बागलुङ/४२ बर्ष अघि बागलुङमा नापी भयो । नापीको नक्सा पटक पटक प्रयोग गर्नुपर्छ । यतिका बर्षमा ती नक्साबाट सयौंपटक कित्ताकाट पनि भएका छन् । जुन जुन क्षेत्रको बढी प्रयोग भएका छन् ती क्षेत्रको नक्सा झुत्रा परेका छन् ।
झुत्रा नक्सामा जग्गाको कित्ता भेटिन छाडेको छ । बिशेषगरी यो समस्या बागलुङ बजार, गलकोटको हटिया, हरिचौर र जैमिनीको कुश्मीसेरामा बढी छ । पटक पटक प्रयोग गर्न झिक्ने र राख्ने, केर्ने गर्दा नापीका नक्साहरु बिग्रेका हुन् । पछिल्लो समय केही स्थानको डिजिटल नक्सा बनाउने क्रम चलेकाले सहज छ । तर बढी उपयोग भएका नक्सा झुुत्रा छन् । पछिल्लो समय बागलुङको गलकोट नगरपालिकामा यो समस्या बढी देखिएको नगर प्रमुख भरत शर्मा गैरेले बताए ।
नापी कार्यालय बागलुङका सूचना अधिकारी बालाराम खत्रीले यो समस्या स्विकारे । ४२ बर्ष पुराना नक्सा हेरेर खत्रीले पनि आँफै दंग परेको बताए । च्यातिएका र टेपले टालेका नक्साबाट आम नागरिकको कित्ताकाट गराउनुपर्ने बाध्यता भएको उनले सुनाए । ‘त्यतिमात्र हैन अधिकांसको जग्गाको कित्ता नम्बर समेत नभेटेपछि उपभोक्ता मारमा परेको उनले स्वीकारे ।
छिटफुट किनमेल हुने पालिका र वडाको नक्सामा समस्या खासै छैन भन्छन् खत्री । तर बजार क्षेत्रका नक्साबाट उनी हैरान छन् । २०३८ सालमा नापी भएपछिको एउटै कित्ताबाट १ सयबढी घडेरी बिक्री भएका स्थानमा नक्सानै नबुझीने भएको उनले बताए । यो समस्यापछि बजार क्षेत्रका अधिकांसको जग्गाधनी पूर्जा र नक्साको कित्ता नम्बर मिल्दैन ।
फिल्ड जाँदा लैजानेदेखि कार्यालय प्रयोजनमा प्रयोग गर्दा बजारक्षेत्रका अधिकांस नापी नक्सा झुत्रा भएका हुन् । कतिपय प्राविधिकले नक्साको हिफाजत समेत नगरेकोले यो समस्या आएको उनले बताए । ‘बाबुआमाबाट छोराछोरीले लिएको जग्गामा त मिलाउन सकिएला, किनमेल भैसकेकाहरुको हकमा यो जटिल समस्या भैसकेको छ’ खत्रीले भने, ‘भूगोलमा हेर्न जाँदा घर बनाएर बसेका व्यक्तिको कित्ता नम्बर समेत भेटिंदैन ।’ गलकोट नगरपालिकामा यो सबैभन्दा बढी समस्या छ ।
सदरमुकाम बागलुङ बजारमा पनि खोजेको स्थानमा कित्ता नभेटिने समस्या रहेको इन्जिनियर दिपेन्द्र भण्डारीले बताए । ‘कित्ता नभेटिएकोले कतिपय नक्सापास भएको छैन’ उनले भने, ‘व्यवहारिक रुपमा ठिक भएपनि प्राविधिक रुपमा कमजोरी भएका छन् ।’ परम्परागत र पुराना मेसिनले गरेको नापी अहिले नमिलेको उनले बताए ।
गलकोट वडा नं. ३, ५ र ६ मास यो समस्या सबैभन्दा बढी छ । जग्गाधनी पूर्जा र नापीको नक्सामा मिलान नहुँदा गलकोटबासीले नक्साबिनै घर बनाउन बाध्य भएको नगरप्रमुख भरत शर्मा गैरेले बताए । ‘उपभोक्ताले बर्षौदेखि उपभोग गरिरहेको जग्गामा घर बनाउन खोज्दा पनि कित्ता नम्बर भेटिएको छैन, त्यसैले अधिकांसले नक्सापास गर्न सकेका छैनन्’ नगरप्रमुख भरत शर्मा गैरेले भने, ‘यो सास्तीले नगरपालिकाले राजश्व संकलन पनि गर्न सकेको छैन ।’ गलकोटको तत्कालिन हरिचौर गाविसको नक्सा अहले बुझ्नै नसक्ने गरी बिग्रेको गैरेले बताए ।
नापीमा नभिडेकोले अधिकांसले नक्साबिनै घर बनाउँदा बैंकबाट ऋण नपाएको, खरिद बिक्रीमा समस्या भएको समेत भेटिएको गैरेले बताए । ‘नापी बिग्रेको छ, बनाइ दिनुप¥यो भनेर पटक पटक माग गरेको छु’ गैरेले भने, ‘अहिलेसम्म सुनुवाइ नभएपछि जनताले दुःख पाएका छन् ।’ नापी र पुर्जाको नक्सा नमिलेपछि नगरपालिकाले नक्सापास गर्न नसकेको हो । गलकोटमा अहिलेसम्म १८ वटा घरले मात्रै घर सम्पन्नको प्रमाणपत्र लिएका छन् । नक्सापासतर्फ प्रक्रियामा आएका ३५ घर छन् । नगरपालिकाले अहिलेसम्म २२३ घरको मात्रै अभिलेखीकरण गरेको छ ।
नयाँ नापीका लागि विभागीय सिफारिसमा मन्त्रीपरिषदको निर्णय चाहिन्छ । केही स्थानको डिजिटल नक्सा बनेकोले समस्या छैन । तर अधिकांस पुरानै नक्साको भरमा खरिदबिक्री हुँदा कित्ता नम्बर मात्र नभइ जग्गाको मोहडा समेत नमिलेको हो ।





