बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

विष्णुपादुकामा लागूपदार्थ दुर्व्यसनविरुद्धको सचेतना

विष्णुपादुकामा लागूपदार्थ दुर्व्यसनविरुद्धको सचेतना


  • ढोरपाटन संवाददाता
  • बैशाख १४ २०८१, शुक्रबार

पोखरा /पोखरा–२५ हेमजामा रहेको विष्णुपादुका माध्यमिक विद्यालयमा लागूपदार्थ दुर्व्यसनविरुद्धको अभिमुखिकरण तथा कानूनी व्यवस्था सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । हेमजा साहित्य प्रतिष्ठान नेपालले संस्था स्थापनाको रजत वर्षको अवसर पारेर शुक्रबार उक्त कार्यक्रम आयोजना गरेको हो ।

विद्यालयका माध्यमिक तह इन्चार्ज गणेशबहादुर थापाले बढ्दो उमेरका भाइबहिनीलाई समाज र संगतले लागूपदार्थसँग आकर्षित गर्ने भएकाले सचेतना कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा प्रमुख सहजकर्ताका रूपमा नौलो घुम्ती नेपाल लागूपदार्थ परामर्श तथा पुनस्र्थापना केन्द्रका सहजकर्ता लक्ष्मण पन्त र सहजकर्तामा रूपेश थापा रहेका थिए ।

पन्तले निर्धारित समयमा उत्पादन र फाइदा लिन त्यसको पूर्वतयारी पहिल्यैबाट जरुरी हुने भएकाले युवा अवस्थाका युवायुवतीलाई ८ कक्षादेखि नै लागूपदार्थ दुव्र्यसनीबारेको परामर्श आवश्यक रहेको धारणा राखे । उनले विद्यार्थी भाइबहिनीलाई मोवाइल, टिकटक र फेसबुकमा भुल्नुभन्दा किताबमा भुल्नु असल मानव बन्नका लागि सबैभन्दा उत्तम विकल्प रहेको सुझाए ।

रूपेश थापाले युवापुस्तामा राम्रो नराम्रो भनेर ज्ञानको कमी हुँदाका कारण पनि लागूपदार्थको लत जानेर भन्दा अन्जानमा बस्नसक्ने भएकाले त्यसप्रति सचेत रहनुपर्ने धारणा राखे । मानवअधिकार पत्रकार संघ हुर्जाका अध्यक्ष असफल गौतमले सचेतना नै दुर्घटना न्यूनिकरणको पहिलो आधार भएकाले प्रतिष्ठानले विद्यार्थी र समुदाय केन्द्रित कार्यक्रम गरेर उत्कृष्ट नमूना प्रस्तुत गरेको बताए । प्रतिष्ठानका सह–सचिव गंगा त्रिपाठीले प्रतिष्ठानका रजतजयन्ती विशेष प्रत्येक गतिविधिलाई सफल पार्न सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरिन् । कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै दिवाकर पौडेलले प्रतिष्ठानले स्थापनाको रजत वर्षमा विगतका भन्दा पृथक २५ कार्यक्रम गरेर साहित्यमात्र नभएर सभ्य समाज निर्माणका लागि पनि प्रतिष्ठान अगाडि बढेको धारणा राखे ।

कार्यक्रमका सभाध्यक्ष बलराम पौडेलले २५ विशेष कार्यक्रममध्ये अब सात वटा कार्यक्रम बाँकी रहेकाले बाँकी कार्यक्रमलाई पनि साथ, सहयोग र समर्थन जुटाइदिन आग्रह गरे । उनले प्रतिष्ठानका गतिविधिमा निरन्तर सहभागिता जनाउने विद्यालयको सहयोगप्रति आभारसहित विद्यालय केन्द्रित कार्यक्रम राख्ने क्रममा शनिवार अम्बिका मावि सुइँखेतमा नेतृत्व विकास कार्यशाला राखिएको जानकारी पनि दिए ।
लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनको सहकार्य र नौलो घुम्तीको प्राविधिक सहयोगमा सञ्चालित तालिममा ५३ विद्यार्थी भाइबहिनीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->