए ।
आश्रमले ल्याएको अभियानलाई सफल पार्न सबैको साथ र सहयोग चाहिएको सरोकारवालाले बताएका छन् । सामाजिक विकास कार्यालय बागलुङले आश्रमको सहकार्यमा आयोजना गरेको अन्तरक्रियामा सहभागिले सडकमा कोही पनि अलपत्र नभेटिने गरी सबैको साथ र सहयोगमा काम गर्नुपर्ने धारणा राखे ।
साथै, सहभागीले मानबीय विकासमा राज्यको लगानी कम भएको गुनासो गरे । उनीहरुले सडकमा रहेका मानवको संरक्षण र व्यवस्थापन गर्ने काम राज्यको भएको समेत बताए । ‘सडकमा अलपत्र परेका मानिसको उद्दार गर्ने काम राज्यको हो, तर आश्रमले संरक्षण गरिरहेपनि राज्यको साथ र सहयोग भएको छैन’ जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले भने, ‘राज्यले दायित्व बोध गर्दा कोही सडकमा आउँदैन ।’ घर परिवारभित्रै आफन्तलाई उचित संहार गर्ने व्यवस्था भएमा सडकमा मानिस देख्नै नपर्ने समेत उनले बताए ।
आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले राज्यले कम्तिमा ६० देखि ७० प्रतिशत लगानीको साथ दिएमा ३० प्रतिशत खर्च आम नागरिकले पनि सहयोग गर्न सक्ने बताए । शुरुमा ९० प्रतिशत नागरिककै साथबाट चलेको आश्रममा आश्रित बढेपछि राज्यले अहिले ४० प्रतिशत लगानी गरेको हो । त्यो पनि राज्यले असक्त अपांग व्यक्तिलाई दिने सामाजिक सुरक्षा भत्तामार्फत मात्रै सम्बोधन भएको हो । राज्यका निकायले उचित साथ दिएमा आश्रमलाई सहजै संचालन गर्न सकिने बताए ।
बागलुङमा पनि आश्रमको भवन निर्माणाधिन छ । तर उक्त भवन पुरा भएको छैन । हाल आश्रममा रहेका ५७ जनामध्ये ७ जना त बालबालिका समेत छन् । उनीहरुको रेखदेख, पढाइ लगायतको चुनौती छ । हरेक महिना प्रतिव्यक्ति झण्डै १५ हजार रुपैयाँ खर्च हुने गरेको आश्रम संचालक बिपना तामाङको तथ्यांक छ । हाल निर्माणाधिन भवन बनिसकेर उचित कोष बनाउन सकेमा हालका ५७ जनाबाहेक १ सय सम्मलाई सेवा दिन सकिने अवस्था रहेको छ । धेरै मानिस अझै सम्पर्कमा रहेको तामाङले जानकारी दिइन् ।
कार्यक्रममा बडिगाडकी अध्यक्ष गण्डकी थापा, तमानखोलाका अध्यक्ष जोकलाल बुढा, निसीखोलाका अध्यक्ष सूर्यबहादुर घर्ती, काठेखोलाका उपाध्यक्ष तेजबहादुर थापा, सामुदायिक प्रहरी सेवा गुठीकी अध्यक्ष लिला खड्का, आश्रमका अभिभावकको रुपमा शिव खड्काले आश्रमलाई सशक्त बनाउन सकेमा सडकमा कोही पनि मानिस नभेटिने बताए । उनले अभियान अघि बढाउन समाजबाटै सहयोग आएको बताए ।
हाल दुइ तले भवन निर्माण भैरहेको आश्रम निर्माण समितिको समेत उनी अध्यक्ष हुन् । खड्का नेतृत्वमा सरिता गौतम, लक्ष्मी बास्कोटा लगायतले साथ दिइरहेको छ । आश्रमका लागि बागलुङ, पर्वत र म्याग्दीका पालिकाहरुले साथ दिएका छन् ।
कार्यक्रममा अधिकारीले मानवसेवा आश्रम स्थापनादेखि हाल सम्मको प्रस्तुतीकरण समेत गरेका थिए । उक्त अवसरमा उनले आश्रमको अभियानलाई सार्थक बनाउने अभियानमा सहयोग गर्नेलाई धन्यवाद समेत दिए । उनले सकारात्मक सोचको विकास गर्न विभिन्न पालिका तहमा पुगेर प्रशिक्षण गर्ने र आश्रमलाई व्यवस्थापन गर्न सहयोग समेत जुटाउने बताए ।
सामाजिक विकास कार्यालय बागलुङका निमित्त प्रमुख कृष्णहरि अधिकारीले आश्रम निर्माणदेखि ग्रामीण तहसम्मका विभिन्न स्थानमा सामाजिक भवन निर्माणमा सहयोग गरेको बताए । भौतिक विकाससँगै सामाजिक विकासमा पनि लगानी गर्ने लक्षले आश्रमका लागि लगानी गरिएको समेत उनले जानकारी दिए । आठ बर्ष अघि बागलुङका सामाजिक अगुवाहरुले आश्रमको शाखा स्थापना गरेका थिए । त्यसपछि आश्रमले १ सय ५० बढीलाई उद्दार गरेको छ । ती मध्ये कतिपयलाई भने घरपरिवार भेटाएर पारिवारिक पुर्नमिलन समेत गराइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->