शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

जानकीको दुःखान्त

जानकीको दुःखान्त

१६ वर्षपछि श्रीमानलाई काठका बाकसमा देखिकी जानकी


  • हरिकृष्ण गौतम
  • बैशाख १९ २०८१, बुधबार

म्याग्दी/‘बाह्र वर्षपछि खोलो पनि उभो फर्किन्छ भन्थे तर म्याग्दीको बेनी नगरपालिका–६,डम्बराकी जानकी विकलाई कसैले बनाएको यही उखानले नै झुक्कायो । सुन्दर भविष्यको सपना बुनेर आर्थिक अवस्था अत्यन्तै कमजोर परिवार खर्च चलाउन, चार छोरीहरूको लालनपालनका लागि २०६१ फागुन ९ गते श्रीमान मैतकुमार विकलाई साउदी अरब उडाएर फर्किएकी जानकी श्रीमान परदेश गएपछि घरको अवस्था सुध्रिनेमा ढुक्क थिइन् । साउदीमा पुगेका श्रीमानको कमाइ पनि राम्रै थियो, घर खर्च चलिरहेको थियो । केही वर्ष घरखर्च चलाउँदै आएका मैतकुमारले साथीहरूलाई दिएको सापटी पैसा फिर्ता नभएपछि १६ बर्षसम्म साथीहरूलाई दिएको सापटी माग्दामाग्दै परदेशमै अस्ताए । उनको साउदी अरब गएपछिएकपटक पनि घर फर्कने सोच पलाएन् ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, जलथलेबाट बेनीमा बस्न थालेकी जानकीले १६ बर्षसम्म श्रीमानको पखाईमा विताइन् । केही वर्षपछि गाउँकासाथीहरु घर फर्किए । तर जानकीका श्रीमान फर्केनन् । श्रीमानको पखाईमा बसेकी जानकीले बि.स २०७७ साल मंसिरमा सुतिरहेको ठाउँमा असामयिक निधन भएको खबर पाइन् । १६ बर्षसम्म स्वदेश नफर्केका मैतकुमार चार महिनापछि फागुन २६ गते काठको बाकसमा फर्किए । श्रीमानको शव नेपाल पठाउन समेत जानकीले धेरैलाई अनुरोध गर्नुप¥यो । नेपाली दुताबासलाई हम्मेहम्मे पर्यो, सानो कम्पनीमा काम गर्ने र बिगत १६ बर्षदेखी जीवनबिमा, श्रम सम्झौता नभएकाले आवश्यक कानुनी सहयोग गरि आर्थिक जुटाएर घर पठाइयो । वैदेशिक रोजगारीमा पुगेका श्रीमानले धन कमाएर ल्याउँला र सुखसँग जीवन बिताउँला भन्ने जानकीको सपना थियो, त्यो भताभुङ्ग भयो । एक्कासी काठको बाकसमा शव आएपछि श्रीमान् घर आउने प्रतीक्षामा दिन गनेर बसेकी जानकीको जीवनकै भरोसा टुट्यो, सहारा गुम्यो ।
लाउँला–खाउँला भन्ने उमेरमा भएको श्रीमानको अकल्पनीय मृत्युको बज्रपातले जानकीलाई‘न दिनमा भोक न रातमा निद्रा’ को स्थितिमा पु¥याइदियो। दिनभर मजदूरी गरी चार छोरीहरूको विवाह गरेकी जानकी अहिले डम्बरामा एउटा टिनको छाप्रोमा बस्छिन् । सानो झुप्रोमा उनले अहिले छोरीज्वाँइले छोडेर अलपत्र पारेकी नातिनी सृष्टि विकसँग जीवन व्यतित गर्दै आएकी छन् । मंगला गाउँपालिका–१ कुहुँका ज्वाइँले अर्को विवाह गरेको केही बर्षपछि छोरीले समेत दोस्रो विवाह गरेपछि नातिनीको लालनपालन र पठनपाठनका लागि आफूसँगै राखेर सहारा दिइरहेकी छन् ।
आफ्नो भोक, प्यास, निन्द्रा, सबै बिर्सेर नातिनीको शिक्षादीक्षाका लागि पसिना बगाएकी छन् तर पनि जानकीले गरिबीबाट छुटकारा पाएकी छैनन् । ‘मैले पाएको दुःख शब्दमा वर्णन गर्न सक्दिन, आफ्ना दुःख सम्झिँदा पनि अझै सपनाजस्तै लाग्छ,’ जानकीले भनिन् । डम्बरामा श्रीमानले पठाएको पैसा संकलन गरी एउटा छाप्रो खरिद गर्ने पैसा दिए पनि अपुग भएको बताइन् । ‘उहाँको पखाईमा जवानी बित्यो, दुःख गर्दागर्दै बित्नुभयो, केही अपूरो सपना पूरा गर्न अहिले पनि मजदुरी गर्दछु,’जानकीले भनिन् । अहिले नातिनीको खुसीको लागि आफ्ना पीडा मनभित्रै गुम्साएर राखेकी छिन्। नातिनीको शिक्षादीक्षामा लाग्ने खर्च, घरको गर्जोटार्न दिनरात मिहिनेत गर्छिन्। बु्ढेशकालमा पनि दुःखले हाँगा हालेको अवस्थामा पेटभरी नखाई साहसका साथ जिन्दगी जिइरहेकी उनका अब दुईवटा लक्ष्य छन् । छोरीले अलपत्र छोडेकी नातिनीको शिक्षादीक्षा, र घडेरीका लागि अपुग डेढ लाख पैसा जुटाएर पास गर्ने ।
भोकभोकै रात बिताएँ
तीनवटा कोठा भएको टिनको छाप्रोमा रित्तो ग्याँसको सिलिण्डर, सानो चुल्हो छ । नजिकै रहेको म्याग्दी खोलाबाट चलेको सिरेटोले मुटु नै कमाउने गरी हावा,बर्खाको समयमा टिनको छानोले पानी ओत्दैन । चर्को घाममा टिन तातेर र हावाहुरी चल्दा भत्किएर अप्रिय दुर्घटना हुन सक्ने खतरा उत्तिकै छ । झट्ट सुन्दा र प्रत्यक्ष गएर हेर्दा यो सुत्ने कोठा जस्तो नै लाग्दैन । पेटभरी खाने अन्न छैन्,मागेर खानुपर्ने बाध्यतालाई लुकाउने कैयौँ रात भोकै सुत्नु परेको छ,’ जानकीले भनिन् । नातिनीलाई पेटभरी खान दिन नसकेको पीडाले रातभरी निन्द्रासमेत नलाग्ने उनले सुनाइन् । उनले धेरै रात एक छाक खाएर भोकै सुत्ने गरेको दर्दनाक कथा सुनाइन् । सुत्ने र खाना पकाउने कोठामा पुगेपछि जानकीले आँखाभरी आँसु निकाल्दै भनिन्, ‘जिवितै भए पनि नर्कमा छु जस्तै लाग्छ, तपाईँले यहाँ क्यामेराले के खिच्नुहुन्छ ?’ उनले दैनिक ज्याला मजदुरी गरी कमाएको पैसाले घर खर्च चलाउन मुस्किल हुने गरेको बताइन् । नातिीनको राम्रो शिक्षादिक्षा दिएर छोरीज्वाइँलाई देखाउने हुटहुटी भने मनमा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->