बागलुङ/आदिवासी जनजाति सम्बन्धी तीनदिने सशक्तिकरण कार्यक्रम कुश्मिसेरामा सम्पन्न भएको छ । समापनमा बोल्दै जैमिनी नगरपालिकाका प्रमुख नर बहादुर पुनले आदिवासी जनजातिहरु उत्पादनसँग जोडिनुपर्नेमा जोड दिए ।
उत्पादन र सीप आर्जनले व्यक्तिगत क्षमता वृद्धिमा सहयोग गर्ने हुँदा सिकेका कुरालाई व्यवहारमा उतार्न सके जीविकोपार्जन सहज हुने पुनको भनाई थियो ।
नगर उपप्रमुख हरिहर शर्माले आदिवासी जनजाति समुदाय अवसर र अधिकारका लागि सदैव सक्रिय हुन आग्रह गर्दै सशक्तिकरण कार्यक्रमले सहयोग गर्ने बताए । ‘आ–आफ्नो समुदायको भाषा, सँस्कृतीको संरक्षण, सम्वद्र्वन र सुधार सोही समुदायको प्रमुख जिम्मेवारी हो’ उपप्रमुख शर्माले भने ।
जैमिनीका प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर भुजेलले सबै समुदायको आ–आफ्नै पहिचान भएको हुँदा आफ्नो पहिचान संरक्षणको मुख्य दायित्व सोही समुदायको रहने बताए । हरेक क्षेत्रमा प्राप्त हुने अवसरमा सक्रिय भई सहभागिता र अर्थपूर्ण प्रतिनिधित्वका लागि पहुँचमा विस्तार गर्न भुजेलको सुझाव थियो ।
कार्यक्रममा जैमिनीका आदिवासी जनजाति समुदायअन्तर्गत मगर, छन्त्याल, गुरुङ, भुजेल, चेपाङ, नेवार र माझी गरी सात समुदायका ३३ जनाको सहभागिता थियो । कार्यक्रममा आदिवासी जनजातिबारे अधिवक्ता तेजेन्द्र बहादुर थापाले नेतृत्व विकास र वाक कलाबारे पत्रकार दिपेन्द्र श्रेष्ठले सहजीकरण गरेका थिए । कार्यक्रमका सहभागीले आदिवासी जनजातिका विभन्न सवाल, अवस्था र कानुनी प्रावधान, नेतृत्व विकास र वाक कलाबारे जानकारी पाउँदा सहज भएको बताएका थिए ।
कार्यक्रममा जैमिनी नगरपालिका ३ का वडाध्यक्ष कृष्ण बहादुर भुजेल, सहभागी लालमाया पुन थापा र चित्र बहादुर छन्त्यालले मन्तव्य राखेका थिए ।





