पोखरा/गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा आयोजित केस डाइग्नोसिस एण्ड एनालाइसिस प्रतियोगितामा कन्या क्याम्पस पोखराका ममता बास्तोला, शैव्या जोशी र विनीता सुवेदीको समुह प्रथम भएको छ ।
पोखरामा पहिलो पटक व्यवस्थापन संकाय एम.वी.एस कार्यक्रममा अध्ययनरत विद्यार्थी विच प्रतिस्पर्धा गरिएको थियो । कार्यक्रममा विद्यार्थीले लेखन तथा प्रस्तुतीकरण गरेका थिए । त्यसैगरी गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका मनु थापा, सुमन ढकाल र प्रतिक क्षेत्रीको समुह द्वितिय र आदिकवी भानुभक्त क्याम्पस तनहुँका विद्यार्थी सुनीता राना, पुजा भण्डारी र सविना श्रेष्ठको समूह तृतीय भएका छन । बिजयी समुहलाई नगद पुरस्कार र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।
५ क्याम्पसबाट ३÷३ जना प्रतिस्पर्धी सहित ६ टिमको सहभागीता रहेको उक्त प्रतियोगितमा गुप्तेश्वर क्याम्पस, जनप्रिय क्याम्पस, कन्या क्याम्पस, पिएन क्याम्पस र दमौलीको आदिकवि भानुभक्त क्याम्पस रहेको थिए । कार्यक्रममा विज्ञका रुपमा रहनुभएका पोखरा विश्वविद्यालयका प्राडा उमेश सिंह यादवले विद्यार्थीको प्रस्तुती माथि छलफल तथा पृष्ठपोषण गरेका थिए ।
गुप्तेश्वर महादेव क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले एमबिएस विद्यार्थीको क्षमता अभिवृद्धि गराउने लक्ष्य सहित आयोजना गरिएको प्रतियोगिता निकै उपलब्धिमुलक भएको बताए । क्याम्पस प्रमुख धर्मराज बरालले पोखरा आसपासमा रहेका क्याम्पसबिचको सम्बन्ध सँगै ज्ञान आदानप्रदानमा अबका दिनमा पनि यस्ता कार्यक्रम जारी राख्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रम संयोजक राजकुमार सुवेदीको अध्यक्षतामा भएको प्रतियोगिताको संचालन बाह्य क्रियाकलाप संयोजक दुर्गानाथ पौडेलले गरेका थिए ।





