फाइल तस्बिर
बागलुङ/अमेरिका जाने सपना बोकेका ताराखोला गाउँपालिका ५ का बालसिं दमैले ३० लाख रुपैयाँ बिना प्रमाण दलाललाई बुझाए । म्याग्दीका इन्द्रबहादुर गलामी नामको व्यक्तिलाई उनले त्यतिधेरै रुपैयाँ दिएका थिए । थप १० लाख त अर्कैको हातमा पठाइदिए ।
उक्त रकम तिरिसकेपछि उनी न अमेरिका जान पाए, न पैसा फिर्ता भयो । खातामा पठाएको रकम पनि बैदेशिक रोजगारी भनेर खुलेन । हातैमा दिएको रकमको कुनै प्रमाण छैन । रकम हिनामिना भएपछि बल्ल उनी झल्यास्स भए ।
उनले बुझाएको रकममा बैदेशिक रोजगारी भन्ने बिषय नखुलेकोले रकम फिर्ता पाउने आस कम भएको हो । जिल्ला प्रशासनमार्फत ठगी मुद्दा लगाउन उनी पटक पटक भौंतारिएका छन् । उनले नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान व्युरोमा पनि उजुरी गरेको बताए । ‘नजानेर लाखौं रकम डुबाइयो, अहिले गाउँमै बस्न पनि नसकिने भयो’ दमैले भने, ‘ऋण खोजेर बुझाएको रकम नआएपछि अब कसरी तिर्ने होला ?’ जिल्ला प्रशासनले पनि पहल गरिदिनुपर्ने उनले माग गरे ।
अमेरिका जाने मोहले छुट्टाछुट्टै व्यक्तिमार्फत रकम बुझाएपछि बानपा ४ की तारा श्रेष्ठले २६ लाख गुमाइन् । उनी न अमेरिका जान सकिन, न उनको रकम उठ्न सक्यो । कहिले दुई लाख, कहिले चार लाख गर्दै फरक फरक व्यक्तिलाई २६ लाख रुपैयाँ तिरेको उनले बताइन् । बिल भौचर नभएकोले प्रशासनले पनि उनको रकम फिर्ता गर्न सकेन ।
रोजगारीका लागि बिदेश जान खोज्ने युवा पनि आफन्त र छिमेकीबाट यसरी नै ठगिएका छन् । बागलुङको जैमिनी नगरपालिका १ का कृष्ण पौडेलले माल्टा पठाउने भन्दै १७ लाख बढी ठगेको भन्दै जिल्ला प्रशासनमा रहेको आप्रवासी श्रोत केन्द्रमा उजुरी परेको छ । पौडेलले जैमिनीका २ जना र म्याग्दीका एक युवाबाट रकम असुल गरेको खुलेको हो । माघ २५ गते उनीहरुले केन्द्रमा उजुरी गरेका थिए । पीडितको उजुरीको आधारमा केन्द्रले ठगी गर्नेको खोजी गरेको छ । प्रशासनमार्फत उनका आफन्तलाई भेटेर सहजीकरण भैरहेको केन्द्रका प्रमुख मीनप्रसाद उपाध्यायले बताए । त्यसबाहेक रकम फिर्ताका लागि बैदेशिक रोजगार बोर्डमार्फत कानूनी प्रक्रिया समेत शुरु भैसकेको हो । निरन्तर परामर्श दिंदापनि न्युनतम सूचक पुरा नभएकाहरुको रकम फिर्ता गर्ने काम कठिन भएको उपाध्यायले बताए । ‘बैदेशिक रोजगारीका लागि दिएको खुल्नासाथ कडा नियम लागू हुन्छ’ उनले भने, ‘सामान्य लेनदेन जस्तो बिषय मिलाउन कठिन हुँदा ठगिनेहरु बढी छन् ।’
केन्द्रले चालु आर्थिक बर्ष मात्रै राहदानी बनाएकामध्ये ७ हजार ७ सय ४७ जनालाई परामर्श सेवा दिइसकेको केन्द्रकी परामर्शदाता गंगा शर्मा रिजालले बताइन् । ‘कोही पनि ठगीमा नपरुन् भनेर परामर्श गराउँछौं, रकम दिंदा प्रमाण राख्नुहोस्, बैंक भौचारमार्फत दिनुहोस् भनेका छौं’ रिजालले भनिन्, ‘बैदेशिक रोजगारीको व्यहोरा लेख्न पनि भनेका छौं ।’ नगदमा कारोवार गर्ने, रकम दिंदा व्यहोरा उल्लेख नगर्ने कारणले धेरैजना ठगीमा परेको उनले बताइन् । चालु बर्ष मात्रै बागलुङबाट १२ हजार ६ सयले बैदेशिक रोजगारीका लागि श्रम स्विकृति पाएका छन् । ठगीमा परेकाहरुमध्ये अधिकांस स्वीकृतीमा नपरेकाहरु छन् । स्वीकृतिमा परेकाहरुले पनि बढी रकम तिरेको र ठगीमा पर्दा जान नपाउने समेत छन् ।
सूचना प्रवाह पछि ठगिनेहरु उजुरी गर्न भने आउन थालेका छन् । चालु आबमा मात्रै केन्द्रमा १ सय १२ जनाको उजुरी परेकोमा ५६ जना ठगीमा परेका छन् । ती मध्ये ४८ जनालाई न्याय दिन सकिएको उपाध्यायले जानकारी दिए । गतबर्र्ष ८७ उजुरी परेकोमा ६० उजुरीकर्ताको समस्या समाधान भएको थियो ।





