पोखरा/गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको अगुवाईमा पोखरामा केस डाइग्नोसिस एण्ड एनालाइसिस प्रतियोगिता बिहिबारबाट सुरु भएको छ । दुईदिने प्रतियोगिता एमबिएस विद्यार्थीको क्षमता अभिवृद्धि गराउने लक्ष्य सहित पोखरामा पहिलो पटक आयोजना गरिएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष श्रीराम सुवेदीले पोखरामा पहिलो पटक एमबिएस विद्यार्थीहरुलाई लक्षित गरी केससँग सम्बन्धित प्रतियोगिता निकै उपयोगी हुने बताए । क्याम्पस प्रमुख धर्मराज बरालले पोखरा र आसपासमा रहेका क्याम्पसबिचको सम्बन्धलाई सुमधुर सँगै ज्ञान आदानप्रदान गर्नु नै यस प्रतियोगिताको मुल उद्धेश्य रहेको बताए ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन एवं क्युएए प्राप्त क्याम्पसले गुणस्तरीय शिक्षामा सँगै यस्ता क्रियाकलापको संचालनमा जोड दिदै आएको उनको भनाई छ । सोही अवसरमा आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले सामुदायिक क्याम्पस सिमित साधन श्रोतबाट संचालित भएपनि यसको प्रभावकारिता भने उल्लेखनिय रहेको बताए । सरकारबाट यस क्षेत्रमा बजेटको ५ प्रतिशत मात्र खर्च आउने गरेको बताउदै उनले यस क्याम्पसले आन्तरिक क्रियाकलापमा बाहिरी क्याम्पसलाई पनि जोड्नु प्रशंसनीय काम भएको बताए ।
पृथ्वीनारायण क्याम्पसका व्यवस्थापन संकायका सहायक प्रमुख ध्रुव बुढाथोकीले क्षमता अभिवद्धिका निम्ति अध्यापनमा सिप सिक्ने प्रविधिको बिकास गर्न आवश्यक रहेको बताए । उनले गुणस्तरीयतामा सबैको विश्वास हुने हुँदा बजारले खोज्ने जनशक्ति हुन जरुरी रहेको जनाए ।
दुईदिने यस प्रतियोगितामा बिहिबार विद्यार्थीलाई पोखरा विश्वविद्यालयका विशेषज्ञ प्राडा उमेश सिहं यादवले तयार पारेको केस उपलब्ध गराइएको कार्यक्रम संयोजक राजकुमार सुवेदीले जनाए । हरेक क्याम्पसबाट ३÷३ जना प्रतिस्पर्धी एवं क्याम्पस प्रतिनिधि सहित ६ टिमको सहभागीता रहेको छ । जसमा गुप्तेश्वर क्याम्पसबाट २ र अन्य जनप्रिय क्याम्पस, कन्या क्याम्पस, पिएन क्याम्पस र दमौलीको आदिकवि भानुभक्त क्याम्पसबाट १÷१ जना टिमको सहभागिता रहेको छ ।
उपलब्ध गराइएको केसको प्रतियोगीहरुले १ घण्टामा घटनाको निदान गरेका थिए । सोही घटनाको निदानलाई हुबहु भोली शुक्रबार विशेषज्ञ प्राडा यादव माझ प्रस्तुतीकरण गर्ने संयोजक सुवेदीले जनाए
। सोही घटना निदान र प्रस्तुतीकरणको आधारमा विजयी घोषणा हुनेछ । विजयी हुने क्याम्पसले ५ हजार नगद सहित प्रमाण–पत्र प्राप्त गर्नेछ भने दोस्रो र तेस्रो हुनेले क्रमशः ४ हजार, ३ हजार सहित प्रमाण पत्र प्राप्त गर्नेछन् ।





